कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन

एमसिसि लागु गर्न खोजे आन्दोलनको आँधिवेहरी सिर्जना गर्ने

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध विभिन्न राजनैतिक दलहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले संयुक्त विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन अत्तरियाको महेन्द्रनगर रोडबाट शुरू भएर बजार परिक्रमा गर्दै वरपिपल गल्लीमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, नेकपा मालेका केन्द्रीय सदस्य परेक रावल, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामबहादुर केसी र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले हिजो महाकाली सन्धि गर्नेहरू नै आज एमसिसि संसदबाट पारित गर्न कम्मर कसेर लागेको भन्दै एमसिसि पारित गर्ने सांसदहरू अमेरिकि साम्राज्यवादका दलाल भएको बताए। अमेरिकाले एमसिसि परियोजनामार्फत नेपाललाई उपनिवेश बनाउन खोजेको बताउँदै इतिहासमा कसैको गुलाम नबनेको नेपाल अबपनि कसैको गुलाम नबन्ने ठोकुवा गरे। उनले भने ‘केही नेताहरू दलाल होलान्, कोही कर्मचारी दलाल होलान् तर समग्र नेपाली जनता दलाल बन्न नसक्ने बताउँदै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनतालाई एकजुट हुन आव्हान गरे।’काठमाडौंका जनता पसल बन्द गरेर विरोधमा उत्रिएकोमा धन्यवाद दिंदै सुदुरपश्चिमका जनतालाई पनि एमसिसि विरुद्ध उत्रिन आव्हान गरे ।हामि एक दिन व्यापार गरेर निजी जिवन समृद्ध पारौला तर राष्ट्र नै नरहने,जीवन नै नरहने अवस्था आए के गर्ने?उनको प्रश्न थियो। एमसिसि परियोजना भारतमा अङ्ग्रेजको इष्ट इण्डिया कम्पनी जस्तै भएको बताउँदै जसरी अङ्ग्रेजले भारतमा लुट मच्चाएका थिए त्यही उद्देश्य सहित एमसिसि परियोजना ल्याइएको उनको दाबि थियो। केही नेताहरूले एमसिसि आए कसरी अमेरिकि सेना आउँछ भन्ने गरेको स्मरण गर्दै एमसिसि परियोजनाको सुरक्षा अमेरिकि सेनाले मात्र गर्न सक्छ भन्ने आशयसहित एमसिसि परियोजनाको डिजाइन गरिएको बताउँदै परियोजना सुरक्षाका नाममा अमेरिकि सेना भित्र्याउन खोजिएको उनको दाबि थियो। एमसिसि अमेरिकि सरकारका परियोजना मात्र नभएर हिन्द प्रशान्त रणनीतिको आर्थिक कोष भएको बताउँदै नेपालकै परराष्ट्र नितिले समेत नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागि हुन नमिल्ने दाबि गरे। एमसिसि सम्झौता खारेज हुनुपर्ने बताउँदै कसैले लागु गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने उनले बताए।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामबहादुर केसीले अहिले चुप लागेर बस्दा भोलि बोल्न समेत ठाँउ नपाउने अवस्था सिर्जना हुने बताउँदै एमसिसि विरुद्ध हरेक राष्ट्रवादी नागरिकलाई आवाज उठाउनुपर्ने बताए। एमसिसि परियोजना लागु भएका देश युद्धग्रस्त अवस्थामा रहेको बताउँदै नेपाललाई युद्धबाट जोगाउन पनि एमसिसि सम्झौता खारेज हुनुपर्ने उनको भनाई थियो।

 

अर्का वक्ता नेकपा मालेका केन्द्रीय सदस्य परेक रावलले एमसिसि अमेरिकी सेना भित्र्याएर नेपाललाई युद्धभुमीमा परिणत गर्ने परियोजना भएको बताउँदै सम्पूर्ण राष्ट्रवादी शक्ति यसका विरुद्ध संघर्ष गर्न तयार हुनुपर्ने बताए।कुनै पनि देशले अर्को देशलाई सहयोग गर्दा निशर्त सहयोग गर्नुपर्ने बताउँदै एमसिसिमा राष्ट्रघाती शर्त राखेर नेपाललाई दबाब दिएर अमेरिकी साम्राज्यवादले दादागिरी प्रस्तुत गरेको बताए।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्रीले एमसिसि परियोजना राष्ट्र र जनताको हितमा नभएको बताउँदै एमसिसि सम्झौता खारेज गरिनुपर्ने बताए। विदेशीसंग भिख मागेर देश समृद्ध हुन नसक्ने बताउँदै एमसिसि सम्झौताले देशको विकास होइन विनास गर्ने ठोकुवा गरे। उनले कोरोना महामारीबाट बच्न मास्क लगाय जस्तै एमसिसि लागु भए मास्क र सेनिटाइजर बोक्ने हातमा बन्दुक बोक्नुपर्ने अवस्था सिर्जना हुने दाबि गरे।

 

कोणसभाको सञ्चालन नेकपा कैलालीका सचिव दीपेन्द्र चलाउनेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :