जनपत्रकार संगठन नेपाल दाङको दोस्रो बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल दाङको दोस्रो बैठक सम्पन्न

दाङः जनपत्रकार संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितीको दोस्रो बैठक शनीबार तुलसीपुरमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज विकास, नेकपा दाङ जिल्ला स्कुलिङ विभाग इन्चार्ज रुद्रको आतिथ्य रहेको थियो ।

दोस्रो बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना नै सबैखाले समस्या निर्विकल्प समाधान भएको बताए । नेता शितलले श्रमजीवी जनपत्रकारहरुले दलाल पुजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने कुरा जनतालाई बुझाउन कलम चलाउनुपर्ने बताए । उनले संसदीय व्यवस्था नेपालमा असफल भइसकेको भन्दै विकल्पमा संयुक्त प्रगतिशील सरकार गठन गरि जनमतसंग्रहमार्फत संसदीय व्यवस्था वा जनताको वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विषयमा जनतालाई व्यवस्था चुन्ने सार्बभौम अधिकार दिन राज्य तयार रहनुपर्ने धारणा राखे ।

बैठकमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले पुजीवादी सत्ताले जनताको जनजीवन अस्तव्यस्त पारेको तथ्य जनतासम्म पुर्याउने महत्वपूर्ण गहन जिम्मेवारी पत्रकारहरुको कलममा आएको बताए । उनले भने,–‘ भ्रष्टाचार, बेथिति, विकृति, विसंगति संसदीय व्यवस्थाका उपज हुन्,यसका विरुद्ध कलम चलाउनुस् ।’

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितिको दोस्रो बैठकले ४ जना सदस्य थपेर १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकले जिल्लाका अन्य पत्रकारसँग भेटघाट छलफल गर्ने, संगठनको सम्मेलन भाद्र महिनाभित्र गर्ने, जिल्लामा अन्तरक्रिया गर्ने, पत्रकारिता तालिम संचालन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्ष गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ भने सम्मेलनको भब्य तयारी गर्न पालिका स्तरमा जिम्मेवारी ठोस गरिएको छ ।
बैठकको संचालन तथा अध्यक्षता संगठन जिल्ला सम्मेलन आयोजक समितिका संयोजक हेमन्त प्रकाश वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :