समय, सपना र प्रश्नहरू

समय, सपना र प्रश्नहरू

हामी समयलाई अविराम अर्थात् गतिशील मान्दछौँ । वास्तवमा समय गतिशील हुनुको अर्थ हो हाम्रो वस्तुगत परिवेश निरन्तर फेरिइरहनु । हिजोको परिवेश आज हुँदैन र आजको परिवेश भोलि रहँदैन । यो वस्तुगत सत्य हो, सार्वभौम सत्य हो । प्रकृति विज्ञानमा इलेक्ट्रोन र प्रोटोनबीचको निरन्तर सङ्घर्ष, विभिन्न तत्वहरूबीच अन्तरघुलन र त्यसले बेलाबेला पैदा गर्ने विघटन र सङ्घटनको अवस्था नै भौतिक विज्ञानमा परिवेश हो ।

सामाजिक विज्ञानका क्षेत्रमा परिवेश भन्नाले उत्पादनका साधनहरू (विशेषतः औजार) मा हुने निरन्तरको विकास र त्यसले उत्पादन सम्बन्धमा पार्ने प्रभाव हो । मानिस आदिम समयमा जुन अवस्थामा थियो त्यसका बारेमा वैज्ञानिकहरूले गरेको अनुसन्धान र त्यसले प्रमाणित गरेका तथ्यहरू आजको मानवका लागि अकल्पित लाग्छन् । जब मानिस आफैँले बनाएको चुच्चे ढुङ्गाको मद्दतले हातको भन्दा धेरै र सजिलै काम गर्न सक्ने भयो तब उसले आफूलाई जङ्गली अवस्थाबाट मुक्त गर्यो । एकपछि अर्को विकासका क्रममा मानिसले त्यो चुच्चे ढुङ्गोलाई निरन्तर परिष्कार गर्दै गयो । चुच्चे ढुङ्गाको परिष्करण क्रमशः हलो, ट्र्याक्टर, वाष्प इन्जिन र अन्य थुप्रै स्वचालित यन्त्रहरूमा विकसित हुँदै गयो । आजका अत्याधुनिक ‘फाइभ जी’ र ‘थ्रि डी’, ‘मिसाइल’ र ‘एन्टिमिसाइल’ हरू पनि त्यही चुच्चे ढुङ्गाकै नयाँ परिष्कारहरू हुन् ।

निकै रोमाञ्चक कुरा के छ भने आदिम मानवले पहिलोपटक आविष्कार गरेको औजार ‘चुच्चे ढुङ्गो’ प्रयोगको परिणाम नै अन्ततः आदिम समाजको विघटन भयो । त्यसको ठाउँमा त्यसभन्दा नितान्त नयाँ युग दास समाजको जन्म भयो । दास समाज पनि चिरस्थायी रहेन । त्यो सामन्ती समाजका रूपमा विकसित भयो । सामन्ती समाज विघटनको जगमा पुँजीवादी समाज र पुँजीवादी समाजलाई समेत विघटन गरेर समाजवादको जन्म हुन गयो । यसरी नयाँनयाँ सामाजिक युगहरू जन्मनु र पुराना सामाजिक युगहरू विलुप्त हुँदै जानुको रहस्य अरू केही पनि नभएर उत्पादनका साधनहरूको निरन्तर विकास र त्यसले उत्पादन सम्बन्धमा पार्ने निरन्तरको प्रभाव हो । उत्पादनका साधनहरूमा निरन्तर भैरहने विकासको गति जब एउटा उच्चतम् बिन्दुमा पुग्छ तब त्यसले नयाँ प्रकारको उत्पादन सम्बन्धको विकास गर्नु अनिवार्य हुन्छ । त्यतिबेला विकसित उत्पादन सम्बन्धले आफ्नो साथमा नयाँ वर्गको समेत जन्म लिएर आएको हुन्छ । अब यो बिन्दुमा आएर नयाँ वर्ग र पुरानो उत्पादन सम्बन्धका बीच असन्तुलन पैदा हुन्छ तब पुरानो उत्पादन सम्बन्धलाई संरक्षण गरिरहेको वर्ग र नयाँ वर्गका बीच लडाइँ आरम्भ हुन्छ । त्यो वर्गसङ्घर्षको अनिवार्य परिणाम के हुन्छ भने पुरानो वर्ग पराजित मात्र नभएर पुरानो उत्पादन सम्बन्धको समेत अन्त्य हुन्छ र नयाँ उत्पादन सम्बन्धका साथ नयाँ वर्ग विजयी हुने गर्दछ । नयाँनयाँ समाज व्यवस्थाहरूको जन्म यसरी नै हुदै आएको छ । यो नै सामाजिक क्रान्तिको आधारभूत नियम हो ।

अब हामी सहज अनुमान गर्न सक्छौँ, आगामी केही सय वा हजार वर्षपछिको समाज आजको भन्दा नितान्तै नयाँ, आजको कल्पनाभन्दा कैयौँ गुणा फरक हुनेछ । यो कुरा निश्चित हो आज अत्यन्तै चामत्कारिक मानिएका थ्रि डप् र फाइभ जी सेवा पनि त्यो बेला हाते तान र चर्खाको स्थानमा थान्को लाग्नेछन् ।

प्रत्येक नयाँ युगको जन्म पुराना प्रश्नहरूको जबाफ र नयाँ प्रश्नहरूको आरम्भ बिन्दु हो । समय तब मात्र फेरिएको ठहर्छ जब नयाँ प्रश्नहरूले वास्तवमै पुरानोको स्थान लिन पुग्छन् । भित्तामा झुन्डिएको पात्रोको पाना फेरिनुले मात्रै समय फेरिएको मानिँदैन । यसर्थ हरेक नयाँ समय (युग) ले आफूसँगै नयाँ–नयाँ प्रश्नहरूको जन्म दिनु अनिवार्य हुन्छ । तिनै प्रश्नहरूको जबाफ दिने प्रतिबद्ध, दृढ इच्छाशक्ति र समर्पणलाई हामी सपनाका रूपमा स्वीकार गर्दछौँ ।

नेपाली राजनीतिको विडम्बना के भयो भने पटकपटकका आन्दोलन र सङ्घर्षपछि पनि न हाम्रो सपना फेरियो, न त प्रश्नहरू नै फेरिए । जहाँ प्रश्न र सपना जस्ताका तस्तै रहिरहन्छन् त्यहाँ समय फेरिने झन् कुरै भएन । आज पनि आमनेपाली जनताले एक छाक गतिलो खाना र एक टालो गतिलो लाउन पाएका छैनन् । शिक्षा र स्वास्थ्यको राम्रो प्रबन्ध छैन । देशमा रोजगारीको पर्याप्त अवसर छैन । यिनै सामान्य सपनाहरू साँचेर जिन्दगीको तार रेटिरहेका छन् नेपाली जनता । जुन देशका जनता एक दशक होइन, दुई दशक होइन, शताब्दिऔँ एउटै सपना र प्रश्नले थिचिएका हुन्छन्, त्यो देशको प्रगति नै के हुन्छ र ? ‘जुन जोगी आए पनि कानै चिरिएका’– यो त्यत्तिकै संश्लेषण भएको निष्कर्ष होईन । दशकौँदशकको समय र पुस्तौँपुस्ताको भोगाइको निचोड हो यो । बूढाहरूको ठाउँमा तन्नेरी (?), काङ्ग्रेसका ठाउँमा एमाले वा माओवादी, राजतन्त्रको ठाउँमा गणतन्त्र यो परिवर्तनको सामान्य पक्ष हो । हुनुपर्ने मूल परिवर्तन भनेको शिक्षा, स्वास्थ्य, आवास, र रोजगारीको सुनिश्चितता हो ।

समाज विज्ञानको एउटा विशिष्ट नियम के रहेको छ भने इतिहासको निर्माणप्रक्रियामा एउटा त्यस्तो समय पनि आइपुग्छ जतिबेला एउटा निश्चित पुस्ता र त्यो पुस्ताभित्रका पनि निश्चित व्यक्तिहरूले इतिहासको लगाम कस्छन् र समयको घोडादौड सुरु हुन्छ । ती व्यक्तिहरू नै आम जनताको सपनाका संवाहक बन्दछन् ।

आजको नेपाली समाज निकै पुराना प्रश्नहरूको थिचाइमा चेपिएको छ । एउटा किसानले आज पनि यही सोचिरहेको छ– ‘मैले जसरी पनि धेरै अनाज फलाउनुपर्छ र बालबच्चाको शिक्षा–स्वास्थ्य किन्नुपर्छ ।’ एउटा मजदुरले सोच्दछ– ‘मैले दिनमा १८ घन्टा काम गरेर भए पनि बालबच्चाको शिक्षा–स्वास्थ्य किन्नुपर्छ र सम्भव भए एउटा सानो घर बनाउनुपर्छ ।’ एउटा निम्न वैतनिक कर्मचारी वा एउटा सानो पसले व्यापारीले पनि यही सोच्दछ । यसरी जीवन गुजारा गर्ने जनता नै नेपाली समाजको सबभन्दा ठूलो हिस्सा रहेको छ । उनीहरूको सपना नै आजको प्रतिनिधि प्रश्न हो ।

नेपाली इतिहासमा अब एउटा त्यस्तो समयको आरम्भ आवश्यक छ जसले आमजनताका दशकौँ पुराना सपनाहरू पूरा हुने मात्र होइन, नयाँ सपनाहरूको गर्भधारण होओस् । दशकौँ अनुत्तरीत प्रश्नहरूको जबाफ मात्र होइन, नयाँ युगीन प्रश्नहरूको आरम्भ होओस् । यो कुरा जति सम्भव छ त्योभन्दा ज्यादा आवश्यक छ । किनकि आजको युगमा जुन प्रकारको उत्पादनका साधनहरू विकसित भइरहेका छन्, त्यसले पुरानो उत्पादन सम्बन्धलाई खोक्रो बनाउदै लिईरहेको छ । पुरानो उत्पादन सम्बन्धले उत्पादनका साधनहरूको परिणाम थिचेर राख्ने कोसिस गर्नु पुरानो वर्गले आफ्नो आसनमा झन् ठुलो ज्वालामुखी सञ्चित गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :