दलित मुक्तिका सन्दर्भमा अम्बेडकर र मार्क्सवाद

दलित मुक्तिका सन्दर्भमा अम्बेडकर र मार्क्सवाद

नेपालमा दलित मुक्ति आन्दोलनका बारेमा विभिन्न दृष्टिकोणबाट प्रयास भैरहेको छ । पछिल्लो समयमा यसबारे यो समुदायको जागरण र विद्रोही चेत ह्वात्तै बढेको छ । विगतमा यो समुदायका मानिस जस्तोसुकै विभेद र छुवाछूत सहेर बस्थे भने आजभोलि विभेदका विरुद्ध आवाज उठाउने र न्याय र अधिकार प्राप्तिका लागि अग्रसर हुने भएका कारण घटनाहरू सार्वजनिक भैरहेका छन् । आजको विज्ञान, सूचना र प्रविधिको विकासले पनि यसमा साथ दिइरहेको छ ।

आजभोलि यहाँ विभिन्नखाले दलित मुक्तिसम्बन्धी अभियानहरू सञ्चालन गर्ने होडबाजी चलिरहेको छ । विगतमा पनि यसप्रकारका अभियानहरू नचलेका होइनन् । भारतमा पनि यसप्रकारका विभिन्न नाम र तरिकाका अभियानहरू विगतमा चले र कतिपय अहिले पनि जारी छन् । पछिल्लो समयमा आएर भारतमा जस्तै नेपालमा पनि अम्बेडकरवादी अभियान चलेको देखिन्छ । दलित समुदायको पूर्ण एवम् वास्तविक मुक्ति जो उनको मुख्य सपना थियो र पूरा जीवन त्यसैका लागि समर्पित रहे, नेपालमा त्यसको समीक्षा, मूल्याङ्कन र विश्लेषण–संश्लेषण मार्क्सवादी कोणबाट अनिवार्य भैसकेको छ । अम्बेडकरको विचार पूर्ण सत्य छन्, यसलाई कोट्ट्याउनु हुन्न भन्यौँ भने त्यो दलित आन्दोलन र स्वयम् अम्बेडकरका लागि अन्यायपूर्ण, अवैज्ञानिक र दुर्भाग्यपूर्ण हुन जान्छ ।

अम्बेडकर जातीय विभेद एवम् छुवाछूतको मूल स्रोत हिन्दु धर्मलाई मान्थे । उनले पछिल्लो समयमा आएर आर्य समाज र धर्म सुधारको कुरा गरे । सन् १९४८ मा कानुनमन्त्रीको हैसियतले डा. अम्बेडकरले संविधानसभामा चर्चित हिन्दु कोड बिल प्रस्तुत गरे । अथक प्रयत्नका बाबजुद यो विधेयक पास गराउन नसकेपछि अम्बेडकरले नेहरू मन्त्रीमण्डलबाट राजीनामा दिनुपरेको थियो । Annihilation of Caste जातको विनाश) नामक रचनामा उनले दलित मुक्तिका लागि हिन्दु धर्म सुधार, जात व्यवस्थाको अन्त्य त्यसका लागि धर्मशास्त्रमाथि ‘डाइनामाइट’ लगाउने सम्मका कुरा सविस्तार चर्चा गरेका छन् । अन्तरजातीय विवाहलाई उनले छुवाछूत अन्त्य र सामाजिक–सांस्कृतिक अन्तरघुलनको उत्तम उपायका रूपमा अगाडि सारेका छन् ।

धर्म जनताका लागि अफिम हो, राज्य एउटा वर्गले अर्को वर्गमाथि दमन गर्ने हतियार हो र साम्यवादमा गएर राज्यको विलोपीकरण हुन्छ भन्ने मार्क्सको विचारप्रति अम्बेडकरको विमति रहेको छ । बरु उनी मानवजीवनमा धर्म अनिवार्य ठान्छन् । ऐतिहासिक भौतिकवादी कोणबाट भन्नु पर्दा क्रान्ति भनेको विद्यमान व्यवस्थामा मानव जातिको सर्वाङ्गीण विकासको बाटोमा अवस्थित अवरोधलाई पत्ता लगाई पन्छाउने तथा उत्पादनका साधनहरूलाई अर्को उच्च चरणमा गुणात्मक रूपले रूपान्तरण गर्ने एउटा विधि हो । त्यसैले माक्र्सका अनुसार हिंसा इतिहासको धाई हो । तर अम्बेडकरले माक्र्सवादको त्यही हिंसाको पक्षलाई अस्वीकार गरे । जनताको चेतना परिपक्व नभएसम्म हिंसाको बलमा पुरानो राज्यसत्तालाई परिवर्तन गर्न कठिन हुने र परिवर्तन गरे पनि उनले त्यो टिकाउ नहुने बताए । उनले थप भने भारतीय समाजमा हजारौँ वर्षदेखि जरा गाडेर बसेको जात र वर्णव्यवस्थाका कारण त्यहाँ मार्क्सवादको पाश्चात्य वर्गीय चेतना निर्माण, एकता र वर्गसङ्घर्ष कठिन रहेको छ । मस्तिष्क र मनको मुक्ति जनताको राजनीतिक विस्तारका लागि पहिलो आवश्यकता हो भन्दै उनले अगाडि थपे, ‘जातीय विभाजन भनेको श्रमको मात्र विभाजन होइन, यो श्रमिकको पनि विभाजन हो । त्यसैले यहाँ वर्गसङ्घर्ष सफल बनाउने हो भने पहिला जातको अन्त्यका लागि सङ्घर्ष गर्न जरुरी छ ।’ त्यसैले वर्गसङ्घर्षको क्रान्तिकारी एजेन्डामा अघि बढ्नुभन्दा पहिला भारतमा वर्णव्यवस्था र जातको अन्य गर्नुपर्ने कुराको उनले वकालत गरे । तर वर्णाश्रम जात व्यवस्थालाई सामन्तवाद, पुँजीवाद र साम्राज्यवादले संरक्षण गरिरहेकाले यसको अन्त्य नगरीकन यो समस्या समाधान कठिन छ भन्ने कुरा बुझ्न नसक्दा उनको जीवनपर्यन्तको अथक प्रयत्न हुँदाहुँदै पनि यो समस्या ज्यूँका त्यूँ कायम छ ।

अम्बेडकरको जीवनको महत्वपूर्ण देन भनेको धर्म सुधार, संविधान र कानुन निर्माण नै हो । तर पछिल्लो समयमा आएर उनी आफैँले बनाएको संविधानप्रति सन्तुष्ट हुन सकेनन् । संविधानमा उत्पीडित र दलित समुदायका पक्षमा जेजति अधिकार राख्न सफल भए त्यसपछि कार्यान्वयनको चुनौती देखियो । त्यसपछि उनी भन्न बाध्य भए, ‘यो संविधान जसका लागि बनाइएको हो त्यसको हितमा यो लागू हुन सकेन भने यो संविधान जलाउने म नै त्यो पहिलो व्यक्ति हुनेछु ।’ लखनउ विश्वविद्यालयमा एउटा सभालाई सम्बोधन गर्दै अम्बेडकरले भारतका दलित र उत्पीडितहरूको उत्थानका लागि कुनै ध्यान नदिइएमा आफू कम्युनिस्टसँग सहकार्य गर्न बाध्य हुने र त्यो देश र लोकतन्त्रका लागि दुर्भाग्य हुने बताएका थिए । यस्तै, ‘राजनीति विज्ञानीहरूको संसद्’ जलन्धरलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए, ‘भारतमा लोकतन्त्र असफल भएमा त्यसको स्थान विद्रोह, अराजकता र साम्यवादले लिनेछ ।’ सन् १९५६ मा काठमाडौँमा विश्व बौद्ध सम्मेलन समापनसत्रमा अम्बेडकरले बौद्धमार्गीहरूलाई चेतावनी दिँदै भनेका थिए, ‘कम्युनिस्ट जीवनपद्धतिले दिएको भन्दा अझ राम्रो पद्धति बुद्ध धर्मले दिएको थियो भन्ने कुरा बुद्धधर्मी देशका नयाँ पुस्ताले मूल्याङ्कन गर्न सकेनन् भने बुद्ध धर्मको पतन हुनेछ ।’ उनले के पनि भनेका थिए भने यावत् समस्याहरूको समाधान बुद्ध धर्मले दिन सकेन भने पूरा विश्व साम्यवादी बाटोमा अघि बढ्नेछ । तर बुद्ध धर्मका कतिपय नीति र उपदेशहरू राम्रा हुँदाहुँदै पनि त्यसलाई समाजमा लागू गर्ने राजनीतिक प्रणाली र विरोध भएमा त्यसलाई सुरक्षित गर्ने शक्ति नहुँदा त्यो कोरा आदर्शमा सीमित रहन गयो । बुद्धको पालामा एकपटक दासहरूलाई भिक्षु बनाएकोमा दासमालिकहरूले विरोध गरेपछि बुद्धले त्यो कार्य रोक्नु परेको प्रसङ्ग उल्लेखनीय छ ।

अम्बेडकरका विचारहरू घटनापिच्छे फेरिएका छन् । यो अर्थमा हेर्दा उनी व्यवहारवादी र प्रयोगवादी देखिन्छन् । उनका अधिकांश गतिविधिहरू सहरिया शिक्षित बुद्धिजीवीमा केन्द्रित थिए । दलितका लागि उनी कहिले छुट्टै निर्वाचन क्षेत्रको कुरा गर्छन्, कहिले आरक्षित सिटको कुरा गर्छन् । हिन्दु धार्मिक, जातीय एवम् आर्थिक संरचना र संस्कृतिका कारण मुख्यतः गाउँ केन्द्रित जमिनको सम्बन्धका कारण उनले दलितहरूको छुट्टै बसोबासको व्यवस्था गर्नेसम्मको कुरा उठाएका छन् भने कहिले दलितहरू गाउँ छोडेर सहर जानुपर्ने कुरा उठाएका छन् । भारतीय स्वतन्त्रता आन्दोलनको बेला दलित मुद्दा सम्बोधन नभएसम्म स्वतन्त्रताको अर्थ छैन भन्दा अङ्ग्रेजहरूका पक्षमा भएको भनी उनको चर्को आलोचनासमेत भएको थियो । उनले सन् १९४२ देखि १९४६ सम्म भारतीय अङ्ग्रेज भायसराय सरकारको मन्त्रिमण्डलमा श्रममन्त्री रहेर पनि काम गरे । आफ्नो जीवनको उत्तराद्र्धमा आएर उनले संसदीय लोकतन्त्रमा एउटा बलियो विपक्षी पार्टीको आवश्यकता महसुस गरेर ‘रिपब्लिक पार्टी अफ इन्डिया’ स्थापनाको परिकल्पना र तयारी गरे तर उनको निधनका कारण त्यो काम पछि सन् १९५७ मा ‘अनुसूचित जाति सङ्घ’ लाई काटछाँट गरेर बीके गायकवाडको नेतृत्वमा मात्र स्थापना हुन सक्यो । भारतीय काङ्ग्रेस पार्टीको फुटाएर राज गर्ने नीति, स्पष्ट विचारको अभाव र नेतृत्वमा देखापरेको निम्नपुँजीवादी अवसरवादी प्रवृत्तिका कारण उक्त पार्टी सन् ७० को दशकसम्म आउँदा ७ वटा गुटमा विभाजित भयो । यसको एउटा धार पछि गएर कासीरामको नेतृत्वमा संसदीय चुनावी पार्टीमा सीमित हुन पुग्यो भने यसबाट अलग भएका केही युवा विद्रोही समूहले ‘दलित प्यान्थर्स’ को नामले छिटपुट सशस्त्र गतिविधि गरे पनि पछि हराएर गयो । यद्यपि काङ्ग्रेसको सहयोगमा संविधान मस्यौदा समितिको अध्यक्ष र कानुनमन्त्री भएर विचार र सिद्धान्तबिनाको अवसरको राजनीतिको बीजरोपण स्वयम् अम्बेडकरले गरेका थिए । अझ अर्को शब्दमा भन्नुपर्दा भारतीय संविधान निर्माताका रूपमा अम्बेडकरलाई अगाडि सारेर सामन्त तथा पुँजीवादी नेतृत्व वर्ग (गान्धी, नेहरूलगायत) ले दलित समुदायलाई सदाका निम्ति दलित बनाइराख्ने पुँजीवादी संसदीय व्यवस्था र संविधान निर्माण गरे ।

सन् १९५२ को आमचुनाव र १९५४ को उपचुनावमा हारेपछि अम्बेडकर आफ्नै नीति–कार्यक्रम र कार्यशैलीको समीक्षा गर्न बाध्य भए । गौतम बुद्ध, सन्त कबिर र ज्योतिबा फुलेको छुवाछूतविरोधी विचार र कार्यबाट प्रभावित उनी सन् १९२५ पछि मात्र राजनीतिक गतिविधिमा सक्रिय भएका थिए । सन् १९२७ को ‘महाड सत्याग्रह’ द्वारा दलित समुदायलाई समान नागरिक अधिकार, १९३२ मा दलित समुदायका लागि छुट्टै आरक्षित सिटको व्यवस्था र संविधान निर्माण उनको जीवनकालका महत्वपूर्ण कामहरू हुन् । निःसन्देह जीवनको उत्तराद्र्धमा अम्बेडकर आफूले जीवनपर्यन्त गरेको सङ्घर्षको अनपेक्षित परिणाम देखेर निराश भएका थिए । उनले राजनीतिक पार्टीको माध्यमबाट आफ्नो अधिकार प्राप्तिको सङ्घर्षलाई अगाडि बढाए पनि त्यो त्यति प्रभावकारी हुन सकेन । उनको स्वतन्त्रता, समानता र भाइचारामा आधारित आदर्श राज्यको परिकल्पना, संवैधानिक र कानुनी माध्यमबाट हिन्दु धर्म र समाज सुधारको प्रयत्न विफल भएपछि बुद्ध धर्मको शरणमा जानु उनको निराशाकै कदम मान्न सकिन्छ । स्वतन्त्रता, समानता र भ्रातृत्वसहितको आदर्श राज्यसम्बन्धी अम्बेडकरको सिद्धान्त उनले बुद्धको शिक्षाबाट लिएको भनिए पनि यसको स्रोत फ्रान्सेली क्रन्तिको हो जो पछि गएर युरोपेली उदार बुर्जुवा वर्गको सैद्धान्तिक आधार बन्यो ।

एकातिर उनी धर्मलाई आवश्यक ठान्छन् भने अर्कोतिर संसारमा कुनै पनि कुरा स्थिर छैन भन्ने अध्यात्मवाद र धर्मविरोधी कुरा गर्छन् । अम्बेडकरका यी विचारहरू गौतम बुद्धबाट प्रभावित भएको देखिन्छ । यसको जोड उत्प्रेरणा, नैतिक शिक्षा र प्रेमको माध्यमबाट मान्छेको विचार र मन परिवर्तन गरेर आफ्नो कुरा लागू गराउने भन्ने थियो । यसले थप वैज्ञानिक एवम् निरन्तर विकासको माग गथ्र्यो जुन हुन नसक्दा कालान्तरमा आएर त्यो जड धार्मिक सूत्रका रूपमा सीमित हुन गयो । यो दृष्टिले हेर्दा उनी माक्र्सभन्दा धेरै पश्चगामी र अवैज्ञानिक छन् । यसो हुनमा उनलाई उनको आदर्शवादी दृष्टिकोणले प्रभाव पार्यो । अम्बेडकरको विचार बेलायतको फेबियन समाजको विचारबाट प्रभावित रहेको देखिन्छ । फेबियन समाजले क्रान्तिविना लोकतान्त्रिक समाजवाद निर्माण गर्ने वकालत गर्दछ ।

आज भारतमा संसदीय व्यवस्था र आरक्षण असफल सिद्ध भैसकेको छ । अम्बेडकरको दलित मुक्तिको तरिका पनि सफल हुन सकेन । सुरुमा उनले राजनीति र राजनीतिक पार्टीबाट पृथक स्वतन्त्र छुवाछूतविरोधी जागरण अभियान चलाए । राजनीतिक पार्टी आवश्यक हुँदो रहेछ भन्ने कुरा उनले ढिलो गरी बुझे । अझ पुँजीवादी संसदीय पार्टीबाट परिवर्तन र दलित मुक्ति त झन् कठिन छ भन्ने कुरा उनले बुझ्नै सकेनन् । परिणामस्वरूप भारतमा दलित समस्या समाधान हुन सकेन । मुख्य समस्या राज्य व्यवस्थामा हो र यसलाई परिवर्तन गर्नेतर्फ भन्दा धर्म परिवर्तनजस्तो कुरामा अल्मलिए । त्यसकारण अम्बेडकरको विचारलाई हुबहु नेपालमा प्रचार गर्नु वा स्थापित गर्न खोज्नु भनेको असफल भैसकेको, बासी र पुरानो विचार नेपालमा लादेर देश र जनतालाई ५० वर्ष पछाडि धकेल्नु हो । यो त स्वयम् अम्बेडकरका निम्ति पनि अन्याय हुन जान्छ । सही र न्यायपूर्ण त के हुन्छ भने उनको जीवन र कामको सही मूल्याङ्कन गरेर राम्रो कामको अनुसरण र गलत कुराको परित्याग वा कोर्स करेक्सन गर्नु पर्दछ ।

मार्क्स र अम्बेडकरका बीचमा तुलना हुनै सक्दैन । मार्क्स कम्युनिस्ट र अम्बेडकर कट्टर कम्युनिस्टविरोधी । यी दुई अलगअलग सिद्धान्त र विचारधाराका व्यक्ति हुन् । अम्बेडकर पुँजीवादी विचार र व्यवस्थाको वकालत गर्थे । आजको विश्वका यावत् समस्याहरू पुँजीवाद र वैज्ञानिक समाजवादमध्ये कुन विचारले समाधान गर्छ भन्ने कोणबाट बहस गर्न जरुरी छ । दक्षिणएसिया विशेषगरी भारत र नेपालमा विद्यमान दलित समस्या वर्गीय समस्याकै एउटा भिन्न रूप हो । मार्क्सवादले संसारका सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य उत्पीडित वर्गको राज्यसत्ता निर्माणसँग जोडेर हेर्नुपर्ने कुरा गरेको छ । अम्बेडकरले राज्यसम्वन्धी धारणामा आफू कम्युनिस्टको साम्यवादी लक्ष्यमा धैरै कुरामा सहमत रहेको र विमति त्यसलाई प्राप्त गर्ने तरिकामा रहेको बताएका छन् । ब्राह्मणवादविरुद्धको लडाइँलाई धार्मिक आवरणबाट निकालेर राजनीतिक तहमा उठाउने व्यक्ति निःसन्देह अम्बेडकर थिए । सम्भवतः आजको परिस्थितिमा अम्बेडकर जीवित भैदिएको भए उनी मार्क्सवादी अर्थात् कम्युनिस्ट हुन्थे होला । कुनै पनि पार्टीको नाम कम्युनिस्ट राख्दैमा त्यो असली कम्युनिस्ट पार्टी हुन सक्दैन । भारतमा तत्कालीन अवस्थामा विद्यमान कम्युनिस्ट पार्टीको विचार र व्यवहार हेरेर अम्बेडकरले आफ्नो धारणा बनाएका थिए । त्यतिखेर त्यहाँका कम्युनिस्ट पार्टीहरू कति असली कम्युनिस्ट थिए भन्ने कुरा समीक्षाको विषय होला । कुनै देशमा कुनै पार्टीको आधारमा मात्रै सिङ्गो कम्युनिस्ट विचार, सिद्धान्त, वैज्ञानिक समाजवादबारे धारणा बनाउन सकिन्न, हुँदैन । वर्णाश्रम जात व्यवस्था पनि शोषण, उत्पीडन र विभेद अर्थात् वर्गीय उत्पीडनकै अर्को रूप भएकाले यसको समाधान समग्र वर्गीय मुक्ति आन्दोलनभन्दा पृथक राखेर हेर्न सकिंँदैन । वर्गको कुरा गर्दा केही मानिसहरू यसलाई मात्र सम्पत्ति भएका र नभएका मानिसहरूसँग जोडेर व्याख्या गर्छन् । निःसन्देह वर्गको जन्म प्रारम्भमा निजी सम्पत्तिको सुरुआतसँगै भएको हो । तर वर्गको प्रश्न सम्पत्ति हुने र नहुनेसँग मात्रै सीमित छैन । यो त विचारसँग जोडिएको छ । वर्ग भनेको शोषण गर्ने, विभेद गर्ने, दमन गर्ने, अन्याय गर्ने वा यसका विरुद्ध विद्रोह गर्ने विचारसँग सम्बन्धित छ ।

यो समाजमा दुईवटा विचार र दृष्टिकोण रहेका छन् : एउटा वैज्ञानिक र अर्को अवैज्ञानिक । एउटा शोषकहरूको र अर्को शोषितहरूको । दास युगमा दास र मालिक वर्ग, सामन्ती युगमा किसान र सामन्त वर्ग एवम् पुँजीवादी युगमा मजदुर र पुँजीपति वर्ग । शासकहरूले एउटा सीमित शोषक वर्गलाई हित गर्ने विचार, सिद्धान्त, राज्यप्रणालीलगायत सबै कुरा निर्माण गरे र गरिरहेका छन् । विभिन्न जाति, लिङ्ग र समुदायमा भएका मानिसहरू जानअन्जानमा शोषकहरूको विचार र राज्यव्यवस्थाका पक्षमा रहेकाहरू सम्पत्ति नभए पनि शोषकहरूकै पक्षमा हुन्छन् र शोषणमूलक विचार र राज्यव्यवस्थालाई परिवर्तन गर्नुपर्छ र शोषितहरूलाई मुक्त गर्नुपर्छ भन्ने विचार आत्मसात गर्नेहरू सम्पत्तिवालाहरू पनि वर्गीय रूपमा मजदुर, किसान, सर्वहारा एवम् उत्पीडित वर्गकै पक्षमा हुन्छन् । मार्क्सका अनन्य मित्र एङ्गेल्स यसको राम्रो उदाहरण हुनुन्छ । आज ब्राह्मणवादविरुद्ध लड्न साम्राज्यवादसँग लड्नुपर्ने हुन्छ । आज ब्राह्मणवाद, सामन्तवाद, पुँजीवाद र साम्राज्यवाद एकीकृत भएर आएका छन् । यसलाई परास्त गर्नका लागि मार्क्सवाद–लेनिनवाद–माओवादले मात्र पुग्दैन । अब हामीले पनि एकीकृत तरिका अवलम्बन गर्नुपर्छ र वर्गसङ्घर्षसँग जातीय मुक्ति आन्दोलनलाई सँगसँगै अघि बढाउनुपर्छ ।

मार्क्सवाद जन्मिनुभन्दा पहिला पनि संसारमा शोषण र अन्यायका विरुद्ध विद्रोह र सङ्घर्ष नभएका होइन् तर ती सबै एक्लाएक्लै भएका थिए । पहिलोचोटि मार्क्सले ‘संसारका मजदुरहरू एकजुट होऔँ’ भन्ने नारा दिएर सबै शोषित–पीडित जनतालाई एकताबद्ध भएर सङ्घर्ष गर्ने बाटो देखाउनुभयो । शोषक वर्गका शासकहरूले जहिले पनि जनतालाई विभिन्न जात, धर्म, लिङ्ग, समुदाय आदिमा फुटाएर आफ्नो लुटको स्वर्ग बचाउँदै आएका छन् । जुनसुकै जाति, धर्म वा समुदाय भए पनि मुठीभर शोषक वर्गका विरुद्ध सबै शोषित र उत्पीडित वर्ग मिलेर सङ्घर्ष गर्नुलाई नै वर्गसङ्घर्ष भनिएको हो । अब यसमा ‘संसारका उत्पीडित र श्रमजीवी जनता एकजुट होऔँ’ भन्ने नारा दिन जरुरी छ । अबको दलित आन्दोलनलाई दलित समुदायको मात्र होइन, हाम्रो मुद्दामा सकारात्मक गैरदलितहरूसँग एकाकार गर्न जरुरी छ र दलित मुक्तिको मुद्दा प्राथमिक विषय बनाउन आवश्यक छ । अर्थात् यसलाई वर्गीय मुद्दा बनाउन जरुरी छ । यो कुरा सच्चा कम्युनिस्ट विचार र पार्टीले मात्र गर्न सक्छ । आजको दुनियाँमा सबैखाले शोषण र विभेदबाट मुक्तिको एक मात्र बाटो एकीकृत कम्युनिस्ट क्रान्ति हो र उत्तम व्यवस्था ‘वैज्ञानिक समाजवाद’ हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :