बलिदानस्थलबाट क्रान्तिको नयाँ ऊर्जा प्राप्त गरेका छौँ : रसाइली

डाँडाकटेरीमै मनाइयो १९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

बलिदानस्थलबाट क्रान्तिको नयाँ ऊर्जा प्राप्त गरेका छौँ : रसाइली

डाँडाकटेरी, रामेछाप : नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली जिल्ला इन्चार्ज शरद रसाइलीले महान् सहिदहरूको बलिदान र समाधिस्थलबाट क्रान्तिको नयाँ ऊर्जा प्राप्त गरेको बताएका छन् । नेकपा रामेछापले दोरम्बा १ डाँडाकटेरीमा सोमबार आयोजना गरेको १९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, श्रद्धाञ्जलीसभा तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् जिल्ला इन्चार्ज रसाइलीले प्रत्येक वर्ष सहिदहरूको स्मरण मात्र नगरी समाधिस्थलमै आएर क्रान्तिका लागि थप ऊर्जा प्राप्त गर्दै बाँकी क्रान्ति पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रद्धाञ्जलीसभामा मन्तव्य राख्दै रसाइलीले मन्त्री नपाए आत्महत्या गर्छु भन्नेहरू, संसद्वादमा चुर्लुम्म डुबेकाहरू, यही बुर्जुवा संविधान र दलाल संसदीय व्यवस्थाका लागि दसौँ हजारको बलिदान भएको थियो भन्नेहरूबाट दोरम्बा हत्याकाण्डमा सहादत प्राप्त गर्ने महान् सहिदहरूको सम्मान नहुने बताए । एकीकृत जनक्रान्तिको कार्यदिशामा एकाकार हुँदै वैज्ञानिक समाजवाद प्राप्त गरेपछि मात्र सम्पूर्ण सहिदहरूको सपना साकार हुने र सबै सहिद परिवार, घाइते योद्धाहरूको वास्तविक अर्थमा सम्मान हुने धारणा केन्द्रीय सदस्य रसाइलीले राखे ।

नेकपाका रामेछाप जिल्ला सेक्रेटरी इन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष समिति तथा रामेछापका पूर्वजिल्ला सेक्रेटरी अभिलासले मन्तव्यसहित दोरम्बा हत्याकाण्डसम्बन्धी कविता वाचन गरेका थिए ।

अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य श्याम घिमिरेले श्रद्धाञ्जली मन्तव्य राखेका थिए । उल्लेख्य सङ्ख्यामा पार्टीका नेता–कार्यकर्ता र जनसहभागिता रहेको श्रद्धाञ्जली तथा स्मृति दिवस कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरू प्रभात भट्टराई, प्रकाश तिरुवा, विभिन्न जवसका नेतृत्वहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन विवेक र स्वागत मन्तव्य जितबहादुरले राखेका थिए ।

२०६० साल साउन ३२ गते तत्कालीन शाही सरकार र नेकपा (माओवादी) बीच दाङको हापुरेमा दोस्रो चरणको वार्ता चलिरहेको समयमा वार्ता बिथोल्ने र देशलाई युद्धमा धकेल्ने कुत्सित मनसायले युद्धविराम उल्लङ्घन गर्दै शाहीसेनाद्वारा रामेछापको दोरम्बामा नृशंस तरिकाले सामूहिक हत्याकाण्ड गराइएको थियो । दोरम्बामा तत्कालीन जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित एरियाको बैठक बसिरहेको अवस्थामा २१ जना होनहार क्रान्तिकारी नेता–तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरी डाँडाकटेरीमा पुर्याई सामूहिक हत्या गरिएको थियो । उक्त घटनापछि शाही सरकार र नेकपा (माओवादी) बीच चलिरहेको वार्ता भङ्ग भएर युछ सुरु भएको थियो । उक्त हत्याकाण्डमा बलिदान गर्ने महान् सहिदहरूको स्मरणमा प्रत्येक वर्ष नेकपाले विभिन्न कार्यक्रम आयोजना गरी दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउँदै आएको छ ।

यसै सिलसिलामा २०७८ साल साउन ३२ गते नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुली–रामेछाप इन्चार्ज शरद रसाइलीको प्रमुख आतिथ्यमा सामूहिक हत्याकाण्ड भएको स्थान डाँडाकटेरीमा निर्माण भएको सहिदहरूको सालिकमा माल्यार्पण र अबिरवरण गर्दै सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो । समाधिस्थलमा उपस्थित सहिद परिवारहरूलाई प्रमुख अतिथिलगायत पार्टीका सबै अतिथि र सहभागीले खादा ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) दोरम्बा गाउँपालिका ५ का सक्रिय युवा सदस्य खिलेन्द्र श्रेष्ठ, नेपाली काङ्ग्रेस खाँडादेवी गाउँपालिकाका सक्रिय सदस्य गगलाल तामाङसहित ६ जना युवा नेकपामा ध्रुवीकृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :