अखिल (क्रान्तिकारी) बुटवलको अध्यक्षतामा पारस राहादीमगर

अखिल (क्रान्तिकारी) बुटवलको अध्यक्षतामा पारस राहादीमगर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बुटवल उप–महानगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले पारस राहादी मगरको अध्यक्षतामा ३१ नगर कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले शैक्षिक आन्दोलनमा विद्यार्थीको हकहित र न्यायको लागि अग्रभागमा रहेर शैक्षिक विकृतिका विरुद्ध भण्डाफोर गर्ने एक मात्र विद्यार्थी सङ्गठन आफ्नो सङ्गठन भएको बताए । उनले केही सामुदायिक तथा निजी विद्यालयहरूले अनलाइन शिक्षाको नाममा अनावश्यक शुल्क असुल गरेको भन्दै त्यसको विरुद्ध सङ्घर्ष गर्ने बताए । विकले बुर्जुवा शिक्षा प्रणालीको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना अपरिहार्य भएको बताए । उनले अन्य राजनीतिक दलले विद्यार्थी सङ्गठनलाई केवल सत्ता प्राप्तिका लागि भर्याङको रुपमा प्रयोग गरेको बताए ।

सङ्गठनकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रुपा बुढामगरले विद्यार्थी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सपना अधुँरा रहेको र उनीहरूको सपना पूरा गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित हुन सम्पूर्ण विद्यार्थीलाई अपिल गरिन् । यस्तै सङ्गठनकी रुपन्देही जिल्ला अध्यक्ष इन्दु वलीले शैक्षिक माफिया र दलालहरूको विरुद्ध सङ्घर्ष गर्नुपर्ने सङ्गठनको पहिलो आवश्यकता रहेको बताइन् ।

यसैगरी कार्यक्रममा अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रेखा खनाल, मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इश्वरी तरामु मगर, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका जिल्ला अध्यक्ष बिहानी मगरले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेता–कार्यकर्ता, विद्यार्थी, सञ्चारकर्मी लगायतको ठूलो मात्रामा उपस्थिति रहेको बताइएको छ ।

सङ्गठनका जिल्ला उपाध्यक्ष तथा नवनिर्वाचित नगर अध्यक्ष पारस राहादी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला सचिव पदम पराजुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :