अफगान सत्ता फेरि विद्रोही तालिबानको कब्जामा

साम्राज्यवादी कठपुतली राष्ट्रपति घानी भागे, देशभर खुसीयाली

अफगान सत्ता फेरि विद्रोही तालिबानको कब्जामा

काठमाडौँ : एसियाली मुलुक अफगानिस्तानको सत्ता फेरि विद्रोही तालिबानले कब्जा गरेको छ । अमेरिकी साम्राज्यवादको सेखी तोड्ने गरी २० वर्षअघि ट्विन टावर ढालिदिने अल कायदा प्रमुख बिन लादेनलाई गिरफ्तार गरेर बुझाउन अस्वीकार गर्ने तालिबान सत्तासँग बदला लिन अफगानिस्तानमाथि अन्यायपूर्वक हमला गरी २० वर्षअघि अमेरिकाले तालिबान सत्ता ढालेर कठपुतली सत्ता निर्माण गरेको थियो । कालान्तरमा अफगानिस्तानबाट अमेरिकी साम्राज्यवादसँगै उसको कठपुतली सत्ता पनि पत्तासाफ बनेको छ भने कट्टरपन्थी मुस्लिम विद्रोही शक्ति तालिबान सहजै सत्तासीन बनेको छ ।

२००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गर्दा ट्विन टावर ध्वस्त हुनुका साथै करिब तीन हजार मानिसको ज्यान गएको थियो । उक्त आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेको भन्दै अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भनेको थियो । तालिबानले उक्त घटनामा बिन लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गरेपछि अमेरिकी साम्राज्यवादले अफगानिस्तामाथि आक्रमण गरेको थियो ।

सत्ताबाट बाहिरिएको २० वर्षपछि तालिबान अफगानिस्तानका महत्वपूर्ण सहर कब्जा गर्दै आइतबार राजधानी काबुल प्रवेश गरेको थियो । तालिबानले राजधानी सहर पनि कब्जा गरेपछि अमेरिकी कठपुतली राष्ट्रपति असरफ घानी देश छोडेर भागेका छन् । अमेरिकी साम्राज्यवादको शर्मनाक पराजय र उसको कठपुतली सत्ताको पतनको पछिल्लो र ताजा उदाहरण अफगानिस्तान बनेको छ यद्यपि तालिबान विद्रोही शक्ति भए पनि यो प्रगतिशील र जनपक्षीय शक्ति भने होइन । आफ्नो अतिवादी चरित्रका कारण अफगानिस्तानका जनताले साम्राज्यवादको कठपुतली सत्ताको समयमा भन्दा साह्रै धेरै खुसी महसुस गरेको भने पाइएको छैन यद्यपि साम्राज्यवादी शक्तिको पलायन र कठपुतली सत्ताको पतनपछि अफगानिस्तानको भूमिमा जनताले खुसीयाली भने मनाएका छन् ।

भाग्नुअघि अमेरिकी कठपुतली राष्ट्रपति असरफ घानीका अघिल्तिर विद्रोही तालिबानको सामना गर्नु वा आत्मसमर्पण गर्नु/पलायन हुनु दुईवटा मात्र विकल्प थिए । घानीले भागेर दोस्रो र सजिलो बाटो रोजेका छन् । घानीले कठपुतली सत्ता रूखको ऐँजेरु मात्र भएको र यसको आयु लामो नहुने घटना पनि चरितार्थ गरेका छन् । अफगानिस्तानमा कठपुतली घानी सत्तासँगभन्दा तालिबानसँग जनता बढी आशावादी भने देखिएका छन् । घानी भाग्नुअघि तालिबानले अफगानिस्तानका ३४ मध्ये २५ भन्दा बढी प्रान्तीय राजधानी कब्जा गरिसकेको थियो । तालिबानले जलालाबाद, घान्जी, फेरुज कोलगायत सहर बिनायुद्ध जितेको थियो । अफगानी सेना तथा वरिष्ठ अधिकारीले आत्मसमर्पण गर्दै तालिबानलाई आफ्नो सहर सुम्पिरहेका छन् । आइतबार पनि नान्गरहार प्रान्तका गभर्नरले आत्मसमर्पण गरेका थिए ।

एकथरी विश्लेषकहरूले अमेरिकी साम्राज्यवादी आक्रमणबाट २० वर्षअघि सत्ताच्यूत भएको तालिबानको पुनरोदयको सुरुआत २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानलाई दिएको वार्ताको निम्तोलाई मानेका छन् । अमेरिकी सरकार र विद्रोही तालिबानका बीच सन् २०१९ को सेप्टेम्बरमा सहमति भएको थियो । उक्त सम्झौतामा २०२० को फेब्रुअरीमा हस्ताक्षर भएको थियो । कतारको दोहामा भएको सहमतिमा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक मे २०२१ सम्म फिर्ता लैजाने उल्लेख थियो । त्यसअनुसार ट्रम्पले आफ्नो शासनकालमा अफगानिस्तानमा अमेरिकी सैनिकको सङ्ख्या घटाएर २५०० मा सीमित पारेका थिए ।

अफगानिस्तानबाट अमेरिकी साम्राज्यवादी सेनासँगै उसको गठबन्धन सेनाको फिर्ती, त्यहाँ उसको कठपुतली सत्ताको पतन र विद्रोही तालिबानको शानदार पुनरागमनले साम्राज्यवादी अभियानमा भने गम्भीर ठेस लागेको छ । भियतनाम, क्युबा, जनगणतन्त्र कोरियालगायत समाजवादी मुलुकबाट हारेर फर्किएको साम्राज्यवाद आफ्नै कठपुतली सत्ताहरूबाट पनि धमाधम पलायन र पतन हुँदै जानुले उसको समाप्तिको दिनगन्ती भने तीव्रतामा सुरु भएको ठानिएको छ ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :