नेकपा मकवानपुरद्वारा सामना परिवारलाई बिदाई तथा सम्मान

नेकपा मकवानपुरद्वारा सामना परिवारलाई बिदाई तथा सम्मान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनकलाकार टीम सामना परिवारलाई मनहरि–३ डोठेमा बिदाई तथा सम्मान गरेको छ ।

विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी निकट जनकलाकार टीम सामना परिवार मकवानपुरमा रहँदै आएका थिए । त्यहाँ रहने क्रममा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सञ्चालन गरेको ‘सङ्गठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको सांस्कृतिक कार्यक्रम–२०७८’ अभियानमा सहभागी हुँदै विभिन्न कलाकौशलाद्वारा निराश भई बसेका आम जनतालाई सङ्गठित गराउँदै, एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध गराउँदै आएका थिए ।

अभियानको क्रममा मकवानपुरका पार्टी, कार्यकर्तासँगै केन्द्रीय सामना परिवारले दुःखमा परेका, पिछडिएका, गरीब, बेसहारा जनताको घरदैलोमा पुगि संयुक्त जनश्रमदान गरेका थिए । विश्वभर फैलिएको कोरोना महामारीले निम्त्याएको स्वास्थ्य सङ्कटको बाबजूद पनि दुःख, कष्ट र अभावको कुनै पर्वाह नगरी मकवानपुर जिल्ला पार्टीसँगै हरेक कार्यक्रममा उत्साहजनक सहभागिताका साथ अघि बढिरहेका थिए । ३/४ महिने बसाईको अन्तरालमा सामना परिवारले मकवानपुरका जनतासँग निकटतासँगै आत्मियताको खिरिलो डोरी बाट्न सफल भएका थिए ।

लगनशील, सिर्जनशील, मेहनती, फुर्तिलो, जुझारुपनाले भरिपूर्ण सामना परिवार नेपाल कम्युनिस्ट पार्टी केन्द्रको निर्णय अनुसार काम विशेषले कपिलवस्तु जिल्ला प्रस्थान गर्नुपर्ने भएकाले नेकपा मकवानपुरले बुधबार सम्मान सहितको बिदाई कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सबै विषयवस्तुको उचित मूल्याङ्ंकनको आधारमा पहिलो, दोस्रो र तेस्रो हुन सफल सामना परिवारका सदस्यहरूलाई पुरस्कृत गर्नुका साथै सम्पूर्ण सदस्यहरूलाई चिनोस्वरुप उपहार प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले बधाई तथा शुभकामना मन्तव्य राख्दै भौतिक रूपमा सामना परिवार र मकवानपुरको दूरी केही समयका लागि टाढा भएता पनि सबै कमरेडहरू एउटै विचार र उद्देश्यका साथ एकीकृत जनक्रान्तिको एउटै यात्रामा भएकाले यो क्रान्तिको दौरानमा सबै सहयोद्धा कमरेडहरूसँग फेरि भेट हुने आशा र प्रतिबद्धताका साथ सामना परिवारलाई बिदाई गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता, हेटौँडा उप–महानगरपालिका सेक्रेटरी सुर्य अर्याल, थाहा नगरपालिका सेक्रेटरी विक्रम मगर, अनेम सङ्घ मकवानपुरका जिल्ला सदस्य अनिषा, युवा सङ्गठन नेपाल मकवानपुरका अध्यक्ष किरण अर्याल लगायतको आतिथ्यता र मनहरि गाउँपालिका सेक्रेटरी गुणसिंह रुम्बाको अध्यक्षतामा सम्पन्न भएको सामना परिवारको सम्मान तथा बिदाई कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :