समाजवादी शिक्षामा प्राविधिक शिक्षाको महत्व

समाजवादी शिक्षामा प्राविधिक शिक्षाको महत्व

शिक्षा मानव जातिले हजारौँ वर्षको व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषण गरेको ज्ञान हो । शिक्षाले समाज र राज्यलाई बदल्न सहयोग पुर्याउँछ । वर्गविभाजित समाजमा शिक्षा पनि वर्गीय नै हुन्छ । वर्गीय दृष्टिकोणअनुसार दुनियाँमा अहिले पुँजीवादी शिक्षाप्रणाली र समाजवादी शिक्षाप्रणालीको बहस हुने गरेको छ । यो आलेखमा समाजवादी शिक्षा प्रणालीअन्तर्गत शिक्षाका दुई शाखा : साधारण शिक्षा र प्राविधिक शिक्षामध्ये प्राविधिक शिक्षा केन्द्रित रहेर विमर्श गर्ने प्रयत्न गरिनेछ ।

विषय प्रवेश

आलेखको उद्देश्य समाजवादी शिक्षाप्रणालीअन्तर्गत प्राविधिक शिक्षाका बारेमा चर्चा गर्नु भए पनि विद्यमान दलाल पुँजीवादी शिक्षाप्रणालीका मूलभूत खराबी/समस्याहरूलाई छोटकरीमा उजागर गर्दा समाजवादी शिक्षाअन्तर्गत प्राविधिक शिक्षाको थप महत्व र आवश्यकताबोध हुनेछ ।
नेपालमा सञ्चालित विद्यमान व्यावसायिक तथा प्राविधिक शिक्षा

आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय सीपयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्ने, बेरोजगारीको समस्या कम गर्ने, देशको विकास र समृद्धिमा सहयोग गर्नेलगायत उद्देश्य राखेर नेपालमा प्राविधिक शिक्षा सञ्चालन गरिएको पाइन्छ । रोजगारीको अवसर प्राप्तिका हिसाबले साधारण शिक्षाको तुलनामा प्राविधिक शिक्षा बढी प्रभावकारी देखिएको भए पनि नेपालको प्रविधिक शिक्षा विभिन्न समस्याहरूबाट ग्रसित छ । मूल शिक्षाप्रणाली नै दलाल पुँजीवादी हुनुले त्यसअन्तर्गतको प्राविधिक शिक्षाले मुठीभर दलाल पुँजीपति वर्गको सेवा गर्दछ । दलाल पुँजीपति वर्गद्वारा निर्देशित, नियन्त्रित र सञ्चालित प्राविधिक शिक्षाले श्रमजीवी वर्गको हित गर्ने उद्देश्य राख्दैन, बरु दलाल पुँजीपति वर्गको सेवा गर्ने र उनीहरूका लागि आवश्यक सीपयुक्त बफादार कामदार, सेवक उत्पादन गर्ने साधन बन्छ ।

नेपालको प्राविधिक शिक्षामा आमजनताको पहुँच छैन । शिक्षालाई व्यापार गरेर अकुत नाफा कमाउने वस्तुका रूपमा दुरुपयोग गरिएको छ । दलाल पुँजीपति वर्गले शिक्षा किन्न बाध्य बनाएर श्रमजीवीलाई लुटिरहेको छ र उत्पादित जनशक्तिको श्रम शोषण गरेर पुनः लुटिरहेको छ । समयसापेक्ष पाठ्यक्रम नहुनु, रचनात्मक शिक्षण विधि, वैज्ञानिक परीक्षाप्रणाली, मूल्याङ्कनप्रणाली नहुनुलगायत समस्या पनि नेपालको प्राविधिक शिक्षाका समस्या हुन् । प्राविधिक शिक्षाको सञ्चालन देशको आवश्यकतामा भन्दा पनि बजारमा आधारित व्यापारीको चाहनामा सञ्चालित छ । उत्पादित जनशक्तिको खपत हेर्दा नेपालको प्राविधिक शिक्षा विदेशीहरूको कामदार उत्पादन गर्नमा सीमितजस्तो प्रतीत हुन्छ । नेपालको प्राविधिक शिक्षाले कुनै एउटा सीप सिकाउनमा सीमित गराएर कसैको कामदार बन्न र अरूबाट शासित हुन प्रेरित गर्दछ । प्रकृति विज्ञान र समाज विज्ञानको ज्ञान सिकाएर स्वाधीन, स्वाभिमानी, स्वतन्त्र नागरिक र सिर्जनशील उद्यमी बन्न प्रेरित गर्दैन । प्राविधिक शिक्षालाई प्रत्यक्ष रूपमा श्रम, उत्पादन र राष्ट्रको विकास निर्माणसँग जोड्न नसक्नु नेपालको प्राविधिक शिक्षा अझ भनौँ पुजीवादी शिक्षाप्रणालीकै प्रमुख दोष हो ।

समाजवादी शिक्षाप्रणालीमा व्यावसायिक तथा प्राविधिक शिक्षा

मानव–मानवमा हुने विभेद, उत्पीडन, शोषणको अन्त्य गरिएको, सबै नागरिकहरूलाई बस्न, खान, लगाउन, शिक्षा, स्वास्थ्य रोजगारीको अधिकार सुनिश्चित भएको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था हो । सीप, श्रम र उत्पादनसँग जोडिएको जीवनउपयोगी, वैज्ञानिक, निःशुल्क र समान शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थाअन्तर्गतको समाजवादी शिक्षा हो जसले नागरिकलाई सही शिक्षा, चेतना र ज्ञान दिन्छ, जनताको जीवनलाई सुख र उन्नतितिर डोर्याउँछ र जनतालाई शोषणरहित मुक्त, समान, नयाँ वैज्ञानिक भविष्यतर्फ अग्रसर गराउँछ । समाजवादी शिक्षामा प्राविधिक शिक्षाको प्रधान महत्व हुन्छ । समाजवादी शिक्षाले पुँजीवादी शिक्षामा भएका तमाम खराबी र समस्याहरूको समाधान दिन्छ । अब समाजवादी शिक्षाप्रणालीअन्तर्गत सञ्चालन हुने प्राविधिक शिक्षाका विशेषता, संरचना, पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन विधिका विषयमा सङ्क्षिप्त्तमा चर्चा गरौँ ।

विशेषता

१) बहुप्राविधिक शिक्षा

कार्ल मार्क्स र क्रुप्स्कायाले प्राविधिक शिक्षाका पक्षमा धेरै वकालत गर्नुभएको छ । समाजवादी शिक्षाप्रणालीमा बहुप्राविधिक शिक्षा लागू गरिन्छ । बहुप्राविधिक शिक्षा सामान्य श्रमदक्षताहरू सिकाउन मात्र सीमित हुँदैन, श्रम प्रक्रिया, उत्पादन सम्बन्ध र सामाजिक महत्व पनि बुझाउँछ । कुनै मेसिन चिन्ने र चलाउन सक्ने मात्र होइन, मेसिन बनाउन सक्ने दक्षता पनि सिकाउँछ । प्रकृति विज्ञान, समाज विज्ञान, भौतिक शास्त्र, रसायन शास्त्र, अर्थशास्त्रलगायत आधारभूत ज्ञान सिकाएर विद्यार्थीको चौतर्फी क्षमता विकास गर्न सहयोग गर्दछ. जसले कामदार, सेवक र पराधीनताको मनोविज्ञानबाट उठाएर सिर्जनशील, स्वतन्त्र र स्वाधीन नागरिक बन्न प्रेरित गर्दछ । सामूहिक श्रम गर्न र र श्रमप्रति सम्मान गर्न सिकाउँछ । भूतप्रेत, ईश्वर, पूर्वजन्म, पुनर्जन्म, भाग्यजस्ता कल्पनावादी भ्रमहरूबाट मुक्त गराएर भौतिक विज्ञान र समाज विज्ञानको ज्ञानले प्रशिक्षित गरी वैज्ञानिक चेतनाको विकास गराउँछ ।

२) प्रत्यक्ष श्रम र उत्पादनसँग जोडिन्छ

मार्क्सले श्रमसँग नजोडिएको शिक्षालाई बेकम्मा भन्नुभयो । शिक्षालाई श्रमसँग जोड्ने विषयमा लेनिन भन्नुहुन्छ, ‘पुँजीवादी शिक्षाको आधारभूत कमजोरी भनेकै शिक्षालाई श्रमबाट अलग गराउनु हो ।’ माओको विचारमा स्कुल, कम्पनी र किसानका फार्महरू सँगै सञ्चालन गर्नुपर्छ । समाजवादी शिक्षाप्रणालीमा प्राविधिक शिक्षाको सीप सिकाएको प्रमाणपत्र मात्र दिइँदैन, शिक्षालाई प्रत्यक्ष श्रमसँग जोडिन्छ, उत्पादनसँग जोडिन्छ जसले देशको अर्थतन्त्र र विकास निर्माणमा योगदान गर्दछ । प्राविधिक शिक्षाको अभ्यास परीक्षा केन्द्रित भएर कुनै निश्चित स्थान र समयमा औपचारिकताका लागि मात्र गराइँदैन, बरु विद्यार्थीलाई शिक्षा र श्रम सँगसँगै गराइन्छ । विद्यार्थीलाई स्याउ फलाउने विधि किताबमा घोकाएर होइन, स्याउ फलाउन लगाएर सिकाइन्छ । शिक्षालय र उद्योगलाई एकाकार गरिन्छ ।

३) आमजनताको समान पहुँच

शिक्षा व्यक्तिगत वस्तु होइन, सामूहिक व्यबहार, प्रयोग र अनुसन्धानबाट संश्लेषित ज्ञान हो तसर्थ शिक्षा विलासिताको वस्तु होइन, जनताको नैसर्गिक अधिकार हो । समाजवादी शिक्षाप्रणालीमा सम्पूर्ण शिक्षाको दायित्व राज्यको हुन्छ । हरेक नागरिकलाई सम्पूर्ण शिक्षा प्राप्तिको समान अवसर प्रदान गरिन्छ । अलि धेरै पैसा हुनेले प्राविधिक शिक्षा पढ्न पाउने र कम पैसा हुनेले साधरण शिक्षा पढ्नुपर्ने विभेदकारी प्रणाली खारेज गरिन्छ । समाजवादी शिक्षाप्रणालीमा शिक्षा किनबेच गर्ने र अकुत नाफा कमाउने वस्तु बनाउन निषेध गरिन्छ र शिक्षा जनताको आधारभूत आवश्यकताका रूपमा हरेक जनताले प्राप्त गर्ने सुनिश्चित गरिन्छ । सबै नागरिकले अध्ययन गर्ने शिक्षालय एकै स्तरको हुन्छ । हरेक नागरिकलाई शिक्षा प्राप्तिको समान अवसर सुनिश्चित गरिन्छ ।

४) श्रमजीवी जनताको पक्षपाती हुन्छ

वर्गविभाजित समाजमा शिक्षा पनि वर्गीय नै हुन्छ । पुँजीवादी शिक्षाप्रणालीले मुठीभर पुँजीपति वर्गको सेवा गरिरहेको छ र श्रमिक जनतालाई आलोचनात्मक चेतनाविहीन इमानदार नोकर बनाउन प्रयोग गरिरहेको छ । समाजवादी शिक्षाप्रणालीले बहुसङ्ख्यक श्रमजीवी जनताको हित गर्ने उद्देश्य राख्छ । श्रमजीवी जनतामा आलोचनात्मक चेतको विकास गराउँछ, जीवन र जगत्को वैज्ञानिक ज्ञान प्रदान गर्दछ । भाग्यवादमा आधारित आध्यात्मवादी शिक्षाको षड्यन्त्र बुझाउँछ । श्रमजीवी जनतालाई आफ्नो अधिकारका बारेमा सचेत गराउँछ र अधिकारका निम्ति सङ्घर्ष गर्ने विचारको हतियार प्रदान गर्दछ । नागरिकहरूको व्यक्तित्व र भ्रातृत्ब विकास गराउँछ। नागरिकलाई स्वतन्त्र, सिर्जनशील, स्वाधीन बन्न प्रेरित गर्दछ । नागरिकलाई कसैको नोकर होइन, आफ्नो श्रमका बारेमा स्वयम् आफैँ निर्णय गर्नसक्ने स्वतन्त्र श्रमजीवी बन्न सिकाउँछ ।

५) राष्ट्र र जनताको आवश्यकतामा आधारित सामाजिक चरित्रको शिक्षा

बजारमा कस्ता कामदार आवश्यक छ, पुँजीपतिहरूलाई कस्ता कामदार चाहिएको छ, कस्तो शिक्षा बजारमा बेच्दा नाफा हुन्छ भन्ने आधारमा पुँजीवादी शिक्षाप्रणालीमा जस्तो समाजवादी शिक्षाप्रणालीमा प्राविधिक शिक्षा निर्धारित हुँदैन । अन्तर्राष्ट्रिय स्तरको बनाउने नाममा विदेशी शिक्षाको हुबहु नक्कल गरिँदैन । समाजवादी शिक्षामा प्राविधिक शिक्षा देश र जनताको आवश्यकतामा आधारित मौलिक र समाजसापेक्ष हुन्छ जहाँ समाजसापेक्षको अर्थ समाजको संस्कृति, स्रोतसाधनको उपलब्धता, सामाजिक मनोविज्ञान र आवश्यकता हुन्छ । जुन शिक्षाले राष्ट्रिय आवश्यकताका नाममा निरपेक्ष नीति पनि थोपर्दैन बरु राष्ट्रिय समृद्धिमा सहयोग गर्ने गरी स्थानीय सम्भावनाहरूलाई उपयोग गर्ने गरी सामाजिक मौलिकतामा आधारित शिक्षा लागू गरिन्छ ।

६) वैज्ञानिक चेतनाको विकास

विद्यार्थीलाई वैज्ञानिक चेतना दिनु समाजवादी शिक्षाको आधारभूत विशेषता हो । १८ घन्टासम्म परिश्रम गर्ने श्रमिक गरिब हुनुको कारण पूर्वजन्मको पापको फल वा खराब भाग्य होइन, श्रमजीवीको गरिबी त पुँजीपतिहरूले गरेको शोषणको उपज हो । मानव समाजमा लादिएका विभेद, उत्पीडन र असमानताको उपज हो जसका विरुद्ध सङ्घर्ष गर्नु हरेक उत्पीडित र श्रमजीवीको अधिकार हो भन्ने वैज्ञानिक चेतना समाजवादी शिक्षाले दिन्छ । समाजवादी शिक्षाले काल्पनिक, ईश्वरीय, अध्यात्मवादी, भाग्यवादी र अवैज्ञानिक चेतनाबाट मुक्त गराएर घटना र तथ्यहरूका आधारमा विज्ञानद्वारा प्रमाणित शिक्षा प्रदान गर्दछ ।

संरचना

संरचनात्मक हिसाबले समाजवादी शिक्षाप्रणालीलाई सामान्यतः विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा गरी दुई तहमा वर्गीकरण गर्न सकिन्छ । विद्यालय तहको शिक्षाअन्तर्गत पढ्न, लेख्नसक्ने, बुझ्नसक्ने र सामान्य अर्थ लगाउनसक्ने आधारभूत शिक्षा प्राप्त गरिसकेपछि विद्यार्थीलाई विद्यार्थीको चाहना, इच्छा, देश र समाजको आवश्यकताअनुरूप सीपयुक्त व्यावसायिक तथा प्राविधिक शिक्षा दिनुपर्छ जुन शिक्षा सबैका लागि समान र अनिवार्य हुन्छ । प्रत्यक्ष श्रम र उत्पादनसँग जोडिएको हुन्छ । विद्यार्थीले विद्यालय तहको शिक्षा पूरा गर्दा कुनै न कुनै सीप जानेको र श्रम र उत्पादनमा सहभागी भएको नैतिकवान् नागरिक निर्माण गर्दछ ।

उच्च तहको शिक्षामा प्राविधिक शिक्षा अनुसन्धानात्मक र आविष्कारमूलक हुन्छ । सबैलाई शिक्षाको समान अवसर प्रदान गरिन्छ तर अध्ययन भने ऐेच्छिक हुन्छ । प्राविधिक शिक्षालाई प्रत्यक्ष राष्ट्रको विकास निर्माणसँग जोडिन्छ । प्रत्यक्ष श्रम र उत्पादनसँग शिक्षालाई जोड्दै निश्चित विषयमा खास विशेषज्ञताको प्राप्तिसँगै नागरिकको चौतर्फी विकासमा जोड दिइन्छ । समाजवादी शिक्षाप्रणालीमा उच्च तहको प्राविधिक शिक्षा विशिष्ट पदको जागिर खान नभएर नयाँनयाँ आविष्कार गर्न र देशको विकास निर्माणसँग प्रत्यक्ष जोड्न लागू गरिन्छ ।

शिक्षण विधि

समाजवादी शिक्षाप्रणालीको सबै शिक्षामा विद्यार्थीको इच्छा र आवश्यकतामा आधारित स्वतन्त्र शिक्षणविधि अवलम्बन गरिन्छ । मार्क्सको भाषामा श्रम गरेर सिक्ने विधि, माओको भाषामा जनताबाट सिक्ने, किसानको फार्म र कारखानामा गएर सिक्ने विधि अपनाइन्छ । प्राविधिक शिक्षालाई किताबी ज्ञान र एउटा कक्षा कोठाको ल्याबमा सीमित गरिँदैन । उद्योग, कृषि फार्महरू, व्यवसायहरू नै सिक्ने शिक्षालय बन्दछन् । विद्यार्थीले अनुभव, प्रयोग, अन्तरक्रिया र अनुसन्धानबाट सिक्ने विधि लागू गरिन्छ । विद्यार्थीलाई निष्क्रिय स्रोता बनाउने विधि खारेज गरेर शिक्षकले सहजीकरण गर्ने र विद्यार्थी आफ्नै सक्रियतामा सिक्ने स्वतन्त्र शिक्षण विधि लागू गरिन्छ ।

मूल्याङ्कन विधि

समाजवादी शिक्षाप्रणालीमा प्राविधिकलगायत सम्पूर्ण शिक्षामा रचनात्मक र निरन्तर मूल्याङ्कनप्रणाली अवलम्बन गरिन्छ । मूल्याङ्कन विद्यार्थीलाई असफल गराउन, असफलताको डर उत्पन्न गरेर तर्साउन, कसैलाई कमसल, कसैलाई असल भनी छुट्ट्याएर विभेद गर्न नभएर विद्यार्थीको रचनात्मक क्षमता र व्यक्तित्व विकास गर्नका लागि हुनुपर्छ भन्ने मान्यता राखिन्छ । समाजवादी शिक्षाको मूल्याङ्कनप्रणाली शिक्षक नियन्त्रित हुँदैन । श्रममा सहभागिता र उत्पादन कार्यका आधारमा मूल्याङ्कन गरिन्छ जहाँ मूल्याङ्कनकर्ता शिक्षक मात्र होइन, सहपाठी, अभिभावक, समाज र स्वयम् विद्यार्थीलाई पनि मूल्याङ्कनकर्ता मानिन्छ । मूल्याङ्कन विधिले एकअर्कामा प्रतिस्पर्धाको भावना विकास गरेर व्यक्तिलाई आफूकेन्द्रित स्वार्थी बनाएर भ्रातृत्व कम गराउँदैन बरु सहकार्य र सहयोगमा जोड दिई परिपूरक बन्न र सामूहिकीकरणलाई प्रोत्साहन गर्दछ । विद्यार्थीलाई रचनात्मक, सिर्जनशील र स्वाधीन बन्न मद्दत गर्दछ । परीक्षा र मूल्याङ्कन निश्चित समयमा सङ्कुचित गरिँदैन सम्भावना र आवश्यकताका आधारमा लचिलो परीक्षा र मूल्याङ्कनप्रणाली लागू गरिन्छ । समाजवादी शिक्षाको मूल्याङ्कनप्रणालीले परिणाममा मात्र होइन, कारण र असरलाई समेत ध्यान दिन्छ ।

निष्कर्ष

मानवजातिले अहिलेसम्म प्राप्त ज्ञान र अनुभवका आधारमा आजको शताब्दीसम्मको उत्कृष्ट शिक्षाप्रणाली समाजवादी शिक्षाप्रणाली हो । समाजवादी शिक्षाप्रणालीमा प्राविधिक शिक्षाको प्रमुख स्थान रहन्छ । समाजवादी शिक्षाप्रणालीमा प्राविधिक शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादन र आविष्कारसँग अनिवार्य रूपमा जोड्छ । शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्दछ । सबैलाई समान शिक्षाको अवसर प्रदान गरिन्छ । राज्यसत्ताको मूल चरित्रअनुरूपको शिक्षाप्रणाली हुने हुदा अहिलेको दलाल पुँजीवादी सत्तामा समाजवादी शिक्षाप्रणाली लागू गर्न सकिँदैन । अहिले यही व्यवस्थामा गरिने शैक्षिक सङ्घर्षले शिक्षामा आमूल रूपान्तरण गर्न सक्दैन, वर्तमान शिक्षामा आंशिक सुधार मात्र गर्न सक्छ । समाजवादी शिक्षाले आफ्नो अधिकारप्रति सचेत, कर्तव्यप्रति जिम्मेवार र अन्यायका विरुद्ध प्रतिरोध गर्नसक्ने नागरिक उत्पादन गर्ने भएकाले आज्ञाकारी, प्रश्न र विरोध नगर्ने इमानदार नोकर उत्पादन गर्न चाहने पुँजीवादी प्रणालीले समाजवादी शिक्षालाई लागू नगर्ने मात्र होइन, निषेध गर्दछन् । तसर्थ समाजवादी शिक्षा लागू गर्न समाजवादी व्यवस्थाको अनिवार्यताका विषयमा भने हामी सबै स्पष्ट हुन आवश्यक छ ।

(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा सीटीईभीटी क्षेत्रीय समन्वय समितिका संयोजक हुन् ।)

प्रतिक्रिया दिनुहोस्