नेकपाद्वारा बुटवलको उप–महानगर स्तरीय स्कुलिङ उद्घाटन

नेकपाद्वारा बुटवलको उप–महानगर स्तरीय स्कुलिङ उद्घाटन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल उप–महानगरपालिका स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन गरेको छ ।

कार्यक्रममा नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले नेकपाको विभिन्न जनवर्गीय सङ्गठनहरूमा आबद्ध नेता तथा कार्यकर्ताहरूले कम्युनिस्ट स्कुलिङको उद्देश्य र आवश्यकताको बारेमा प्रस्ट हुनुपर्ने बताए । उनले एकीकृत जनक्रान्तिको कार्यदिशा, पार्टीको नयाँ कार्यनीति, वैज्ञानिक समाजवादी कार्यक्रम तथा योजनाहरूलाई जनतामाँझ पुर्याउन कम्युनिस्ट स्कुलिङको आवश्यकता रहेको बताए । नेता विश्वासले सिमान्तकृत, उत्पीडित वर्ग र समुदायको मुक्तिका लागि कम्युनिस्ट स्कुलिङ कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले उक्त स्कुलिङ पश्चात् सबै जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरू नेकपाको नीति, योजना तथा कार्यक्रमहरू लिएर जनताको बीचमा पुग्न सहज हुने आशा व्यक्त गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य खोमा तरामु मगरले समाजको निर्माण विश्वदृष्टिकोण, उत्पादन प्रणाली र राज्यसत्ता मिलेर बन्ने भन्दै यसको रुपान्तरणका लागि कम्युनिस्ट स्कुलिङ आवश्यक रहेको बताए । उनले पार्टीले विकास गरेको नयाँ कार्यनीतिबारे सैद्धान्तिक रुपमा स्पष्ट हुन स्कुलिङ आवश्यक रहेको बताए । त्यसैगरी नेकपाका बुटवल नगर सेक्रेटरी विरेन्द्र विकले सङ्गठन निर्माण तथा राजनीतिक वैचारिक क्षमता विकासका लागि पार्टीले स्कुलिङ कार्यक्रम सञ्चालन गरेको बताए ।

स्कुलिङ विभागका प्रमुख श्याम सेन्चुरीले पार्टीमा थपिएको नयाँ जिम्मेवारीलाई पुरा गर्नका लागि उक्त स्कुलिङले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस्तै स्कुलिङमा दर्शनशास्त्र, वैज्ञानिक समाजवादी अर्थशास्त्र र वैज्ञानिक समाजवाद, पार्टीको नयाँ कार्यनीति लगायतको विषयमा प्रशिक्षण हुने अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य एवं स्कुलिङ विभागका सदस्य रूपा बुढामगरले बताइन् ।

कार्यक्रममा जिल्ला सदस्य, जनवर्गीय सङ्गठन र मोर्चाका प्रमुखहरू, सहिद तथा बेपत्ता परिवार, नगर कमिटीका सदस्यहरूको उपस्थिति रहेको बताइएको छ । शनिबारदेखि संचालन भएको उक्त स्कुलिङ कार्यक्रम मङ्गलबार सम्पन्न हुने प्राप्त समाचारमा बताइएको छ ।

नेकपा बुटवल नगर सेक्रेटरी विरेन्द्र विकको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी रुपन्देही जिल्ला अध्यक्ष बिहानी मगरले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :