भारतको हस्तक्षेपकारी नीति र अमानवीय चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्छौँ : सेम ब्युरो

कञ्चनपुर : भारतीय विस्तारवाद, हस्तक्षेपकारी नीति र अमानवीय हिंसात्मक चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्न अखिल क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिद्वारा आम न्यायप्रेमी जनसमुदायलाई आग्रह गरेको छ । दार्चुलामा भएको घटनाको विषयमा शनिबार ब्युरो संयोजक वीरेन्द्र शाहद्वारा जारी विज्ञप्तिमा निम्नानुसार लेखिएको छ ।

“दार्चुलाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पाङ्गल हुँदै खलङ्गा आउँदै गर्दा मिति २०७८ साउन १५ गतेका दिन व्यास गाउँपालिका ०२ मालघाटमा तुईनबाट महाकाली नदी तर्ने बेलामा भारतीय एसएसबीका जवानद्वारा तुईन काटी दिँदा ३५ बर्षीय नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएका छन् । यस घटनाले हामी सबैलाई असाध्यै मर्माहत, दुःखीत र आक्रोशित तुल्याएको छ । मानवअधिकारका सम्पूर्ण मूल्यमान्यताहरू बिर्साइदिने यस्तो अमानवीय र जघन्य अपराधको घोर निन्दा र भत्सर्ना गर्दछौँ । यस घटनाले भारतीय साम्राज्यवादको नेपालप्रतिको दादागिरीपूर्ण चरित्र झनै उदाङ्गो भएको छ ।

यस घटनालाई अन्तर्राष्ट्रिय मुद्दा बनाएर यसको सत्यतथ्य छानविन सहित जयसिंह धामीको हत्या गर्ने हत्यारा एसएसबीहरूलाई कारवाही दायरामा ल्याई सजायको भागिदार हुने गरि पहलकदमी लिन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । साथै भारतको हस्तक्षेपकारी नीति र दादागिरीपूर्ण अमानवीय चरित्रका विरुद्ध शसक्त प्रतिरोधमा उत्रिन सम्पूर्ण आम न्यायप्रेमी आमजनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :