जनपत्रकार सङ्गठन रूपन्देहीको बैठक सम्पन्न

जनपत्रकार सङ्गठन रूपन्देहीको बैठक सम्पन्न

बुटवल : जनपत्रकार सङ्गठन नेपाल रूपन्देहीको प्रथम बैठक सम्पन्न भएको छ । मङ्गलबार बुटवलमा सम्पन्न बैठकले प्रदीप राहादी मगरको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले राज्यको संरचना, सहयोग र सुरक्षा प्राप्त गर्दै आएका नेपालका व्यावसायिक पत्रकारहरूले सबैभन्दा बढी एकाधिकार पुँजीवाद वा नेपालको दलाल पुँजीवादी राज्यसत्ताको पक्षपोषण गर्ने गरेकाले यसको भण्डाफोर गर्नुपर्ने बताए । उनले पुँजीपति वर्गको मात्र रक्षा गर्ने बुर्जुवा पत्रकारिताले लादेको मान्यतालाई निस्तेज पारी श्रमजीवी वर्गका पक्षमा कलम चलाउनुपर्ने बताए । विश्वासले नेकपाको नयाँ कार्यनीति अर्थात् संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादबारे केही प्रतिक्रियावादीहरूले अनेक विषयसँग तुलना गरी जनतामा भ्रम उत्पन्न गर्न खोजेको भन्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

विश्वासले नेकपामाथि प्रतिबन्ध लगाउनु गलत साबित भएको भन्दै दलाल राज्यसत्ताले घुँडा टेकेको बताए । उनले सरकार नेकपासँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा पन्छिएको भन्दै दुःख व्यक्त गरे । उनले जेल र हिरासतमा रहेका नेकपाका बन्दी नेता–कार्यकर्ताहरू सरकारसँग भएको राजनीतिक सहमतिबाट भन्दा पनि कानुनी प्रक्रियाबाट रिहा भएको र रिहा हुने क्रम जारी रहेको बताए । उनले एमसीसी सम्झौता राष्ट्रघाती, जनघाती, देश र जनताको हितविपरीत रहेको भन्दै आफ्नो पार्टीले त्यसको सशक्त प्रतिकार गर्ने बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले दलाल प्रतिक्रियावादी राज्यसत्ताको चरित्र भण्डाफोर गर्नु जनपत्रकार सङ्गठनको पहिलो कार्य भएको बताए । उनले पत्रकारिता वर्गीय पक्षधरतामा आधारित हुने भन्दै स्वतन्त्र र निष्पक्ष नहुने बताए । मगरले समाजमा जबसम्म वर्गसङ्घर्ष जारि रहन्छ तबसम्म पत्रकारिता पनि स्वतन्त्र नहुने बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी रूपन्देही जिल्ला अध्यक्ष बिहानी मगरले समाजको चरित्रअनुसार पत्रकारिताको पनि चरित्र निर्धारित हुने भन्दै बुर्जुवा समाजमा पत्रकारिता पनि बुर्जुवा हुने र समाजवादी समाजमा पत्रकारिताको चरित्र क्रान्तिकारी प्रकारको हुने बताइन् । उनले पत्रकारिताको क्षेत्रबाट वैज्ञानिक समाजवाद स्थापनाका लागि अग्रमोर्चामा रहेर डटेर सङ्घर्ष गर्नुपर्ने बताइन् ।

जनपत्रकार सङ्गठनका जिल्ला संयोजक प्रदीप राहादी मगरले जनपत्रकारिता अर्थात् क्रान्तिकारी पत्रकारिता बुर्जुवा पत्रकारिताले लादेको वर्गसङ्घर्षमा भाग नलिईकन, त्यसको प्रतिवाद नगरीकन र वैचारिक, राजनीतिक, बौद्धिक र गतिशीलताको क्षेत्रबाट परास्त नगरीकन जीवित रहने नसक्ने बताए ।

उक्त बैठकले जिल्लास्तरीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने, सङ्गठनको जिल्ला भेला भदौ ११ गते गर्ने, सङ्गठनको केन्द्रीय कार्यक्रमलाई कार्यान्वयन गर्नेलगायत निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ । बैठक सङ्गठनका रूपन्देही जिल्ला संयोजक प्रदीप राहादी मगरको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :