एमसीसीविरुद्ध आज १ बजे काठमाडौँमा विशाल जनसभा

नेकपाका महासचिव विप्लवले गर्नेछन् मूल जुलुसको नेतृत्व

एमसीसीविरुद्ध आज १ बजे काठमाडौँमा विशाल जनसभा

काठमाडौँ : सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने षड्यन्त्र गरेपछि नेपाल कम्युनिस्ट पार्टीले त्यसका विरुद्ध आज दिउँसो १ बजे काठमाडौँको खुलामञ्च (सहिद मञ्च) मा आमसभा गर्दैछ । विरोधसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपाले जनाएको छ । सभामा नेकपाका महासचिव विप्लवका साथै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (माले) का महासचिव सीपी मैनालीलगायत विभिन्न पार्टीका नेताहरूले सम्बोधन गर्ने भएका छन् । काठमाडौँका तीन ठाउँबाट ११ बजे निस्किने जुलुस खुलामञ्चको सभास्थलमा प्रवेश गर्ने बताइएको छ ।

लैनचौर क्षेत्रबाट निस्कने जुलुसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गर्नेछन् भने त्यस क्षेत्रमा नेकपाका नुवाकोट, रसुवा, काठमाडौँलगायत जिल्ला समितिहरू र विभिन्न जनवर्गीय सङ्गठन तथा मोर्चाको सहभागिता हुनेछ । यस्तै त्रिपुरेश्वरतिरबाट निस्कने जुलुसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले गर्नेछन् । त्यस क्षेत्रबाट निस्कने जुलुुसमा चितवन, धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाबाट आउनेहरू सहभागी हुनेछन् । त्यसैगरी बबरमहलतिरबाट निस्कने जुलुसको नेतृत्व अर्का सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले गर्नेछन् । त्यसमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरलगायत जिल्लाबाट आउने सहभागी हुनेछन् ।

खुलामञ्चमा हुने सभाका लागि लैनचौर, त्रिपुरेश्वर र बबरमहलतिरबाट जुलुस निस्केपछि उक्त जुलुस सुन्धारा हुँदै खुलामञ्चतर्फ अघि बढ्नेछ । सुन्धारामा बन्ने मूल जुलुसको नेतृत्व नेकपाका महासचवि विप्लवले गर्नेछन् ।

नाराहरू

MCC– खारेज गर ।
अमेरिकी हस्तक्षेप– बन्द गर ।
सम्पूर्ण कम्युनिस्ट, देशभक्त लोकतन्त्रवादी र प्रगतिशील शक्तिहरू– एक होऔँ ।
राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ ।
एकीकृत जनक्रान्ति– जिन्दावाद ।
वैज्ञानिक समाजवाद– जिन्दावाद ।
बन्दी साथीहरू– रिहा गर ।
तीनबुँदे सहमति– कार्यान्वयन गर ।
वीर सहिद– लालसलाम ।
दलाल पुँजीवादको अन्त्य गरौँ– वैज्ञानिक समाजवाद स्थापना गरौँ ।
नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :