चिया किसानमाथि बिचौलियाको शोषण, नेकपा इलामले दियो चेतावनी

चिया किसानमाथि बिचौलियाको शोषण, नेकपा इलामले दियो चेतावनी

इलाम : इलामको सुर्योदय नगरपालिकामा रहेका किसानहरूको चिया उत्पादनको मूल्यमा ठूलो शोषण भएपछि नेकपा इलामले किसानको पक्षमा विज्ञप्ति सार्वजनिक गर्दै खेद र निन्दा प्रकट गरेको छ ।

किसानहरूको चियाको मूल्य यतिबेला रु. २० बनाइएको छ । यसले किसानहरू धेरै ठूलो मारमा परेका छन् । नगरपालिकाले कार्यविधि नै बनाएर उत्पादित चिया बाहिर बेच्न नपाउने भनेर त्यहीँका बिचौलिया व्यापारिहरूलाई पोस्ने नीति बनाएपछि यतिबेला बिचौलियाले मनपरी दाम तोकेका छन् ।

सुर्योदय नगरपालिकाले “चिया कार्यविधि –०७५” जारी गरी न्यूनतम् मूल्य रु.४० दिने भनेर भनिए पनि अहिले त्यो नभएको स्थानीय किसानले बताएका छन् । कार्यविधि जारी गर्ने नगरपालिका किसानलाई यस्तो समस्या परेको बेला मौन बसेको छ । किसानहरू भन्छन् “नगरपालिकाले बिचौलियाको हितमा नै काम गर्यो । यस्तै हुने हो भने चिया नस्ट गर्नुको बिकल्प नै छैन ।”

उत्पादित चिया बाहिर बेच्न पाउनुपर्ने, कार्यविधि मिच्नेहरूलाई कामकारवाही गर्नुपर्ने, कार्यविधि अनुसारकै भएपनि मूल्य प्रदान गर्नुपर्ने लगायतका मागहरू किसानका रहेका छन् । यसैबीच सोमबार नेकपा इलामका सेक्रेटरी मौसमले विज्ञप्ति जारी गर्दै किसानहरूको माग पूरा नगरे प्रतिरोध सङ्घर्षको चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,– ‘इलाम जिल्लामा चिया उत्पादन हुने मुख्य क्षेत्र सुर्योदय नगरपालिका हो । त्यहाँस्थित चिया किसानको उत्पादनको मूल्यमाथि भइरहेको चरम शोषणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सुर्योदय नगरपालिकाले ‘चिया कार्यविधि–०७५’ जारी गरि किसानले स्वतन्त्र रुपमा चिया बाहिर बेच्न नपाउने, चियाको मूल्यप्रति केजी रु. ४० अनिवार्य दिने जस्ता बजार एकाधिकार र सिण्डिकेट लाद्न पुग्यो । यसको मारमा किसानहरू त छँदै थिए, यतिबेला त्यहाँका बिचौलिया व्यापारीहरू कार्यविधिलाई समेत धोती लगाएर किसानको चियाप्रति केजी रु. २० तोक्दै किसानमाथि घोर अन्याय गरिरहेका छन् । श्रम, पसिनाले जिविकोपार्जन गर्ने किसानहरू माथिको यसप्रकारको रवैया खेदजनक र निन्दनीय रहेको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अतः किसानलाई सिजन अनुसारको दाम दिन, कार्यविधिले तोके अनुसारको दामप्रति केजी रु. ४० लाई अनिवार्य गर्न, एकाधिकार बजारको अन्त्य गरि स्वतन्त्र प्रतिस्पर्धामा चिया बाहिर बेच्न पाउने किसानको माग पूरा गर्न सम्बन्धित सुर्योदय नगरपालिका र सरोकारवाला सबैलाई अनुरोध गर्दछौँ । बिचौलिया व्यापारी पोस्ने र उनीहरूको सुरक्षा मात्र गरेर किसानमाथि गरिने अन्याय तुरुन्त नसच्याएर जारी राखे किसानहरूले प्रतिरोध सङ्घर्ष गर्ने विषय यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :