जनपत्रकार सङ्गठन नेपाल चितवनको अध्यक्षमा न्यौपाने

जनपत्रकार सङ्गठन नेपाल चितवनको अध्यक्षमा न्यौपाने

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यतामा शनिबार भरतपुर महानगरपालिकाको ग्लोबल होटेलमा सम्पन्न सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको अध्यक्षमा होमनाथ न्यौपाने, उपाध्यक्षमा प्रकाश सिग्देल र सुर्य बराल, सचिवमा सुरज शर्मा, सह–सचिवमा बासुदेव आचार्य र कोषाध्यक्षमा जेसिका पुलामी रहेका छन् । त्यस्तै सदस्यहरूमा आरती सापकोटा, अर्जुन चौधरी, शुक्रराज आचार्य, समिर मल्ल, जुना पौडेल र स्मृति खतिवडा रहेका छन् साथै प्रकाश आचार्यलाई सल्लाहकारमा मनोनयन गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले पत्रकारहरूले जनताको पक्षमा कलम चलाउँदै आम नागरिकलाई सुसूचित बनाउनुपर्ने बताए । उनले शिक्षा स्वास्थ्य लगायतका धेरै ठाउँमा भएका विसङ्गति र बेथितिका विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताए । पार्टीको एजेन्डाहरूलाई आम मानिसमा स्थापित गर्न पनि पत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले आग्रहसमेत गरे ।

यस्तै नेकपा चितवन जिल्ला विशेष समितिका सेक्रेटरी महेस चौधरीले नेकपाले लिएको एजेन्डा आम मानिसको हितमा भएकाले पार्टीको योजना र नीतिलाई आम मानिसमा प्रवाह गर्न जनपत्रकार सङ्गठनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । त्यसैगरी जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर बिकले आवाज बिहीनहरूको आवाज बोल्ने गरी जनपक्षीय पत्रकारीता गर्न पत्रकारहरूलाई आग्रह गरे । उनले आफूहरूले अहिले देशैभरी सङ्गठन बिस्तार गर्ने कार्यक्रम गरिरहेको र चितवनमा बनेको नयाँ टिमले देशैभरि नै राम्रो सन्देश प्रवाह गर्ने आशा व्यक्त गरे ।

कार्यक्रममा जिल्ला सचिव मिनप्रसाद सापकोटा, पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष प्रकाश ज्ञावली, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियनका उपाध्यक्ष सुर्य अधिकारी लगाएतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक सुर्य बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :