सिस्ने खोला दुर्घटनामा परि मृत्युु भएकाप्रति नेकपा दाङद्वारा श्रद्धाञ्जली व्यक्त

सिस्ने खोला दुर्घटनामा परि मृत्युु भएकाप्रति नेकपा दाङद्वारा श्रद्धाञ्जली व्यक्त

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले भदौ १६ गतेका दिन घोराही–लमही सडक अन्तर्गत पर्ने सिस्नेखोलाको भेलले गाडी बगाउँदा गाडीमा सवार मृतकहरू र गाडी चालक घाइते भएको घटनाले पार्टीलाई निकै स्तब्ध र गम्भीर बनाएको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले बिहीबार एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्युवरण गर्ने घोराही– १६ निवासी ३२ वर्षीय शुसिला श्रेष्ठ, ३० वर्षीय राधा श्रेष्ठ, घोराही–१३ निवासी ४० वर्षीय रितमाया पुन र घोराही–१४ निवासी ४२ वर्षीय बिमला केसीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै गाडी चालक घाइते नरबहादुर पुनको सिघ्र स्वास्थ्यलाभको कामना गरिएका छन् ।

सेक्रेटरी प्रदिपद्वारा हस्ताक्षरित शोक वक्तव्यमा निर्माण व्यवसायी (ठेकदार) को चरम लापरवाही तथा राज्यको उदासिनताको कारणले गर्दा यो कहालीलाग्दो दुर्घटना व्यहोर्नुपरेको उल्लेख गरिएको छ । निर्माण कार्यको जिम्मा लिएको निर्माण व्यवसायीको ढिलासुस्ती र सरकारको लाचारी एवम् फितलो कानुनका कारणले यस्ता काममा सम्बन्धित पक्षले जे–जे गरेपनि टुलुटुलु हेरेर बस्ने र दण्ड सजाय नहुँदा यो दर्दनाक घटना हुन पुगेको जारी वक्तव्यमा उल्लेख गरिएको छ । यस्तै सिस्ने खोला लगायत यस्तै अवस्थाका अन्य खोलाहरूमा निर्माण भइरहेका पुलहरू छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै अझैँपनि यो आग्रहलाई बेवास्ता गरिएमा त्यसको जवाफ जनताले दिने वक्तव्यमा चेतावनी दिइएको छ । दाङका अन्य खोलाहरूमा पुल नहुँदा जनताले धेरै सास्ती व्यहोरिरहेकाले ती खोलाहरूमा पनि तत्काल पुल निर्माण कार्य सम्पन्न गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई नेकपा दाङले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :