हृदयमा खिचिएका अमिट तस्बिरहरू

जनगणतन्त्र कोरिया यात्रा डायरी

हृदयमा खिचिएका अमिट तस्बिरहरू

…अब आजको अन्तिम कार्यक्रम छ बजार घुम्ने र किनमेल गर्ने । जुछे टावरको यात्राजस्तै यो पनि औपचारिक सूचीमा परेको कार्यक्रम होइन तर कोरियालीहरू विदेशी पाहुनालाई बिदा गर्ने अघिल्लो दिन आफ्नो देशको उत्पादन स्वदेशमा लैजाऊन् भनेर यस किसिमका सुपरमार्केटहरूमा घुमाइदिने गर्छन् । अलि उदार मन भएका अतिथिहरूले आआफ्ना इन्टरप्रेटर र दोभासेहरूलाई उपहारस्वरूप केही किनिदिने चलन पनि छ । कतिपय देशका प्रतिनिधिहरूले कोरिया जाँदै कुनै सामान उपहार बोकेरै जान्छन्, दोभासेहरूका लागि । कतिपयले त्यहीँ किनेरै पनि दिन्छन् । गतसाल माणिक र मैले यस्तै पसलबाट किनेको सामान र मैले एउटा पुस्तक, चीनमा किनेको घडी र नेपालबाट लगेको पाइलट पेन उपहार दिएका थियौँ । यस्तो बजार कोरिया सरकारको आम्दानीको स्रोत पनि हो । यूएस डलर, युरो र चिनियाँ रुपैयाँ (युआन) यहाँ मन पराइन्छ ।

लेखक : अशाेक सुवेदी

हामी घुम्दै बजार पुग्यौँ । नानीलाई केही उपहार त दिनैपर्छ भन्नेबारे हाम्रो समूहमा छलफल भइरहेको थियो तर मत विभाजित थियो । हस्त र सुरेन्द्र दाइ उपहार दिनु नहुनेमा दृढ हुनुभयो । कटुवाल हाम्रो सम्पर्कबाट अलि टाढै, आफ्नै सुरमा थिए । म, सरोज र पूर्णजी चलन छ भने केही दिऊँ न त भन्नेमा थियौँ । सुपरमार्केटमा पुगेर हामी सामान हेर्न थाल्यौँ । सरोजले नानीलाई ‘केही सामान हेर न त, हामी किनिदिन्छौँ’ भन्नुभयो । नानी छक्क पर्दै भनी, ‘भो–भो, मलाई केही चाहिँदैन । तिमीहरू त हाम्रा पाहुना हौ नि…।’ सरोज र पूर्णजीले अलि करै गरेपछि नानीले एउटा किरिङजस्तै सामान हेरेर मूल्य सोधी । चिनियाँ युआन १५–१७ कति पर्दाे रहेछ । उसले ‘भो–भो, यो त तिमीहरूका लागि महँगो पर्ने रहेछ’ भनी । मैले ‘तिमीलाई मनपरेको छ भने लेऊ न त’, भनेँ । ऊ लिन तयार भई । त्यही सामान किनिदिएर साझा बनाएको भए पनि हुन्थ्यो तर मेरो मन मानेन । मैले भनेँ, ‘नानी, अर्काे सामान पनि रोज न । तिमीले त साह्रै सस्तो सामान पो रोज्यौ… ।’

‘भो अशोक, यही एउटा चिनो मेरा लागि पर्याप्त छ तिमीहरूबाट… ।’ ऊ टक्टकिई ।

मैले भनेँ, ‘त्यो त पूर्णजी र सरोजजीले किनिदिएको । मैले दिएको केही पनि लिन्नौ त ? अस्ति पनि कुनै सामान किन्न मानिनौ… ।’

‘हैन, तिमी त रिसायौ कि क्या हो ? मैले त तिमीलाई नै गाह्रो हुन्छ भनेर पो ? भन्दै ऊ टार्ने सुरमा लागी ।

‘हैन, केही न केही त राख न । बरु तिमीलाई दैनिक काममा आउने सामान हेर । यत्रो दिन सँगै हिँडियो, खाइयो, खेलियो । दुःख–सुखका कुरा भए । तिमी त हाम्री नानी हौ नि । मायाले हो क्या ! कसैको कर वा दबाबले त हैन नि…’, मैले यति भनेपछि उसले कुनै सामानको मूल्य सोधी । अलि महँगो रहेछ क्यारे, राखिदिई र अर्कै पसलमा गई । एउटा बट्टा हेरी । त्यसमा नङ काट्नेदेखि लिएर दैनिक प्रयोगमा आउने ८/१० वटै सामान थिए । उसले मोल सोधी र ओल्टाइपल्टाइ हेरेर राखिदिई ।

अलि नजिक गएर मैले भनेँ, ‘किन, यो तिमीलाई मन परेन ? कति पर्ने रहेछ ?
उसले भनी, ‘सामान त ठीकै थियो तर तिमीलाई त्यति तिरेर किनाउन मन लागेन ।’
‘महँगो भो ? कति पर्ने रहेछ ? ए, भन्न त भन कति पर्ने रहेछ ? , मैले कर गर्दै सोधेँ ।

‘तिमीले अस्ति किनेको टिसर्टभन्दा पनि महँगो छ । भो, अर्काे कुनै सस्तो सामान किनिदेउला किन्नै मन लाग्यो भने…’, ऊ अझै टक्टकिन खोजी । ‘ए लाटी, अङ्कमा भन न, सक्ने भए किनौँला । तिमीलाई मन पनि पर्यो । आवश्यक पनि छ । म किनिदिन तयार र इच्छुक छु । एकपल्ट भन्दैमा त केही बिग्रिँदैन नि…’, मैले अलि जोड गरेँ । ‘अशोक, चिनियाँ रुपैयाँ ७० रहेछ क्या ! चक्कु, नैनी, कन्कर्नु, चिम्टी, काँटा, पेन्चिस…यस्ता धेरै सामान एउटै प्याकेटमा भएकाले अलि महँगो रहेछ…’, ऊ मलाई जोगाइदिन त्यहाँबाट उम्किन खोजी । मैले उसको बाटो छेक्दै भनेँ, ‘ठीक छ । म यति किनिदिन सक्छु क्या ! दिनभर केही न केही काममा आइरहने सामान भयो भने तिमीले पनि हामीलाई सम्झिरहन्छ्यौ नि…।’

मैले अलि ठट्टा र अलि गम्भीर भावसाथ भनेपछि उसले दोहोर्याई, ‘तिमी पनि एकबाते मान्छे रहेछौ क्या अशोक । यति टाढा आएका छौ नेपालदेखि । घर फर्कने खर्च छ कि छैन । यसरी मेरा लागि खर्च गरेपछि घरमा, साथीभाइलाई के लगिदिन्छौ ? उनीहरू पनि त आस गरिरहेका होलान्…’, ऊ त उल्टै अभिभावक र गुरुजस्तो सम्झाउन पो थाली । मैले खल्तीबाट पैसा झिकेर पसलेलाई दिँदासम्म पनि ऊ ‘नाइँ–नाइँ, गाह्रो हुन्छ तिमीलाई’ भन्दै थिई । मैले सामान लिएर उसको झोलामा थन्क्याइदिएँ । उसले डेरा आँखाले हेरी । अरू साथीहरू सामान हेर्न र किन्न व्यस्त थिए ।

नानीको अविस्मरणीय उपहार

ऊ ‘एक्कैछिन यहीँ बस है अशोक, म आइहाल्छु’ भनेर अलप भई र पाँच मिनेटभित्र फर्केर आई ।
नजिक आएर उसले भनी, ‘आँखा चिम्ल त !’
मैले भनेँ, ‘किन र नानी ? के जादु गर्न लाग्यौ ?

यसो भन्दै उसले थपी, ‘अब हात अघि बढाऊ र खोल ।’ मैले ज्ञानी बालकझैँ बनेर उसले सिकाएजस्तै गरेँ । उसले हातमा केही राखिदिँदै भनी, ‘पहिला हात मुठी पार अनि आँखा खोल ।’ मैले त्यसै गरेँ । उसले भनी, ‘ज्ञानी छौ । यो मैले तिमीलाई दिएको सानो चिनो हो । जब कोरियाको सम्झना आउँछ, जब मेरो सम्झना आउँछ यसलाई हेर्ने गर्नू…।’
‘यो के हो नानी ? अब मैले हेर्दा हुन्छ ?’, मैले सोधेँ ।
‘अब हेर न, तिम्रै लागि त हो तर एउटा सानो सम्झना मात्र हो नि !’, उसले दोहोर्याई ।

मैले नानीलाई हेर्दै मुठी फुकाएँ । मेरो हातमा हल्का नीलो भुइँमा पाँचवटा सेता थोप्ला र तीनवटा नीला सितारा भरिएको टेबुलटेनिसको ब्याटजस्तो समात्ने ह्यान्डिल भएको र पृष्ठभाग पनि सेतै भएको आकर्षक उपहार थियो । ‘वाः अति राम्रो ! यति सुन्दर उपहारका लागि तिमीलाई धेरैधेरै धन्यवाद नानी… तर तिमीले खर्च गरिगरी यो किनिरहनु आवश्यक थिएन…’, मैले भनेँ ।

‘अब ती कुरा बन्द गर । मैले एउटा नेपाली लेखक/पत्रकार, कम्युनिस्ट पार्टीको सदस्य र साहित्यकार कमरेडका लागि नाउँ मात्रको चिनो दिएकी हुँ । चूपचाप राख तर यति चैँ कहिल्यै नभुल नि, कोरिया, कोरियाली जनता र मेरो सम्झना आउँदा यसलाई हेर्ने गर्नू…’, उसले मेरो हातमै हात ल्याएर त्यो किरिङ घुमाई । दुई तहको किरिङ घुमाउँदा भित्री तहमा ऐनासमेत देखिने रहेछ । उसले भनी, ‘यहाँ हेर त ।’

मैले उसले भनेजस्तै गरी हेरेँ । त्यहाँ अलिकति नानी देखिएकी थिई, अलिकति म । मलाई लाग्यो, नानी देखिएको पाटो समाजवादी कोरिया हो र म देखिएको पाटो वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति लड्दै गरेको नेपाल । हामी एउटै ऐनाबाट एकैसाथ समाजवादी कोरिया र दलाल संसद्वादलाई चकनाचुर पार्ने योजनाका साथ अघि बढिरहेको नेपाल हेरिरहेका थियौँ । झट्ट हेर्दा त्यहाँ एउटा व्यक्तिको आधा भाग अनुहार मात्र देखिन्थ्यो तर त्यो एउटा किरिङ र ऐना मात्र थिएन । एउटी समाजवादी किशोरी, साम्यवादतर्फ लम्किँदै गरेको शक्तिशाली देशकी योद्धा र बौद्धिक, तार्किक, मायालु अनि तीक्ष्ण बुद्धिकी किशोरीले दिएको मायाको चिनो थियो । त्यति छोटो समयमा त्यति गम्भीर उपहार उसले कसरी रोजेर ल्याइहोली ! नीलो रङ छ– आकाशजस्तो । सेतो रङ छ– शान्तिको प्रतीक । नीला सिताराहरू जडिएको छ– व्यापक आकाशमा चम्किरहेका तारा, ग्रह वा नक्षत्र पनि भन्न सकिने । समाजवादको ढोका खोल्ने साँचो झुन्ड्याउने ठाउँ पनि छ र ऐना पनि छ । बढी महत्वाकाङ्क्षा उत्पन्न हुँदा, गर्व र घमण्ड जाग्दा आफ्नो देश, पार्टी, विचार वा आफ्नै पनि अनुहार हेर्न मिल्ने गरी ऐनासमेतको व्यवस्था छ । संसारमै चम्किरहेको कोरियाली समाजवाद आफैँ आकाशमा झल्मलाइरहेको सूर्यजस्तै चहकिलो छ । यही एसियाको एउटा मुलुक नेपाललाई भूगोल (सगरमाथा), छब्बीस सय वर्ष पुराना राजाका छोरा (बुद्ध), जिन्दाजित्दै कमान्डरले क्याम्प फेरेकाले हारिएको जनयुद्ध र राजनीतिक प्रतिक्रान्ति बेहोरेको मुलुकका रूपमा चिनाउनुपर्ने बाध्यता छ । सायद यही अवस्था नियालेर वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवाद स्थापनाको बाटोमा हिँड्ने क्रममा आफ्नो अनुहार नियाल्न ऐनासहितको किरिङ उपहार दिएकी होली नानीले… । म यस्तै सोचाइमा हुन्छु ।

मलाई झकझक्याउँदै सोध्छे नानी, ‘के सोचिरहेका छौ अशोक ? के तिमीलाई मन परेन हो यो उपहार ? मन परेन भने पनि एउटी साथीले दिएको चिनो सम्झेर झोलामा राख न ! सबै साथीहरू बाहिर निस्किसके, हिँड बाहिर जाऊँ…।’

भिक्ट्री गेटमा दोस्रोपटक

हामी बाहिर निस्कँदा पूर्णजी र सरोजजी भिक्ट्री गेटलाई पृष्ठभागमा पारेर तस्बिर खिच्न व्यस्त हुनुहुन्थ्यो । यही विजयद्वारमा त हो मैले गतसाल तस्बिर खिचेर मेरो पुस्तकको अन्तिम गातामा राखेको ! म पनि हतारहतार गएर उभिन्छु तस्बिर खिच्नेहरूको लहरमा । हामीले समूहमा मिलेर तस्बिर खिचेको देखेर नानी मुस्कुराउँछे । उसको हातमा मेरो पुस्तक छ र यतिबेला पुस्तकको अन्तिम पृष्ठको त्यही भिक्ट्री गेट हामीतिर फर्किरहेछ अनि लाखौँ मानिसका लागि अमृतसरह कञ्चन र स्वच्छ पानी दिएर गम्भीर भावमा बहिरहेको देदोङ नदीलाई दायाँबायाँ पार्दै गाडीमा सैनिकहरू हिँडिरहेछन् र ती सैनिकहरूलाई जनता हात हल्लाएर स्वागत तथा बिदाइ गरिरहेका छन् । जनताको असली सेनालाई जनताले कति धेरै माया गर्छ भन्ने उदाहरण पनि हो यो । जनयुद्ध कालमा जनसेनालाई जनताले गरेको मायासँग तुलना गर्न मन लाग्छ मलाई । अतिथिको गाडी देख्नासाथ सडककिनारबाट जनताले हामीलाई पनि हात हल्लाएर अभिवादन गरिरहेका छन् ।

नानी अलि गम्भीर देखिन्छे । ‘नानी, आज त १९ तारिख हो । तिमीले आज हिजोअस्ति गर्न नपाएको काम सक्नुपर्छ नि !’ म विषय नभनी उसलाई दोहोर्योउँछु । ऊ ट्वाल्ल परेर हेरिरहन्छे । एकछिनपछि ऊ भन्छे, ‘साँच्ची अशोक, आज तिम्रो क्यामेराका तस्बिरहरू मलाई हेर्न देऊ न है ?’ नानीले अब औपचारिकताका सामान्य पर्खालहरू भत्काइसकेकी छे जस्तो लाग्न थाल्यो मलाई किनकि ऊ अब मलाई मिस्टर अशोक नभनेर अशोक मात्रै भनिरहेकी छे । हामीले पनि ऊ मिस जिन नभएर नेपाली नानी हो जस्तै गरेर नानी कि नानी भनेर सम्बोधन गरिरहेका छौँ नि ! ‘तिमीले खिचिदिएका तस्बिर त छन् नि, किन हेर्नुपर्यो र ? म अलि ठुस्किन्छु ।

ऊ भन्छे, ‘हैन, म पनि तिम्रो क्यामेराले खिचेका तस्बिर कपी गरेर राख्न चाहन्छु । मेमोरी निकालेर देऊ न…’, ऊ दोहोर्याउँछे ।
‘भैहाल्छ नि नानी तर कुनै तस्बिर मन परेन भनेर डिलिट गर्नेचाहिँ होइन नि !’

मैले यति भनिसक्दानसक्दै अघिल्लो सिटमा बसेको मिस्टर ओ पुलुक्क हामीतिर हेर्छ र हल्का मुस्कुराउँछ । गतसाल माणिकको सम्बोधन खिचेको थिएँ मैले भिडियोमा तर नेपाल फर्केर हेर्दा पाइनँ । ओले पनि यसरी नै मेमोरी मागेर लगेको थियो फोटो हेर्न र कपी गर्न भनेर । पछि मलाई शङ्का लाग्यो, पक्का यसले त्यो भिडियो डिलिट गरिदियो । मैले सोध्दा ‘हैन, कपी मात्र गरेको हुँ, केही गरेको छैन’ भन्दै थियो तर मेरो शङ्का अझै हटेको थिएन । आज पनि ओले पुलुक्क हामीतिर हेर्नुको तात्पर्य त्यही हुनसक्छ भन्ने मेरो ठम्याइ थियो । नानीले भनी, ‘विश्वास गर अशोक, म तस्बिर हेरेपछि कपी मात्र गरेर मेमोरी फिर्ता गरिदिनेछु.. ।’ मैले थपेँ, ‘नानी, तिमीहरू संवेदनशील छौ आफ्नो मुलुक, व्यवस्था, नेतृत्व र जनताप्रति । हामी पनि त हृदयदेखि माया गर्छाैँ नि कोरिया, यहाँको व्यवस्था र तिमीहरूलाई । यस्तोमा अविश्वास वा आशङ्का उब्जियो भने सम्बन्धमा चिरा पर्ने र भावनामा चोट पर्ने कुरा हुन्छ । तिमीहरूले हामी र हाम्रो भावनालाई नचिनेको जस्तो हुन्छ । हामी त मुक्त कोरिया र कोरियाली जनतालाई हाम्रो भूगोल र प्रविधि प्रयोग गरेर संसारभर चिनाउन, भ्रमहरू चिर्न र अझै स्थापित गर्न चाहन्छौँ नि ! तस्बिर त के भो र तिम्रो देशमा, तिम्रो अनुमति लिएर खिचेको हो, अझ तिमीले नै खिचिदिएकी हौ । मन लागे कपी गर र हेर, मन नलागे उडाइदेऊ । क्यामेरा र मेमोरीका तस्बिर हटाउँदैमा तिमीले हाम्रो मस्तिष्क र हृदयमा खिचिदिएका तस्बिर मेटाउन सक्तिनौ क्यारे !’ मैले यति भनिसकेपछि क्यामेराबाट मेमोरी निकालेर उसको हातमा राखिदिँदै भनेँ, ‘यसमा प्राविधिक मात्र होइन, भावनात्मक र वैचारिक पाटो पनि छ भन्ने नबिर्स नि नानी …।’ मिस्टर ओले फेरि एकपटक पछिल्तिर फर्केर हामीलाई हेर्यो । नानीले पुलुक्क मतिर हेर्दै जतनले मेमोरी हाते ब्यागभित्र राखी ।

(शक्तिशाली समाजवाद :जनगणतन्त्र कोरियाको दोस्रो यात्रा, २०७४ नियात्रासङ्ग्रहबाट साभार)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :