‘जनपत्रकार’ उत्पादन गर्दै : जनपत्रकार सङ्गठन नेपाल

‘जनपत्रकार’ उत्पादन गर्दै : जनपत्रकार सङ्गठन नेपाल

बाँके : जनताको पक्षमा कलम चलाउने जनपत्रकार उत्पादन गर्दै जनपत्रकार सङ्गठन नेपाल अहिले देशभर सङ्गठन सुदृढ र विस्तार अभियानमा व्यस्त छ ।

जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विकका अनुसार भाद्र महिनाभित्रै देशभरका करिव २० जिल्लामा जिल्ला सम्मेलन र जिल्ला भेला सम्पन्न भइसकेका छन् । जसमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, डोटी, बाजुरा, बर्दिया, सल्यान, जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, रोल्पा, कपिलवस्तु, दाङ, रुपन्देही, अर्घाखाँची, पाल्पा, पर्वत, कास्की र ताप्लेजुङ्ग जिल्लामा जिल्ला भेला तथा सम्मेलनहरू सम्पन्न भइसकेका छन् । साथै देशभरका मधेस बाहेक ६ ठाउँमा प्रदेश स्तरीय प्रशिक्षण तथा बैठकहरू पनि सम्पन्न भएको जनपत्रकार सङ्गठनले जनाएको छ । अब असोज पहिलो सातासम्म देशभरका बाँकी जिल्लाहरूमा जिल्ला सम्मेलन र प्रदेश सम्मेलन गरिसक्ने जनपत्रकार सङ्गठनले जनाएको छ ।

जनपत्रकार सङ्गठनले पत्रकारिता र पत्रकार पनि वर्गीय हुने दावी गर्दै पुँजीवाद वा समाजवाद कसको पक्षमा कलम चलाउने भन्ने विषयमा पत्रकारले पनि निक्र्योल गर्नुपर्ने आफ्नो अभियानमा बताएको छ । उसको भनाई अनुसार नेपालमा दलाल संसदीय व्यवस्था कायम भएकाले यहाँ दलालपुँजीपति वर्गको पक्षमा सेवा गर्ने दलाल पत्रकारिताको बाहूल्यता छ । दलाल संसदीय व्यवस्था टिकाउन देशका केही मुलधारमा पत्रकारिता गर्छौ भन्ने ठुला मिडियाहरू स्वयम् लागेको जनपत्रकार सङ्गठनको ठहर छ ।

जनपत्रकार सङ्गठनले श्रमजीवि सर्वहारावर्गको पक्षमा कलम चलाउने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने पक्षमा कलम चलाउने व्यवस्था स्थापना गर्न चाहान्छ । सङ्गठनले वैज्ञानिक समाजवाद स्थापना गर्न नेपालमा चलिरहेको दलाल संसदीय व्यवस्था विस्थापित गर्नुपर्ने बताएको छ । उसले त्यसको लागि जनमतसङ्ग्रहको नारा कार्यान्वयमा लैजानु पर्ने सन्देश जनतासम्म सूसुचित गर्र्नुपर्ने बताएको छ ।

देश दौडाहा आफ्नो सङ्गठनका जिल्ला सम्मेलन, भेला र बैठकहरू सम्पन्न गर्दै गर्दा जनपत्रकार सङ्गठन नेपालले उत्पादन भएका जनताका पत्रकारहरूलाई श्रमजीवि वर्गको पक्षमा कलम चलाउन निर्देशन पनि दिएको छ ।

सङ्गठनका केन्द्रीय संयोजक विकले आगामी असोजको अन्तिम सातासम्म सङ्गठनको राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य अनुसार देशभर सङ्गठन सुदृढ र विस्तार गर्ने क्रममा जिल्ला सम्मेलन, जिल्ला भेला, बैठक र प्रदेश सम्मेलन गर्न थालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :