अखिल (क्रान्तिकारी) रुकुमद्वारा राजनीतिक निकासको मार्ग प्रशस्त गर्न सरकारकाे ध्यानाकर्षण

अखिल (क्रान्तिकारी) रुकुमद्वारा राजनीतिक निकासको मार्ग प्रशस्त गर्न सरकारकाे ध्यानाकर्षण

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले निसर्त विना कुनै पुर्वाग्रह ३ बुँदे सहमतिको कार्यान्वयन गरी राजनीतिक निकासको मार्ग प्रशस्त गर्न सरकारसँग अनुराेध गरेको छ ।
अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका संयोजक सोम्पाल कामीको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाउदै सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुँदे सहमति कार्यान्यवन गर्न विनम्रतापूर्वक अनुरोध गरिएको छ ।

३ बुँदे सहमति बमोजिम राज्यले बन्दी सम्पूर्ण नेताकार्यकर्ताको रिहाई र सम्पूर्ण झुट्ठा मुद्दाहरुको खारेजी गर्नुपर्नेमा ढिलासुस्ती गरिरहेको र राजनीतिक समस्याको समाधान गर्नको लागि राज्य र सरकार तत्पर नभएको भन्दै अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले ३ बुँदेको सहमति पश्चात आफ्ना राजनीतिक गतिविधिहरुलाई शान्तिपूर्ण ढंगले जनताको बीचमा गरिरहेको, नेपालको राजनीतिक संकट र असफलतालाई हल गर्ने सन्दर्भमा प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिक कार्यक्रमलाई अगाडि बढाइरहेको जनाएको छ ।

३ बुँदे सहमति नेपाली राजनीतिक वृत्तको ऐतिहासिक, दूरगामी र राष्ट्रिय महत्वको सहमति हो भन्दै  ध्यानाकर्षण पत्रमा भनिएको छ, -`उक्त सहमति र नेपाल कम्युनिस्ट पार्टीको तागतलाई नजरअन्दाज गरेर अगाडि बढ्दा त्यसले निकट भविष्यमा आउने परिणामलाई पनि मध्यनजर गर्दै निसर्त बिना कुनै पूर्वाग्रह ३ बुँदे सहमतिको कार्यान्वयन गरी राजनीतिक निकासको मार्ग प्रशस्त गर्न विनम्रतापूर्वक अनुरोध गर्दछौँ ।`

ध्यानाकर्षण पत्रको पुरा पाठ
सम्माननीय प्रधानमन्त्री ज्यु
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय
सिंहदरबार, काठमाडौं ।

मार्फत

श्री प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यालय
रुकुम पश्चिम

विषयः सहमति कार्यान्वयन सम्बन्धमा ।

मिति २०७७ फागुन २१ गते सम्माननीय पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल सरकार र हाम्रो माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी बीच सरकारको तर्फबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका सल्लाहकार डा। राजन भट्टराई तथा माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खडक बहादुर विश्वकर्मा क.प्रकाण्ड र पार्टी केन्द्रिय समिति सदस्य उदय चलाउने क.दिपकद्वारा हस्ताक्षरित ३ बुँदे सहमति भएको विषय जगजाहेर छ । उक्त ३ बुँदे सहमतिले नेपालको राजनीतिक कोर्सलाई नयाँ दिशानिर्देश गरेको विषय पनि तपाई हाम्रो सामु दिवा घाम झैँ छर्लङ्ग छ । उक्त सहमतिको पूर्ण कार्यान्वयनले नेपाल र नेपाली जनतालाई स्थायी शान्ति, समानता, स्वाधीनता, समृद्धि, न्याय, राजनीतिक स्थायीत्व, अमनचयन र अग्रगमन प्रदान गर्ने विश्वास आम नेपाली जनताको छ । नेपाली जनताको उक्त आशा र विश्वासमा तुषारापात गर्ने छुट राज्य, नेपाल कम्युनिस्ट पार्टी तथा कुनै जिम्मेवार निकायलाई हुनेछैन । इतिहासमा यो सम्झौताको व्यवास्ता र कार्यान्वयनमा भइरहेको ढिलासुस्तीले हामीले ठुलो मूल्य चुकाउनु पर्ने हुनसक्छ ।

सम्माननीय प्रधानमन्त्री ज्यु, नेपाल कम्युनिस्ट पार्टी नेपाली राजनीतिक वृत्तको जिम्मेवार र सशक्त पार्टी हो भन्ने विषय पछिल्लो राजनीतिक घटनाक्रमले सावित गर्दै गइरहेको छ । ३ बुँदेको सहमति पश्चात आफ्ना राजनीतिक गतिविधिहरुलाई शान्तिपूर्ण ढंगले जनताको बीचमा गरिरहेको छ । नेपालको राजनीतिक संकट र असफलतालाई हल गर्ने सन्दर्भमा प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादूको कार्यनीतिक कार्यक्रमलाई अगाडि बढाइरहेको छ । तर सहमति बमोजिम राज्यले बन्दी सम्पूर्ण नेताकार्यकर्ताको रिहाई र सम्पुर्ण झुट्ठा मुद्दाहरुको खारेजी गर्नुपर्नेमा ढिलासुस्ती गरिरहेको र राजनीतिक समस्याको समाधान गर्नको लागि राज्य र सरकार तत्पर नभएको विषयले हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको गम्भीर ध्यानाकर्षण गराएको छ । ३ बुँदे सहमति नेपाली राजनीतिक वृत्तको ऐतिहासिक, दुरगामी र राष्ट्रिय महत्वको सहमति हो । उक्त सहमति र नेपाल कम्युनिस्ट पार्टीको तागतलाई नजरअन्दाज गरेर अगाडि बढ्दा त्यसले निकट भविष्यमा आउने परिणामलाई पनि मध्यनजर गर्दै निसर्त बिना कुनै पुर्वाग्रह ३ बुँदे सहमतिको कार्यान्वयन गरि राजनीतिक निकासको मार्ग प्रशस्त गर्न विनम्रत पूर्वक अनुरोध गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :