नेपालको शैक्षिक क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना : नेता पुन

शिक्षा क्षेत्रको निजिकरण र व्यापारिकरण अन्त्य गरिनुपर्ने माग

नेपालको शैक्षिक क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना : नेता पुन

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालको शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताए ।टीकापुरमा सम्पन्न अखिल क्रान्तिकारीको २२औ जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता पुनले सो कुरा बताएका हुन् ।शिक्षा र स्वास्थ्यलाई नेपालको संविधानले मौलिक हकका रूपमा व्याखा गरेपनि मौलिक हकको व्यापार गर्न छुट दिएको बताए। संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र लेख्ने संसदिय राजनैतिक पार्टीहरूले मौलिक हकको व्यापार गरेर कस्तो समाजवाद ल्याउन खोजेको हो भन्ने स्पष्ट भएको बताए। प्राविधिक शिक्षामा आम जनताको पहुँच नै नभएको बताउँदै सरकारले जिम्मेवारी लिनुपर्ने उच्च शिक्षा निजीक्षेत्रलाई बुझाएर गैह्रजिम्मेवारीपन प्रस्तुत गरेको बताए।

 

उनले भने ‘नेपालका अधिकांश जनताको प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने अवस्था नै छैन। अधिकांश नेपालीसँग रहेको आफ्नो सारा सम्पत्ति बेच्दा पनि आफ्ना छोराछोरीलाई डाक्टर पढाउन सक्ने अवस्था छैन, इन्जिनियर बनाउन सक्ने अवस्था छैन ।’ उच्च शिक्षा निःशुल्क र प्राविधिक शिक्षा सर्वसुलभ हुनुपर्ने बताउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेर मात्र देशलाई समृद्ध बनाउन सकिने उनको धारणा थियो।

सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै अखिल क्रान्तिकारीका पुर्व महासचिव तथा नेपाल कम्युनिष्ट पार्टी कैलालीका सचिव दीपेन्द्र चलाउनेले अखिल क्रान्तिकारी शैक्षिक क्षेत्रको विकृत्ति विसंगति विरुद्ध सडकबाघ भएको बताउँदै कैलाली जिल्लामा समेत नेतृत्वदायी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। शिक्षा क्षेत्रलाई निजीकरण, व्यापारिकरण र उदारिकरणले ध्वस्त पारिसकेको बताउँदै शिक्षा क्षेत्रको व्यापार अन्त्य गरिनुपर्ने बताए।

सम्मेलनमा अखिल नेपाल शिक्षक संगठन कैलालीका अध्यक्ष रामप्रसाद तिमिल्सेना, अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीकि अध्यक्ष सुनिता खड्का लगायतले सम्मेलन सफलताको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलनले महेश पातली अध्यक्ष , विनोद जप्रेल उपाध्यक्ष ,सुनिल भुल सचिव ,ईन्द्र रिजाल सहसचिव , कल्पना सार्की कोषाध्यक्ष, विनोद विष्ट , प्रकाश साउँद , सावित्री गुरुधामी लगायत  सदस्य रहेको ४१ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :