अटो मजदुर सङ्घ बुटवलको अध्यक्षमा न्यौपाने

अटो मजदुर सङ्घ बुटवलको अध्यक्षमा न्यौपाने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी अटो मजदुर सङ्घ बुटवलको प्रथम नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले माधव न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, लुम्बिनी व्युरो संयोजक श्याम सेन्चुरीले अटो मजदुरहरूको समस्या अहिलेको केन्द्रीय सरकार, प्रदेश वा स्थानीय सरकारले समाधान गर्न नसक्ने भन्दै एकीकृत जनक्रान्ति यसको समाधान भएको बताए । उनले यसका लागि अटो मजदुरहरू एकीकृत भएर सङ्गठनमा गोलबन्द हुनुपर्ने बताए । अहिलेका मजदुरहरूले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनबाट शिक्षा लिन आवश्यक भएको सेन्चुरीले बताए ।

यसैगरी नेकपाका बुटवल नगर सेक्रेटरी विरेन्द्र विकले अटो मजदुरहरूको समस्या वर्गीय भएको भन्दै यो राज्य सत्तासँग जोडिएको बताए । विकले यसका लागि राज्यसत्ता बदल्ने सङ्घर्षमा सङ्गठित हुनुपर्ने बताए । उनले दलाल पुँजीवाद असफल भएको भन्दै वैज्ञानिक समाजवादले मजदुर वर्गको मुक्ति हुने बताए ।

त्यसैगरी अखिल नेपाल जनसांस्कृृतिक महासङ्घका केन्द्रीय सदस्य खोमा तरामु मगरले अटो व्यवसायी मजदुरहरूको समस्याले व्यक्तिको निजी जीवन र जिविकोपार्जनमा समस्या परेको भएपनि यसको समाधान सामूहिक सङ्घर्षबाट सम्भव हुने बताए । यस्तै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका जिल्ला अध्यक्ष खगेन्द्र पौडेलले अटो व्यवसायीहरू एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य एनबी शाही, पारस राहादी मगर लगायत अटो व्यवसायीहरूको उपस्थिति रहेको बताइएको छ । माधव न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डम्बरबहादुर खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :