एमसीसी सम्झौताविरूद्ध २२ दलीय मोर्चाद्वारा नवलपुरमा प्रदर्शन

एमसीसी सम्झौताविरूद्ध २२ दलीय मोर्चाद्वारा नवलपुरमा प्रदर्शन

कावासोती : नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाद्वारा नवलपुरको सदरमुकाम कावासोतीमा एमसीसी सम्झौताको बिरुद्धमा बिरोध प्रदर्शन गरेको छ । एमसीसीको बिरुद्धमा चर्को नाराबाजीसहित कावासोतीको मुख्य बजार परिक्रमा गर्दै प्रदर्शन कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई २२ दलीय मोर्चामा सम्मिलित मोर्चाका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का गण्डकी प्रदेश इन्चार्ज अनुकुल, नेकपा (मसाल) का प्रतिनिधि भगिरथ भट्टराई, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य विशाल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बिकाराम महतो, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष पिताम्बर तिवारी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य विशालले दलाल सरकारले एमसीसीको नाममा देशको स्वाधिनता बेच्न खोजेको आरोप लगाए । कार्यक्रमलाई एमसीसी खारेज अभियानका केन्द्रीय सदस्य किसन शर्माले एमसीसी सम्झौता राष्ट्रघाती रहेकाले सम्पूर्ण देशभक्त नागरिक यसको बिरुद्धमा उत्रिनुपर्ने बताए ।

कार्यक्रममा २२ दलीय मोर्चाका नेता कार्यकर्ताका साथै देशभक्त नागरिकहरूको पनि उल्लेखनीय सङ्ख्यामा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष अविनासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :