राष्ट्रघाती एमसीसीविरुद्ध बुटवलमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसीविरुद्ध बुटवलमा विरोध प्रदर्शन

काठमाडौँ : मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजनाविरुद्ध नेकपासहित दस राजनीतिक दल/सङ्गठनले बुटवलमा संयुक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

मङ्गलबार एमसीसी नेपाल र नेपाली जनताको हितविरुद्ध रहेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, विवेकशिल साझा पार्टी, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्च र राष्ट्रिय जागरण परिषद, नेपालको आयोजनामा उक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न हो । बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको जुलुस अर्थात् विरोध र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध र्यालीमा राष्ट्रघाती एमसीसी खारेज गर !, एमसीसीविरुद्ध सम्पूर्ण देशभक्तहरू एक होऔं !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ !, अमेरिकी साम्राज्यवाद मुर्दावाद !, एमसीसी संसदबाट पारित गर्ने षड्यन्त्र खारेज गर !, असंलग्न परराष्ट्र नीतिको पालना गर !, आइपीएसदेखि सावधान !, संयुक्त सङ्घर्ष जिन्दावाद !, एमसीसी पास गर्न पाइँदैन, राष्ट्रघाती सम्झौता चाँहिदैन लगायतका नाराहरू लगाइएको थियो ।

कोणसभा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले एमसीसीका बारेमा लामो व्याख्या र विश्लेषण गर्दै एमसीसी कुनै पनि हालतमा देश र जनताको पक्षमा नभएको भन्दै तत्काल खारेज गर्न माग गरे । उनले एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी समेत दिए । नेपालका दलाल र नाइकेहरूले एमसीसीजस्तो राष्ट्रघाती सहमति संसदबाटै पास गराउन खोजेको भन्दै यसको विरुद्धमा देशव्यापी शसक्त सङ्घर्ष र कडा आन्दोलन आवश्यक भएको उनले बताए । केसीले एमसीसीसँग सम्बद्ध सबै कार्यालयहरू पूर्ण रुपमा बन्द र यसबारे भएका सबै कार्यक्रम र योजनाहरू यथाशिघ्र बन्द गर्नका लागि नेपाल सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरे । उनले कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने र सबै देशभक्त, प्रगतिशील नेपाली नागरिकहरूलाई अमेरिकी साम्राज्यवादविरुद्ध डटेर प्रतिरोध गर्न आह्वान गरे ।

नेकपा (क्रान्तिकारी माओवादीका) पोलिट ब्युरो सदस्य भुपेन्द्र न्यौपानेले दलालहरूले विदेशी एजेन्ट र टट्टुको इसारामा एक पटक होइन, पटकपटक नेपाली जनताको भावना विपरीत देशमा अस्थिरता पैदा गर्न खोजेको बताए । नेपालका संसदवादी दलहरूले एमसीसी पास गरेर नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भुल र युद्ध सिर्जना गर्न खोजेको भन्दै न्यौपानेले जनतामाँझ एमसीसीकाबारेमा व्यापक सन्देश प्रवाह गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता खोमा तरामु मगरले सत्तापक्षले जर्बरजस्त राष्ट्रहित विरुद्धको कदम चाल्न खोजेको भन्दै अमेरिकी साम्राज्यवादविरुद्ध देशव्यापी आन्दोलन आवश्यक भएको र सबैलाई आन्दोलनमा समाहित हुन आह्वान गरेका थिए । उनले भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवादविरुद्ध पटकपटक देशव्यापी रुपमा कडा सङ्घर्ष र आन्दोलन गर्ने एक मात्र पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको विचार व्यक्त गरे । उनले एमसीसीविरुद्ध आफ्नो पार्टीले भदौ २३ गतेदेखि भदौ २८ गतेसम्म देशव्यापी सङ्घर्षका कार्यक्रमहरू घोषणा समेत गरेको जानकारी दिए ।

कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका प्रतिनिधि लक्षुराम विश्वकर्मा, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका पदम कार्की, विवेकशिल साँझा पार्टीका किरण शर्मा पाण्डे, नेकपा (माले) का गोपालमणी गौतम लगायतले बालेका थिए ।

कार्यक्रममा हज्जारौं जनता, सबै पार्टी/सङ्गठनका नेताकार्यकर्ता, बुद्धिजीवी, व्यापार, व्यवसायी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ । नेकपा (माले) का स्थायी कमिटी सदस्य गोपालमणी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपाका नेता खोमा तरामु मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :