एमसीसी सम्झौता खारेजको माग गर्दै २२ दलीय मोर्चाद्वारा बुटवलमा सभा

एमसीसी सम्झौता खारेजको माग गर्दै २२ दलीय मोर्चाद्वारा बुटवलमा सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय संयुक्त सङ्घर्ष समितिद्वारा बुटवलमा एमसीसी सम्झौता परियोजना खारेज गर्नुपर्ने माग गर्दै कालो झण्डासहित विरोध सभा सम्पन्न भएको छ ।

बुटवलको देवीनगरमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेकपाका नेता विरेन्द्र विकले सरकारले जनभावना र राष्ट्रहित विपरीत रहेको अमेरिकी परियोजना (एमसीसी) सम्झौता संसदबाट पारित गर्न जोडबलमा लागिपरेको बताए । विकले राष्ट्रघाती एमसीसीका विरुद्ध देशव्यापी कडा सङ्घर्षको आवश्यक रहेको बताए । उनले आफ्नो पार्टीले एमसीसीविरुद्ध अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गरिरहेको बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का भुपेन्द्र न्यौपाने, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका पदम कार्की, राष्ट्रिय जागरण परिषद्, नेपालका चित्रबहादुर थापा, राष्ट्रिय जनमोर्चाका टानबहादुर खत्रीले बोलेका थिए ।

कार्यक्रममा एमसीसीविरुद्ध सम्पूर्ण देशभक्तहरू एक होऔँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी संसदबाट पारित गर्ने षड्यन्त्र बन्द गर, असंलग्न परराष्ट्र नीतिको पालना गर, आइपीएसदेखि सावधान, संयुक्त सङ्घर्ष समिति जिन्दावाद, एमसीसी पास गर्न पाँइदैन लगायतका नाराहरू लगाइएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता राजु भुजेलको सञ्चालनमा उक्त विरोध सभा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :