नेकपाद्वारा गाईघाट र गढीमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन

नेकपाद्वारा गाईघाट र गढीमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार भदौ २५ गते शुक्रबार एमसीसी सम्झौताको विरुद्धमा त्रियुगा नगरपालिका गाईघाट पिपल चोकमा र उदयपुरको पुरानो सदरमुकाम उदयपुर गढीमा बिरोध प्रदर्शन भएको छ ।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी त्रियुगा नगरपालिका सेक्रेटरी देहज बिष्टले देउवा सरकारको गृह प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध जनतालाई आतङ्कित पार्ने गरि जारी गरिएको विज्ञप्तिदेखि आफूहरू नडराउने बताए । उनले एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिवेश बनाउन खोजेको भन्दै देश बेच्ने दलालहरूले दिने आदेशका विरुद्ध सुरक्षा निकाएका सेना, प्रहरीले पनि बिद्रोह गर्नुपर्ने बेला आएको बताए । बिष्टले रास्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सांसदलाई गाउँ–गाउँबाट कालोमोसो दलेर कारवाही गर्ने चेतावनी दिए । उनले ५५ अर्बमा देश बेच्ने दलालहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्छ, संसदीय व्यवस्था पूर्ण रुपले असफल भएको भन्दै विकल्पमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको बताए ।

यस्तै उदयपुरको गाउँपालिका इन्चार्ज जितबहादुर पुलामीले जनतालाई आतङ्कित पार्दै एमसीसी पास गर्न खोजे जस्तोसुकै कदम चाल्न बाध्य हुने बताए । उनले उनीहरूले मातृभूमिमाथि अमेरिकी साम्राज्यवादको आतङ्कको विरुद्ध आफूहरू जेल, हिरासत मात्रै नभई आवश्यक परे बलिदान गर्न पनि पछि नहट्ने बताए । उनले भने, ‘संसदीय सरकार विघटन गरेर प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ ।’

गाईघाटमा सञ्चालक निसान कटुवालले गरेका थिए भने उदयपुर गढीमा ढकबहादुर राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :