२२ औँ राष्ट्रिय सम्मेलनका कार्यभारहरू

२२ औँ राष्ट्रिय सम्मेलनका कार्यभारहरू

नेपालका लाखौँ यूवा विद्यार्थीहरूको सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को गौरवपूर्ण २२ औँ राष्ट्रिय सम्मेलन २०७८ असोज ६, ७ र ८ गते सुन्दर पर्यटकीय नगरी पोखरामा आयोजना गरिएको छ । हाम्रो प्रिय सङ्गठनको गत २०७७ फागुन २७, २८ र २९ गते नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव कमरेड विप्लवको प्रमुख आतिथ्यमा सम्पन्न केन्द्रीय समितिको पाचौँ पूर्ण बैठकले राष्ट्रिय सम्मेलनको निधो गरे तापनि कोभिड–१९ को भयावह अवस्थाका कारण २०७८ बैशाख ३१ देखि जेष्ठ ४ गते सम्म निर्धारित राष्ट्रिय सम्मेलन स्थगित गर्नुपरेको थियो । स्थगित भएको राष्ट्रिय सम्मेलन २०७८ भाद्र १० र ११ गते चितवनमा सम्पन्न आयोजक समितिको पूर्ण बैठकको नयाँ मिति तय गरेको छ । अबको केही हप्ताभित्र सम्पन्न हुन लागेको हाम्रो सङ्गठनको २२ औँ राष्ट्रिय सम्मेलनले नेपालको शिक्षाका सम्बन्धमा एउटा नयाँ उचाईंका साथ सम्प्रेषण गर्ने छ । २२ औँ राष्ट्रिय सम्मेलनको भव्यतापूर्ण तयारीको लागि देशव्यापी रूपमा उत्साहपूर्ण ढङ्गले आयोजक समिति क्षे.स.स. जिल्ला र इकाईका कमरेडहरू अनवरत खटिरहनुभएको छ । आगामी राष्ट्रिय सम्मेलन मूलत नेपालको शिक्षा र यसको प्रणालीको सम्बन्धमा बहसहरू केन्द्रित गरिने छ । राष्ट्रिय सम्मेलनमा देशव्यापी रूपमा प्रतिनिधि तथा पर्यवेक्षक कमरेहरूको उत्साहपूर्ण उपस्थिति रहने छ । २२ औँ राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव विप्लव सहित नेताहरूको केन्द्रिकरण हुने छ । हाम्रो पार्टीका जनवर्गीय सङ्गठनका नेता कमरेडहरू, समकालिन विद्यार्थी आन्दोलनमा क्रियाशिल विभिन्न विद्यार्थी सङ्गठनका अध्यक्ष तथा प्रतिनिधी, शिक्षा विद्, विश्वविद्यालयका उपकूलपतिहरू, शिक्षक, प्राध्यापक, अनुसन्धानकर्ता, पत्रकार आदिको उपस्थितिले राष्ट्रिय सम्मेलन एउटा विशेष शैक्षिक मेला जस्तै हुने छ । नेपालको वर्तमान शिक्षाका खराबीहरू माथि धावा बोलिने छ र विकल्पको रूपमा वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक मागलाई अगाडि सारिने छ । नेपालको शिक्षा क्षेत्र जस्तै मेडिकल, इन्जीरियरिङ, कृषि, सूचना प्रविधि, मानविकी, व्यवस्थापन, चार्टर एकाउन्टेन्ट, कानुन लगायतमा अध्ययन गरिरहेका विद्यार्थीहरूको प्रतिनिधित्व हुनेछ । अबको नयाँ सन्दर्भमा नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गले संश्लेषण गर्दै आन्दोलनको गति र दिशालाई स्पष्टता दिईने छ । नेपालभरीका समग्र शिक्षामा प्रत्येक्ष वा परोस सरोकार राख्ने व्यक्तिहरूको उपस्थिति रहने छ । मुख्य रूपमा अगामी गौरवपूर्ण २२ औँ राष्ट्रिय सम्मेलनले देहायका कार्यभारहरूलाई पूरा गर्ने छ :

(१) समिक्षात्मक कार्यभार :

आगामी २२ औँ राष्ट्रिय सम्मेलनले आफ्नो समीक्षात्मक कार्यभारलाई वैज्ञानिक, वस्तुनिष्ठ र मार्क्सवादी ढङ्गले समिक्षा गर्ने छ र कार्यनीतिक र रणनीतिक ढङ्गले आफ्ना आगामी कार्यभारहरूलाई एउटा स्पष्ट गति र दिशा प्रदान गर्ने छ । मुख्यतः हाम्रो सङ्गठनको ऐतिहासिक २१ औँ राष्ट्रिय सम्मेलनले पारित गरेको विधान र प्रतिवेदनमा आधारित हुँदै विभिन्न समयमा सङ्गठनको केन्द्रीय समितिले निर्माण गरेका नीति, योजनाहरूको उपलब्धि र कमजोरी सहितको समीक्षा गरिने छ । २१ औँ राष्ट्रिय सम्मेलनदेखि यता वैचारिक, राजनीतिक दृष्टिले सङ्गठनले गरेका काम कारवाही, प्रभावकारीताको वस्तुनिष्ठ समिक्षा गरिने छ । समग्र शैक्षिक/विद्यार्थी आन्दोलनको सन्दर्भमा सङ्गठनले गरेका ऐतिहासिक पहलकदमीको यथोचित मूल्याङ्कन हुने छ । हाम्रो सङ्गठनले संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्व प्रदान गर्दै खेलेको भूमिका, विभिन्न समयमा सङ्गठनले राष्ट्रियता, जनजीवन तथा जनत्रन्तका विषयमा आन्दोलनको सञ्चालन गरेका आन्दोलनको संश्लेषण हुने छ ।

यसरी सङ्गठनको गौरवलाई २२ औँ राष्ट्रिय सम्मेलन विगत कामका शाखाहरू विचार/राजनीतिको शाखा, सङ्घर्षको शाखा, सङ्गठनात्मक शाखा, शैक्षिक आन्दोलनको शाखा, राष्ट्रियता, जनजीविका, अन्तराष्ट्रिय कामको शाखामा भए गरेका सम्पूर्ण कामहरूको वैज्ञानिक र वस्तुवादी समिक्षा गरिनेछ ।

(२) वैचारीक/राजनीतिक कार्यभार :

वास्तवमा शैक्षिका/विद्यार्थी आन्दोलन एक स्पष्ट विचार, राजनीति र दर्शनमा आधारित आन्दोलनको एउटा महत्वपूर्ण शाखा हो । विचार वा दर्शनको मार्गदर्शन बिना एउटा सशक्त शैक्षिक/विद्यार्थी आन्दोलनले किनार्थ सफलता प्राप्त गर्न सक्तैन । वैज्ञानिक, मार्क्सवादी विचार/दर्शनले मात्र सहि अर्थमा आजको शैक्षिक/विद्यार्थी आन्दोलनलाई सहि दिशा र गति प्रदान गर्नु सक्तछ । हामीले हाम्रो सङ्गठनको गौरवपूर्ण २२ औँ राष्ट्रिय सम्मेलनबाट विचार/राजनीतिक वा वैचारिक पक्षधरता स्पष्ट गर्ने छौँ नै । आजको २१ औँ शताब्दीको वैज्ञानिक प्राविधिक युगमा पुराना थुप्रिएका/मक्किएका पुँजीवादी, अझ नेपालको सन्दर्भमा दलाल पुँजीवादी आदर्शवादी विचार/दर्शनको भण्डाफोर गर्नुपर्दछ । वैचारिक दृष्टिले सर्वहारावर्ग पक्षधरतालाई हामीले निसंकोच आत्मसाथ गर्नेछौं । हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले लिएको मालेजावादी, वैज्ञानिक समाजवादी विचार/दर्शनलाई हामी हाम्रो वैचारिक मार्गदर्शनको रूपमा अख्तियार गर्दछौँ । आगामी २२ औँ राष्ट्रिय सम्मेलन एकीकृत जनक्रान्तिका विभिन्न कार्यनीतिक शृङ्खलाहरू मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको वैचारिक आलोकमा उभिनेछ । विचार, राजनीतिको क्षेत्रमा कम्युनिस्ट मूल्य, मान्यता, आदर्श र संस्कृतिलाई ग्रहण गर्दै राष्ट्रिय सम्मेलनको शैक्षिक आन्दोलनको दिशा र गतिलाई निसन्देह विजयको शिखरमा पुर्याइ छाड्ने प्रतिबद्धता गर्ने नै छ । नेपालका लाखौँ युवा विद्यार्थीहरूलाई शैक्षिक÷विद्यार्थी आन्दोलन मार्फत कम्युनिस्ट आन्दोलनको मूल क्रान्तिकारी प्रवाहमा प्रवाहित गराउने अठोट गर्नेछ ।

(३) शैक्षिक कार्यभार :

नेपाल चालु शिक्षा र यसको वितरण प्रणाली ज्यादै खराब छ । हुन त शिक्षा आफैँमा सकारात्मक शब्द हो तर कस्तो शिक्षा भन्ने त हुने नै भो । नेपालको शिक्षा क्षेत्रमा देखापरेका तमाम खराबीहरूलाई, उजागर गर्ने, ति खराबीहरूको अन्त्यका लागि सङ्घर्ष गर्ने र शिक्षामा नयाँ विकल्प सुझाउने आगामी राष्ट्रिय सम्मेलनले पूरा गर्नुपर्ने शैक्षिक कार्यभार हो । यस अन्तर्गत आगामी दिनमा समग्र विद्यार्थी आन्दोलनको कार्यनीति र रणनीतिको तय गरिने छ । वास्तवमा नेपालमा अहिलेको शिक्षा प्रणाली राष्ट्र र जनताको हितमा छैन । हाम्रो शिक्षा दृष्टिकोण विहिन छ, जसले गर्दा शिक्षाको परिणाम र प्रतिफल सामाजिक रूपान्तरण या समाजलाई अगाडि (वैज्ञानिक समाजवाद तिर) बढाउने छैन, कित थथास्थितमा कि त भूतलक्षी खालको छ । शिक्षा दर्शन विहिन छ, त्यसैले नेपालको शिक्षा मानिसलाई साक्षर बनाउने मात्र छ । समान्तवादी शिक्षाको अन्त्य सँगै पुँजीवादले शिक्षाका नीति तथा रणनीतिहरू तयार गर्यो । पुँजीवादले आपूmलाई अनुकूल हुने शिक्षा दियो । शिक्षालाई सामन्ती कुलिनतन्त्रबाट खोसेर पुँजीवादले सबैको पहुँचमा शिक्षा हुने र शिक्षा स्वतन्त्र हुने छ भयो । मध्ययुगको अन्त्य पछि सामन्ती कुलिन शासक वर्गबाट शिक्षालाई खोसेर आम जनताको पहुँच हुनेछ भन्ने तत्कालिन पुँजीवादी कार्य प्रगतिशिल नै मान्नुपर्ने हुन्छ । तर बदलिँदो समाज, परिवेश र जनताको चाहना, आकांक्षा र आवश्यकतालाई वर्तमान पुँजीवादी स्वतन्त्र शिक्षाले पूरा गर्न सकेन र यो असफलताको चक्रव्यूहमा फस्यो, फसिरहेकै छ । पुँजीवादी विचार र दर्शनमा आधारित शिक्षाले मुठीभर पुँजीवादीको स्वार्थ त पूरा गर्यो र गरिरहेकै छ तर राष्ट्र र जनताको आवश्यकतालाई संशोधन गर्नु त परैको कुरा उल्टो शिक्षालाई आम जनतामाथि शोषण, दमन, विभेद, द्वष, धृणा मार्फत, अभाव, दिशा र दृष्टिकोण विहिन बनाइदिएको छ । पुँजीवादले आफ्नै सेवा र चाकडी गर्ने निर्विवेकी फगत साक्षरहरूको भिड तयार गरिरहेको छ । कथित विशिष्टताको नाममा मानिसका दृष्टिकोण र मस्तिस्क माथि छद्म भेषमा पर्दा हालिरहेको छ । यसले दलाल पुँजीवादको विचार/दर्शनमा आधारित वर्तमान शिक्षा र यसको प्रणालीलाई एउटा सुस्पष्ट विचार, दृष्टिकोण र दर्शनले मार्ग दर्शन गर्नु आजको शैक्षिक कार्यभारको ज्यादै महत्वपूर्ण पक्ष हो । यसरी अगामी २२ औँ राष्ट्रिय सम्मेलनले शिक्षाको कार्यदिशा/कार्यनीति र रणनीतिहरूको नयाँ उचाईमा सश्लेषण गर्ने छ ।

(४) नेतृत्व निर्माण सम्बन्धीको कार्यभार :

वस्तुनिष्ठ समीक्षा पछि मालेमावादी विचार, दृष्टिकोण र वैज्ञानिक समाजवादको वैचारिक आलोकमा आगामी शैक्षिक/विद्यार्थी आन्दोलन अगाडि बढ्नेछ । विचार राजनीतिमा स्पष्टता, शैक्षिक/कार्यनीति र रणनीतिहरूको निर्माण पश्चात् त्यस्ता नीति तथा रणनीतिहरूको कार्यान्वयनको लागि नेतृत्व निर्माणको कार्यभारलाई अगामी २२ औँ राष्ट्रिय सम्मेलनले फत्ते गर्ने छ । सशक्त जुझारु, प्रतिबद्ध युवाहरूको आगामी नेतृत्वले सुस्पष्ट दृष्टिकोण सहित नेपालको समग्र शैक्षिक तथा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने छ । आफ्नो निजी विचार र जीवनलाई त्यागेर सम्पूर्ण राष्ट्र र जनताको हितार्थ आफूलाई समपर्णभावका साथ इमान्दारीपूर्वक उभ्याउने विद्यार्थी आन्दोलनको नेतृत्व चयन हुने नै छ । अहिलेको क्रान्ति, शैक्षिक आन्दोलनको चापलाई समेत दृष्टिगत गरी आगामी नेतृत्व निर्माण हुने छ जसले नेपालको समग्र शैक्षिक आन्दोलनसँगै राजनीतिक (वैज्ञानिक समाजवादी) आन्दोलनलाई समेत विशिष्ट योगदान पुर्याउने नै छ ।

अन्त्यमा, हाम्रो प्रिय सङ्गठन अखिल (क्रान्तिकारी) को गौरवशालीपूर्ण र ऐतिहासिक २२ औँ राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि अहोरात्र खटिरहनुभएका आयोजक समिति, क्षे.स.स., जिल्ला समितिदेखि इकाई सम्मका सम्पूर्ण कमरेडलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छौँ । सम्मेलनको चापलाई सम्पूर्ण कमरेहरूले मनन गर्दै, अगाडि बढ्न अपिल गर्दछौँ । नेपालका लाखौँ युवा विद्यार्थी, राजनीतिककर्मी, शिक्षाविद्, शिक्षाप्रेमी, पत्रकार सबैको ध्यान हाम्रो गौरवपूर्ण २२ औँ राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको छ । त्याग, बलिदान र समर्पणको इतिहास बोकेको हाम्रो प्रिय सङ्गठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा हामीलाई सम्मेलन सफलताको शुभकामना दिनुहुने सम्पूर्ण राजनीतिककर्मी, शिक्षाविद्, विद्यार्थी, अभिभावक, शिक्षक, प्राध्यापक, बुद्धिजीवीहरू, पत्रकार लगायत सम्पूर्ण शुभेच्छुकहरूमा विशेष आभार प्रकट गर्न चाहन्छौँ । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :