अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखाको भेला सम्पन्न

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखाको भेला सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखा जिल्लाको भेला सम्पन्न भएको छ । भेलाबाट विष्णुप्रसाद रिजालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

आइतबार बसेको उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रुपेश वाग्ले, अतिथि अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को केन्द्रीय महासचिव सागर अर्याल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश ढकाल र नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला सेक्रेटरी कपिल भट्ट रहेका थिए ।

उक्त भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रुपेशले दलाल संसदीय व्यवस्थाका मतियारहरूले उत्पीडित किसानहरूलाई राहत, अनुदान जस्ता अनेकौँ नाममा लुटपाट, छलकपट गरि दमन गर्ने र दलाल पुँजीवादहरूलाई नै पोष्ने गरेको बताए । उनले उत्पीडित सम्पूर्ण किसानहरू एकजुट हुनुपर्ने समय आएको समेत बताए ।

यसैगरी नवगठित ११ सदस्यीय जिल्ला कमिटीलाई नेपाल कम्युनिस्ट पार्टी गोरखा जिल्ला सेक्रेटरी कपिलले स्वागत तथा बधाई दिँदै उत्पीडित किसानहरूको पक्षमा लाग्नसमेत नवगठित कमिटीलाई निर्देशन गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :