संशोधनवादमाथि धावा बोल्ने क्रान्तिका पक्षपोषक गजलहरू

स्रष्टा मित्र रगवीरले गजलसङ्ग्रह इमेल गरिदिँदै भन्नुभयो, ‘एउटा छोटो भूमिकाको अपेक्षा गरेको थिएँ ।’ सक्तिनँ भनूँ, प्रगतिशील र प्रगतिवादी सिर्जनामाथि दलाल पुँजीवादी सत्तासङ्कट मडारिइरहेको समयमा प्रगतिशील साहित्यको चर्चा गर्ने विषय छ, सक्छु भनौँ समयको चाप र कोरोना भाइरस सङ्क्रमणले थिलथिलो पारेकाले स्वास्थ्यको प्रतिकूलता छ । बडो असमञ्जसमै ‘संशोधनवाद’ शीर्षकको राजनीतिक गजलसङ्ग्रहबारे सङ्क्षिप्तमा सामान्य चर्चा गर्ने कर्तव्य पूरा गर्दैछु ।

नेपाली प्रगतिशील, प्रगतिवादी वा मार्क्सवादी कुनै पनि धारामा गजल विधाले हस्तक्षेपकारी उपस्थिति जनाएको पाइँदैन । यस धारामा गजलको खासै चर्चा र महत्व पनि देखिँदैन । यद्यपि सिर्जनाको एउटा विधा हुनुको नाताले र यदाकदा मार्क्सवादी स्रष्टाहरूले पनि कलम चोबेका कारण परिचर्चा गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ, हुँदो रहेछ । नेपाली साहित्यको माध्यमिक कालमा मोतीराम भट्टहरूले यस विधालाई प्रेमाभिव्यक्ति र रसानुभूतिका रूपमा खुब प्रयोग गरे । उर्दू, फारसी, हिन्दी साहित्यमा पनि यसको धेरै प्रयोग भयो तर नेपाली माक्र्सवादी साहित्यमा यसले सम्मानित स्थान लिन सकेको पाइँदैन । सिकारु, बालवयका र प्रतिरोधी कित्ताका स्रष्टाले सस्ता प्रेमकहानीमा बढी प्रयोग गदै आएको धूमिल छवि र इतिहास बोकेको यस विधामा एक पाका स्रष्टाको कलम चलेको छ र त्यो पनि प्रगतिशील दृष्टिकोणसहित । त्यसैले यो चर्चाको विषय बनेको छ ।

यस सङ्ग्रहका केही विशेषतालाई बुँदागत रूपमा प्रस्ट पार्न चाहन्छु–

१) राजनीतिक विषयवस्तु

२) संशोधनवादका विविध स्वरूपको भण्डाफोर

३) क्रान्तिविरोधी, धोकेबाज र अवसरवादी प्रवृत्तिप्रति चरम घृणा

४) क्रान्तिबोध

५) क्रान्तिकारी आशावादका माध्यमबाट क्रान्तिको पक्षपोषण

एकीकृत जनक्रान्ति आरम्भ भएपछि कृतिगत रूपमा मैले फेलापारेको यो दोस्रो प्रगतिशील गजलसङ्ग्रह हो । यसअघि मैले मार्क्सवादी युवा कवि बीपी विद्रोहीको राजनीतिक अर्थात् क्रान्तिकारी गजलसङ्ग्रह अध्ययन गर्ने अवसर प्राप्त गरेको थिएँ ।

‘संशोधनवाद’ पुस्तकको शीर्षक नै राजनीतिक छ । गजल नभन्ने हो भने शीर्षकले राजनीतिक विषयको पुस्तक भन्ने भान पार्छ । त्यसैले पनि यो गजलसङ्ग्रह राजनीतिक विषयद्वारा प्रेरित छ भन्नेमा विमति हुन सक्तैन । गजलका हरेक शीर्षक र विषयवस्तु राजनीतिबाट प्रेरित छन् । कहीँ बिम्ब र प्रतीकको प्रयोग गरेर र अधिकांश स्थानमा अभिधात्मक रूपमै कम्युनिस्ट आन्दोलनभित्र छिरेर हालीमुहाली गरिरहेका संशोधनवादी, अवसरवादी, गद्दार र धोकेबाज प्रवृत्तिको उछित्तो काढिएको छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालकै कम्युनिस्ट आन्दोलनमा पनि निरन्तर र सबैभन्दा धेरै प्रभाव पारेको संशोधनवाद वा अवसरवादका बारेमा हरेक कोण र हरेक विधाबाट भण्डाफोर हुनु आवश्यक थियो । गजलका माध्यमबाट पनि यो काम सुरु भएको छ । यो राम्रो पक्ष हो । जस्तै पुरस्तकको शीर्षक बनेको पहिलो गजलमै भनिएको छ :

कम्युनिस्टको खोल मात्र ओडिदिने संशोधनवाद
कम्युनिस्टलाई टुक्रैटुक्रा फोडिदिने संशोधनवाद
मार्क्सवादको विकास गर्ने झूट्टा बहाना बनाउँदै
समाजवादलाई पुँजीवादमा मोडिदिने संशोधनवाद ।

वास्तवमा सङ्ग्रहका एक सय चारवटै राजनीतिक गजलहरू यही संशोधनवादको भण्डाफोर गर्न र क्रान्तिको पक्षपोषण गर्ने उद्देश्यमा केन्द्रित र लक्षित छन् । पहिलो गजलमै गजलकार भन्छन् :

मार्क्सवादलाई देखाउने दाँत मात्र बनाउँदै
कम्युनिस्टको सिद्धान्त–विचार छोडिदिने संशोधनवाद
बोलीमा मात्र जनतालाई साम्यवादको सपना बाँड्दै
पुँजीवादको वृक्षलाई गोडिदिने संशोधनवाद ।

संशोधनवाद क्रान्तिकारी कम्युनिस्ट आन्दोलनकै ‘बाइप्रोडक्ट’, कचरा अर्थात् फोहोर हो । यो बिग्रेका कम्युनिस्टहरूलाई दिइने उपनाम, गाली वा सम्बोधन गर्ने उचित शब्द पनि हो । संशोधन गर्नुको सीधा अर्थ फेर्नु वा बदल्नु हो । राजनीतिमा संशोधनवादीहरूले नीति, विचार र सिद्धान्तलाई आफ्नो स्वार्थ र अनुकूलतामा फेरिदिन्छन् । कुनै कुराको विकास गर्नु राम्रो हो तर सक्कली सामान हो भनी झुक्याएर सक्कली सामानकै नाउँमा अर्को नक्कली सामान बनाएर बिक्री गर्नु कालोबजारी वा उपभोक्तामाथिको अपराध भएजस्तै यो राजनीतिक अपराध वा बेइमानी हो । राजनीतिमा, अझ मार्क्सवादी राजनीतिमा, दर्शनमा, विचारमा र व्यवहारमा सुधारवादी, संशोधनवादी, छद्म र प्रतिक्रान्तिका मतियार वा प्रतिक्रियावादीहरूप्रति बफादार पात्र/समूहहरूले मार्क्सवादलाई संशोधन गरे र खोटा सिक्काको कारोबार गर्न थाले । त्यसपछि राजनीतिमा संशोधनवाद पदावली चर्चामा आयो । संशोधनवादी प्रवृत्तिलाई चमेरे प्रवृत्ति, छेपारे प्रवृत्ति पनि भनिन्छ । ‘चेमेराको’ शीर्षक गजलमा गजलकार भन्छन् :

देशको हीरा–मोती सबै विदेशमा पुर्याउँदै
अपराधी र माफियाको मति हुन्छ चमेराको ।
साम्राज्यवाद र विस्तारवादलाई गोप्य कुरा बिक्री गर्दै
दलालको बुद्धि पशुजति हुन्छ चमेराको ।
देश अनि जनतालाई घात–प्रतिघात गर्दै
तलदेखि माथिसम्म खती हुन्छ चमेराको ।

जसरी एउटा कारखानामा सामान उत्पादन गर्दा एकातिर सामान र अर्कातिर कचराहरू निस्किन्छन्, आन्दोलनका क्रममा संशोधनवाद र अवसरवाद पनि तिनै कचराका रूपमा उत्पन्न हुन्छन् । नेपालको मात्र नभएर संसारकै कम्युनिस्ट आन्दोलनमा यो प्रवृत्ति छ र त्यसको बोलवाला बढेको छ । खेतमा झाँगिएको धानजस्तै देखिने र झुक्याउने सामा हो यो संशोधनवाद । समानतामूलक समाजवादी–साम्यवादी समाज निर्माण गर्ने नारा र उद्देश्य बोकेर व्यवहारमा त्यसका विरुद्ध अर्थात् व्यक्तिगत लाभका लागि शोषक वर्गसामु लम्पसार पर्नु र आफ्नो वर्गलाई धोका दिएर आफ्नो व्यक्तिगत वा गुटगत वर्गउत्थान गर्नु यसको विशेषता हो । यी गजलहरू पढ्दै जाँदा हाम्रो आन्दोलनमा घुसेका पुष्पकमल दाहाल, बाबुराम भट्टराई र रामबहादुर थापाहरूको अनुहारको झझल्को आउँछ । गजलकार भन्छन् :

कमिसन र भ्रष्टाचारलाई संस्थागत विकास गर्दै
निजीकरण र उदारवादलाई जोडिदिने संशोधनवाद
मानव मूल्य र मान्यतालाई तोडिदिने संशोधनवाद
जसले जता भन्छ उतै दौडिदिने संशोधनवाद ।

कुनै पनि विषयको सार वा उद्देश्यलाई आफ्नो स्वार्थअनुकूल बङ्ग्याउनु, संशोधन गर्नु, दुरूपयोग गर्नु संशोधन हो र त्यसलाई सिद्धान्तकै जलप दिनु संशोधनवाद हो । अरू विचारसमूहहरूमा पनि संशोधनवादको प्रभाव परेको हुन्छ तर कम्युनिस्ट आन्दोलनमा यसको धेरै नै नकारात्मक प्रभाव रहेकाले यसले बढी असर गरेको छ । सारमा सबैखाले शोषण, दमन र विभेदको अन्त्यका लागि मालेमालाई पथप्रदर्शक सिद्धान्त बनाएर शोषक वर्गविरुद्ध हतियारबद्ध युद्ध गर्दै आएका क्रान्तिकारी कम्युनिस्ट विचार, पार्टी, सङ्गठन र सिद्धान्तलाई क्रान्तिका कायर, डरपोक र अवसरवादी तत्वहरूले संशोधन गरेर, बङ्ग्याएर, तोडमोड गरेर वर्गसमन्वयवादी बनाएपछि संशोधनवाद क्रान्तिको बाधक विचार र व्यवहारका रूपमा अभिव्यक्त हुँदै आएको छ । यसै विषयलाई गजलकारले आफ्नो सङ्ग्रहभरिका गजलहरूमा मिहीन ढङ्गले उजागर गरेका छन् । ‘पाखण्डीले’ शीर्षक गजलमा गजलकार भन्छन् :

युद्धबाट स्वार्थ पूरा गराइलियो पाखण्डीले
आफ्ना लागि जनतालाई लराइ (लडाइ) दियो पाखण्डीले
आखिर आफू फर्किएर संसद्‌वादमै जानु रैछ
जनवादी सहिद बन्न अराइदियो पाखण्डीले
आखिर आज आफू आत्मसमर्पण गर्ने रैछ
मुक्ति वा मृत्यु भन्दै जनता चराइदियो पाखण्डीले
आखिर आज साम्राज्यवादको मुख्य दलाल बन्नु रैछ
एउटा युगको आत्मबल झराइदियो पाखण्डीले ।
आखिर आज संशोधनवादमा घुस्रिएर मिल्नु रैछ
सत्र हजार जनता त्यसै मराइदियो पाखण्डीले ।

असल वा क्रान्तिकारी कम्युनिस्ट बिग्रिएपछि ऊ संशोधनवादी बन्ने हो । क्रान्तिकारी आदर्शलाई धान्न नसकेपछि एकएकवटा बहाना बनाउँदै आन्दोलनबाट पलायन हुने क्रममा सुधारवादी, क्रान्तिविरोधी, पलायनवादी बाटो समातेपछि ऊ संशोधनवादी बन्ने हो । विभिन्न स्वार्थका कारण आवरणमा कम्युनिस्ट पनि देखिनुपर्ने र व्यवहार कम्युनिस्टको कर्म गर्न नसक्ने भएपछि क्रान्तिकारी आदर्श, सिद्धान्त र विचारलाई तोडमोड गर्दा संशोधनवाद जन्मिने हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा श्रमिक वर्ग र देशभक्तहरूसँग स्वार्थ बाझेर शोषक वर्ग र राष्ट्रघातीहरूसँग स्वार्थ मिलेपछि संशोधनवादी बन्ने हो । संशोधनवाद अवसरवादका रूपमा अभिव्यक्त हुन्छ । कम्युनिस्ट आदर्शबाट च्यूत भएपछि मानिस संशोधनवादी, अवसरवादी र क्रमशः प्रतिक्रियावादी वा शोषक वर्गीय बन्छ । नेपालमा संशोधनवादी, अवसरवादी, पलायनवादी विचार र पात्रहरूलाई दलाल, गद्दार, हरियो सर्प, छेपारोलगायत शब्दहरूको उपमा दिने गरिएको छ । यस कृतिमा गजलकारले पनि संशोधनवादीहरूलाई हरियो सर्प, छेपारो, मुखुन्डोधारी, लालुपाते, गंगटोलगायत उपमा दिएका छन् । सङ्ग्रहमा बिचरा धेरै जीवजन्तु पनि अवसरवादी आरोपित भएका छन् संशोधनवादका कारण । संशोधनवादकै कारण कम्युनिस्टजस्तो गौरवशाली शब्द र कर्म पनि आरोपित बनेको छ । ‘कम्युनिस्ट’ शीर्षक गजलमा गजलकार भन्छन् :

धानमा आएको पपटोझैँ बनिदिने कम्युनिस्ट
गर्भबिनै बच्चा पाउन कनिदिने कम्युनिस्ट
पुँजीवादको नर्कतिर पाइला अघि बढाउँदै
साम्यवादमा पुग्ने नै हो भनिदिने कम्युनिस्ट
जनतालाई समाजवादको झूट्टा सपना देखाउँदै
पुँजीवादको बाटो मात्र खनिदिने कम्युनिस्ट
चुनाव आउँदा स्वर्ग पुग्ने सपनाहरू मात्र बाँड्दै
माउले चल्ला ननिकाल्दै गनिदिने कम्युनिस्ट ।

कम्युनिस्ट विचार, सिद्धान्त र आदर्श नै शोषणविहीन समानतामूलक राज्यविहीन राज्य अर्थात् साम्यवादको निर्माण हो । व्यक्तिगत सम्पत्तिको अन्त्य र उच्च विचार, आदर्श र व्यवहारसहितको सामूहिकता नै कम्युनिस्ट नैतिकता र आदर्श हो तर कम्युनिस्ट आदर्शमा टिक्न, अडिन र अघि बढ्न नसकेपछि विभिन्न बहाना बनाएर पलायन हुनु तर शब्द, ब्यानर र मुखुन्डोचाहिँ कम्युनिस्टकै पहिरिनुचाहिँ संशोधनवाद र अवसरवाद हो । गजलकारले गजलभरि यही विषयको उजागर गरेका छन् । ‘रैछ’ शीर्षकको गजलमा उनी भन्छन् :

जन्मसँगै मृत्यु साथमा ल्याउँदा मान्छे मर्दो रैछ
क्रान्तिभित्र संशोधनवादले प्रतिक्रान्ति गर्दो रैछ
क्रान्ति भन्दै संशोधनवाद नेतृत्वमा पुगेपछि
क्रान्ति पनि थाहै नपाई प्रतिक्रान्तिमा झर्दो रैछ

मूल विषयलाई आफ्नो स्वार्थ मिल्ने गरी बङ्ग्याउने, सिर्जनशील विकासका नाउँमा पलायनको बाटोतर्फ रूपान्तरण गर्ने, उल्टो दिशातिर जाने वातावरण बनाउने र जाने, क्रान्ति, शौर्य, वीरता र बलिदानको आदर्शबाट च्यूत हुँदै प्रतिध्रुवीय विचारलाई सहयोग पुग्ने बाटोतिर जाने, संशोधनवादी, क्रान्तिविरोधी, पलायनवादी बाटो हिँडिसकेर पनि पनि आफूलाई कम्युनिस्ट शब्दले नै महिमामण्डित गर्दै हिँड्ने हुनाले संशोधनवाद र संशोधनवादीहरूलाई विकृत, कुरूप र बीभत्स बिम्बयुक्त शब्दले सम्बोधन गर्ने गरिएको पाइन्छ । गजलकारले पनि संशोधनवाद र संशोधनवादीहरूलाई त्यस्तै विद्रुप बिम्बहरू प्रयोग गरेर चित्रण गरेका छन् । जस्तै ‘हरियो सर्प’ शीर्षक गजलमा उनी भन्छन् :

नदेख्ने गरी हरियो घाँसमा लुकिदिने हरियो सर्प
जनतालाई खालि विष फुकिदिने हरियो सर्प
बिरालोले मुसोलाई सधैँ ढुकेजस्तो गरी
सधैँभरि अवसर मात्र ढुकिदिने हरियो सर्प ।

अवसरवाद, धोकावाद वा छलछामवाद नै संशोधनवाद हो । दर्शन, विचार, आदर्श, राजनीति, आस्थाको तोडमोडबाट मात्र जन्मिने शास्त्र हो यो । आदर्शबाट पतन भएपछि मात्र यो घोर पलायन र रसातलको मार्गमा पुग्न सम्भव हुन्छ । आदर्शबाट च्यूत हुनु, सङ्घर्षको दर्शनबाट पतन हुनु, आस्था र निष्ठाबाट पलायन हुनु, क्रान्न्ति/युद्धको मार्गबाट कायर बन्नु, क्रान्तिकारी आदर्शबाट स्खलित हुनु संशोधनवादी हुनु हो । ‘पुगेपछि’ शीर्षक गजलमा लेखक भन्छन् :

आन्दोलन र क्रान्तिमा जेल, नेल खाए पनि
रिमोटबाट चल्ने ठाउँमा सर्ने पदमा पुगेपछि ।
साम्राज्यवाददेखि सधैँ डर्ने पदमा पुगेपछि ।
कुम्लो कसी सात समुद्र तर्ने पदमा पुगेपछि ।

यसरी संशोधनवाद शीर्षक गजलसङ्ग्रहको शीर्षक मात्र सार्थक छैन, विद्यमान विश्वकम्युनिस्ट आन्दोलनमा घुसेको यो चरम अवसरवादी चिन्तनमाथि प्रहारका दृष्टिले पनि कृति सार्थक छ ।

यसरी संशोधनवाद शीर्षक गजलसङ्ग्रहको शीर्षक मात्र सार्थक छैन, विद्यमान विश्वकम्युनिस्ट आन्दोलनमा घुसेको यो चरम अवसरवादी चिन्तनमाथि प्रहारका दृष्टिले पनि कृति सार्थक छ । जस्तै गजलकार ‘मुखुण्डोमा’ शीर्षक गजलमा भन्छन् :

संशोधनवाद जनतासामु आउँछ क्रान्ति–मुखुण्डोमा
मन छुने गीतहरू गाउँछ क्रान्ति–मुखुण्डोमा ।
तराईदेखि हिमालसम्म सानातिना काम गर्दै
मेचीदेखि महाकाली छाउँछ क्रान्ति–मुखुण्डोमा

यो कृतिले संशोधनवाद, पलायनवाद अर्थात् निराशा र अवसरवादमाथि प्रहार मात्र गरेको छैन, जारी क्रान्तिप्रति आशा जगाउँदै एकीकृत जनक्रान्तिको सार्थकता पनि प्रमाणित गरेको छ । ‘एकीकृत’ शीर्षक गजलमा गजलकार भन्छन् :

सबै जाति, वर्ग, क्षेत्र गर्नुपर्छ एकीकृत ,
न्याय अनि समानता छर्नुपर्छ एकीकृत ।
क्रान्तिकारी सङ्घर्षलाई विजयमा पुर्याउन
संशोधनवादसँग सबै लड्नुपर्छ एकीकृत ।
समाजवाद हुँदै साम्यवादसम्म पुग्नलाई
सबै जाति, वर्ग, क्षेत्र, गर्नुपर्छ एकीकृत
न्याय अनि समानता छर्नुपर्छ एकीकृत
क्रान्तिकारी सङ्घर्षलाई विजयमा पुर्याउन
संशोधनवादसँग सबै लड्नुपर्छ एकीकृत ।
समाजवाद हुँदै साम्यवादसम्म पुग्नलाई
आन्दोलनको जँघारमा तर्नुपर्छ एकीकृत ।
असमान सन्धि गराई उपनिवेश गर्न खोज्ने
जनघात र राष्ट्रघात टर्नुपर्छ एकीकृत ।
कालोबजारी, कमिसन र भ्रष्टाचार बढाउने
जनता र देशका लुटेरा डर्नुपर्छ एकीकृत ।
संसद्‌वाद र पुँजीवाद संसारबाटै खारेज गरी
वैज्ञानिक समाजवादमा सर्नुपर्छ एकीकृत ।
जनताका समस्याहरू हर्नुपर्छ एकीकृत
सुख, शान्ति, समृद्धिले भर्नुपर्छ एकीकृत ।

अन्त्यमा यस सङ्ग्रहभित्र संशोधनवादलाई अभिव्यक्त गर्ने केही गजल–टुक्राहरू उद्धृत गर्दै यो छोटो परिचर्चा यहीँ टुङ्ग्याउँछु । यो सङ्ग्रहको उचित मूल्याङ्कन र समीक्षा हुने आशा र विश्वास पनि प्रकट गर्दछु :

सहिद भन्छन् हाम्रो जीवन काल बनाइदियौ किन ?
सधैँ आँसु र रगतको खाल बनाइदियौ किन ?
आखिर उही पुँजीवादको खालमा डुब्नु थियो भने
जुनी–जुनीसम्म हामीलाई गाल बनाइदियौ किन ? (दियौ किन)
मल, माटो र माली पाउँदा हर्किजाने लालुपाते
अलिकति बढेपछि लर्किजाने लालुपाते ।
आफ्नो शिरमाथि कुनै बज्रपात पर्दाखेरि
असन्धारा आँसु बगाई धर्किजाने लालुपाते । (लालुपाते)
एउटा नदी किनारमा लर्किएको बेतजस्तो
आफ्नो सबै दायित्वबाट तर्किएको वेतजस्तो ।
शक्तिकेन्द्रबाट आउने कमिसनको कुम्लो पार्दै
इसारामा उतैतिर फर्किएको बेतजस्तो । (बेतजस्तो)
संशोधनवादले देशलाई पार्ने हो कि सङ्कटमा ?
द्वन्द्व बढाई जनतालाई मार्ने हो कि सङ्कटमा ?
कहाँबाट कति आउँछ हिसाबकिताब गरीकन
कमिसन खानलाई चार्ने हो कि सङ्कटमा ?
असमान सन्धि अनि सम्झौता गरीकन
अझै ठूलो द्वन्द्व देशमा सार्ने हो कि सङ्कटमा ? (सङ्कटमा)
लिस्सोजस्तो रूखैभरि किन छायो संशोधनवाद ?
कम्युनिस्टको विकृत रूप कसरी आयो संशोधनवाद ?
देश अनि जनताको छिट्टै मुक्ति गर्लाजस्तो
गाउँसहर घरघरमा किन धायो संशोधनवाद ?
देश अनि जनतालाई सुखशान्ति दिन्छु भन्दै
जनताको पसिना र रगत खायो संशोधनवाद । (संशोधनवाद)
छिनछिनमै रङ फेरी आइदिने छेपारोझैँ
भोट माग्नका लागि मात्र धाइदिने छेपारोझैँ
चुनावमा जनतालाई विकासको सपना बाँड्दै
जस्तोसुकै झुट्टा कसम खाइदिने छेपारोझैँ । (छेपारोझैँ)

हित–जून साहित्य प्रतिष्ठान, सिर्जनानगर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :