युवा सङ्गठन नेपाल मकवानपुरद्वारा हेटौँडामा विरोध प्रदर्शन

युवा सङ्गठन नेपाल मकवानपुरद्वारा हेटौँडामा विरोध प्रदर्शन

मकवानपुर : युवा सङ्गठन नेपाल मकवानपुरले आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको छ । मङ्गलबार भएको कार्यक्रमको सम्बोधन गर्दै युवा सङ्गठन नेपाल मकवानपुरका अध्यक्ष किरण अर्यालले सम्पूर्ण नागरिकका अभिभावक राज्य सरकारले गैर जिम्मेवार ढङ्गले आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार जस्तो जघन्य अपराध गरिरहेकोले यसका विरुद्ध आम नेपाली युवाहरू साथै सम्पूर्ण नेपाली जनता एकजुट भई आवाज उठाउनुपर्ने बताए ।

जबसम्म सरकारले उच्च पारदर्शिता अपनाएर राज्य सञ्चालन गर्दैन तबसम्म विकासले उपयुक्त गति लिन नसक्ने बताए । यसरी जसको नेतृत्वमा राज्य सरकार सञ्चालन भए पनि सहि, स्पष्ट र असल नेतृत्व गर्न नसक्नुको कारण यो दलाल संसदीय व्यवस्था नै भएकोले अब यसको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि आम नेपाली जनता एकजुट भएर एकचोटी जनमतसङ्ग्रहमा जानुपर्ने बताए । यदि जनमतसङ्ग्रहको बाटोबाट जान नपाए एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुँदै अघि बढ्नुपर्ने बताए ।

यसरी राष्ट्रिय जनसरोकार मञ्चका अध्यक्ष उमेश गुणी, मकवानपुरका जिल्ला सचिवालय सदस्य विक्रम सहितको सम्बोधनमा मङ्गलबार हेटौँडाको बुद्धचोकमा सम्पन्न भएको विरोध कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका कोषाध्यक्ष सुबास तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :