एमसीसी लादेर पुर्खाले जोगाएको धर्तीमाथि धावा

एमसीसी लादेर पुर्खाले जोगाएको धर्तीमाथि धावा

लामो समयदेखि नेपाली जनताले भोग्दै गरेको राजनीतिक, सामाजिक, आर्थिक र नैतिक चरित्रले यहाँको नियम र कानुनले कतै पनि जनताको काम गरेको आभास भइरहेको छैन । नेपालको हरेक स्थितिका बारेमा वर्णन गर्न खोज्दा यसको इतिहासलाई पछ्याउनै पर्दछ । हिजो नेपालीले भोगेको अनेक सङ्कट अनि नेपाली माटोमा बगाएको त्याग, तपस्या, पसिना, श्रम र बलिदानीले गर्दा अहिलेका नेपालीले शिर ठाडो पार्ने अवसर पाएका छन् । समय परिवर्तनशील छ र हुनुपर्दछ, यो विज्ञानको नियम हो । सबै चीज इतिहासले खान्छ तर सत्य सत्य नै रहन्छ ।

लेखक : दाना केसी

नालापानीको लडाइँबाट चर्चित नेपाली योद्धा/लडाकु इतिहासका साक्षी हुन् । यो इतिहासलाई कसैले निल्न सक्दैन । त्यो समयमा हाम्रा पुर्खाहरूले खुट्टामा चप्पल पनि नलगाई पानी मात्र पिएर लडेको इतिहास हाम्रासामु ऐनाझैँ छर्लङ्ग छ । यसलाई हामी भुल्न सक्दैनौँ । बिस्तारै–बिस्तारै समयसँगै युग परिवर्तन भयो । २००७, २०१६, २०३६, २०४७ हुँदै समय अहिले यो स्थितिमा आइपुगेको छ । पुर्खाले बचाइदिएको यो सानो र प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल अहिले अलि फरक स्थितिमा उभिएको छ । यो स्थिति सबै नेपाली जनतालाई पचाउन गाह्रो भएको छ किनभने पुर्खाले जोगाएको नेपाललाई थप बचाउन १० वर्षभन्दा बढी समय चलेको जनयुद्धलाई यहाँ जोड्नै पर्दछ । जनयुद्धले यसमा ठूलो भूमिका निर्वाह गरेको छ । त्यसपछि १९ दिने जनआन्दोलनपछाडि अढाइ वर्ष चलेको ज्ञानेन्द्रको क्रूर शासन र राज्यसत्तालाई पनि नेपाली जनताको साहस र शक्तिले नै हत्याएको थियो । त्यसपछि नेपाली जनताले एक प्रकारको खुसीयाली बाँडेका थिए ।

त्यसपछिका दिनहरूमा नेकपा (माओवादी) ले नेतृत्व गरेको सशक्त आन्दोलनले स्थिति एक प्रकारको सेटमा पुगेको आभास भए पनि बहुमतको सरकार सञ्चालन हुन सकेन । जनताले त्यहाँसम्म पुर्याएको परिस्थिति अग्रगामी नभएर खस्किँदै गयो । त्यतिबेलाको साक्षी वर्तमान नेपाली जनता छन् । नेपालमा यो स्थिति आउनु यहाँका कम्युनिस्टहरू आफैँमा परिवर्तन हुन नसक्नु मुख्य जड हो किनभने अन्तर्राष्ट्रिय दार्शनिकका अनुयायी भएर धेरै अध्ययन र विश्लेषण गरे पनि परिवर्तन गर्न नसक्नु यहाँ मुख्य कमजोरी देखिन्छ । समयको परिवर्तनसँग सकारात्मक रूपमा राजनीतिक परिवर्तन हुन सकेन । यसो भएपछि नेपालमा अरू राजनीतिक पार्टीको कुरा नगरौँ, यहाँ त १० वर्षसम्म जनतासँग हातेमालो गर्दै सशस्त्र युद्ध गरेको सर्वहारा वर्गको पार्टीको मूल नेतृत्व वर्गप्रति बेइमान बनेका कारण ३/४ टुक्रा हुनुपर्ने अवस्था उत्पन्न भएपछि जनतामा ठूलो धोका भएको हो । यो सत्य कुरा तीतो भए पनि स्वीकार्नुपर्दछ नेतृत्व पङ्क्तिले ।

पछिल्लो चरणमा पार्टी गुट, उपगुट र टुटफुटको अस्वस्थ प्रतिस्पर्धामा राजनीतिक खिचातानीले गर्दा अराजक प्रकारको मिलीजुली सरकार निरङ्कुश राज्यसत्ता चल्दै आएको छ । अहिले यो एमसीसी नामको संस्था नेपाल भित्र्याउन ठूलो कूटनीतिक चलखेल भइरहेको छ । अमेरिका र नेपाल सरकारको गुरुयोजनामा निर्मित यो योजना नेपालमा ठूलो बहस र विवादको विषय बनेको छ । कसैलाई यो कार्यक्रम नेपाल भित्र्याउन हतार छ भने जनता र देशभक्त शक्तिले यसलाई राष्ट्रघाती ठोकुवा गरिसकेका छन् । यतिबेला नेपालका गल्ली–गल्लीमा यही विषयको समीक्षा भएको देखिन्छ । यसका बारेमा छोटो चर्चा गरौँ ।
के हो एमसीसी ?

एमसीसी अमेरिकी कार्यक्रम हो । सरकार–सरकारबीचको सम्झौता र गैरसरकारी तरिकाले कार्य सम्पन्न गर्नु यसको उद्देश्य हो । सन् २००२ मा म्याक्सिकोको अन्तर्राष्ट्रिय बैङ्कको बैठकमा आफ्नो देशको कुल बजेटबाट ०.७ प्रतिशत अन्य देशमा लगानी लगाउनु पर्दछ भन्ने जर्ज डब्लू बुसको निर्देशन हो । त्यसकारण अमेरिका आफ्नो देशको ०.७ प्रतिशत बजेट आफूले भनेको मान्ने देशमा लगानी गर्न चाहन्छ । अहिले ०.३ प्रतिशतका दरले ३७ वटा राष्ट्रमा यो कार्यक्रममा सम्झौता गरेको छ तर १२ वटा राष्ट्रमा असफल भएको छ । सरकार–सरकारबीच सम्झौता गर्ने र गैरसरकारी तरिकाले काम गर्न चाहने अमेरिकाले यस्तै प्रकारका राष्ट्रसँग साइनो गाँस्न खोज्छ । जस्तै युद्धरत राष्ट्र, अल्पविकसित राष्ट्र, विश्वव्यापीकरण शक्ति भएको स्थल आदि । त्यसमध्ये उसको दृष्टिमा नेपाल पनि एक हो । नेपालको अवस्थालाई हेर्दा सुरुमा जति फाइदाजनक हुने गफ दिए पनि यसले कालान्तरमा ठूलो हानि गर्ने देखिन्छ । सुरुमा सन् २०११ बाट यसको गुरुयोजना बनेको थियो । २०१४–२०१५ तिर यसको डिजाइन गरी १४ डिसेम्वर २०१७ मा नेपाल सरकारबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा अमेरिका सरकारसँग सम्झौता भएको थियो । यो अमेरिकी सरकारले उपनिवेशमाथि गरेको चिन्तनको आयात हो । लगानी मुख्य होइन, यसको आधारभूत उद्देश्य मुख्य हो । नेपाल र अमेरिकी सरकारले गरेको सम्झौताअनुरूप एमसीसी सफल पार्नका निम्ति नेपालले २१ वटा सर्त पूरा गर्नुपर्नेछ र त्यसमध्ये नेपालले अहिलेसम्म ९ वटा सर्त पूरा गरेको देखिन्छ ।

यसका योजनाहरू ठेक्कामार्फत काम गर्ने हो । काम गर्दा नेपालका मजदुरहरूले सिन्को भाँच्न पाउने छैनन् । मजदुरदेखि लिएर मालिकसम्म अमेरिकाका व्यक्ति हुनेछन् । नेपालले त खालि सम्झौता गरेर पुलको काम गर्ने र नतमस्तक भएर टुलुटुलु हेर्ने काम मात्र गर्नेछ । यसले ४०० केभी प्रसारणलाई साँखु नगरपालिकामा सबस्टेसन राखेर त्यसले मुग्लिनदेखि हेटौँडा, मुग्लिनदेखि तनहुँ, दमौली, पाल्पा भनेर ठाउँसमेत अनुसन्धान गरेको पाइन्छ । सडकको योजनामा झापा–फिदिम, धरान–धनकुटा, सर्लाही–उदयपुर, गाईघाट, हेटौँडा, दाङ–तुल्सीपुर, चन्द्रौटा–शिवपुरजस्ता ठाउँहरू उसको योजनामा परेका छन् ।

यसको उद्देश्य वा यो कार्यक्रमको सम्झौतामा नेपालको संविधान निष्क्रिया बनाएर अमेरिकाको कानुन लागू हुने देखिन्छ । उसले सम्झौतामा उल्लेख भएको सर्त र अधिकार नेपालको कानुनसरह लागू गर्नेछ । यो भनेको भूमि अधिकरण हुनु हो । हुनत सम्झौतामा ५ बर्से योजना भनिएको छ तर यो गलत छ । जब अमेरिकाले यो कार्यक्रम नेपालमा भित्र्याउँछ, त्यसपछि भूमि अधिकरण भइसकेको अवस्थामा ऊ कदापि सम्झौताअनुसार फर्किंदैन । उसले यहाँ आजीवन राज गर्नेछ । पछिल्लो राजनीतिक स्थिति पछ्याउँदा भारतले अमेरिकी डलर लिएको र ऊसँगको गठबन्धन भएपछि सार्क अहिले विघटनको स्थितिमा रहेको देखिन्छ । यसको अपजस सबै भारतले पाएको छ । छिमेकी राष्ट्र भइसकेपछि एकआपसमा जित–जित र फाइदाका कार्यहरू हुनुपर्दछ । तर नेपालसँग हिजोदेखि नै छिमेकी राष्ट्रले गरेका सन्धि–सम्झौताका इतिहास केलाउँदा खालि नेपाललाई परनिर्भर बनाउने, दाोहन गर्ने र परजीवी बनाउने काम गरेको पाइन्छ । यो विस्तारवादी मात्र नभएर साम्राज्यवादी कार्य हो ।

एमसीसी योजना नेपालको माटो र नेपाली जनताको इच्छाविपरीत रहेको छ । त्यसैले नेपालको आत्मसुरक्षामाथि धावा बोल्ने, स्वतन्त्रताका बारेमा आवाज उठाउने हाम्रो अधिकार हो । यसलाई गहिरो अध्ययन गरी देशभक्तहरूको आवाज बुलन्द गर्नु अपरिहार्य छ । हामीले अन्तर्राष्ट्रिय शासन व्यवस्थालाई पनि पछ्याउनुपर्दछ– १९४९ को चिनियाँ क्रान्ति सम्पन्न भइसकेपछि समाजवाद र पुँजीवादबीच द्वन्द्व हुँदा पुँजीवाद कमजोर भएको थियो । यो इतिहास हामीले अध्ययन गरेका छौँ । त्यसकारण सधैँ एउटै व्यक्ति वा शासनको अराजकता टिक्दैन, हाम्रो अनुकूलतामा सधैँ राज गर्ने दिन रहँदैन । राज गर्ने अवसर पाएको समयमा वैज्ञानिक समाजवादको उद्घाटन गर्नलाई हातेमालो गर्दा ऐतिहासिक कार्य हुने देखिन्छ । जनताका निम्ति भनेर जनताको मतबाट सत्तामा पुगेका सत्ताका कार्यकारीहरूले यो कुरालाई भावुक भएर गहिरो रूपमा सोच्नु पर्दछ । सम्पूर्ण देशभक्तहरू एक हुने अवस्था आएको छ । होइन भने यो निरङ्कुशताको बलले जाने हो भने भोलिको स्थितिमा नेपालीपन हराउन बेर लग्नेछैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :