कमरेड पुष्पलाल र उनका सपनाहरू

कमरेड पुष्पलाल र उनका सपनाहरू

वर्गसङ्घर्षका क्रममा कतिपय अवस्थामा युगले व्यक्तित्व र कतिपय अवस्थामा व्यक्तित्वले युग जन्माउँछन्, निर्माण गर्छन् । माक्र्सवादका प्रवर्तक महान् गुरु कार्ल माक्र्सलाई युगले जन्मायो र कार्ल माक्र्सले पनि युग निर्माण गरे । मानिसले मानिसमाथि निरन्तर शोषण, दोहन, व्यभिचार, लूटपाट, अराजकता मच्चाइरहेको अवस्थामा शोषण र विभेदविहीन समानतामूलक सुन्दर साम्यवादी समाजको कल्पना गर्नु, त्यो समाजसम्म पुग्नका लागि सङ्घर्षका चरणहरू तय गर्नु, वर्गसङ्घर्षमा सामेल हुनु, दिशानिर्देश गर्नु युग निर्माणको महत्वपूर्ण प्रक्रिया र चरण थियो । संसारले दुई सय वर्षपहिले त्यस्तो व्यक्तित्वलाई प्राप्त गरेको थियो । नेपाली समाजले पनि झन्डै एक सय वर्षअघि अर्थात् भौतिक रूपमा विसं १९८१ मा र वैचारिक रूपमा २००५–२००६ सालमा त्यस्तै किसिमको व्यक्तित्व प्राप्त गर्यो । ती महान् व्यक्तित्व थिए कमरेड पुष्पलाल । जहानियाँ राणाशासन अर्थात् निरङ्कुश सामन्ती सत्ताले नेपाली जनता र नेपाललाई मध्ययुगीन, जर्जर र बर्बर किसिमले शोषण, दोहन र लूटपाट मच्चाइरहेको समयमा जन्मिएर त्यसको अन्त्यका लागि कम्युनिस्ट घोषणापत्र अनुवाद गरेर वितरण गर्ने, कम्युनिस्ट पार्टी निर्माण गर्ने र वर्गसङ्घर्षको खाका कोर्ने दार्शनिक, बौद्धिक र सङ्घर्षशील व्यक्तित्व थिए कमरेड पुष्पलाल । उनले २००५ सालमा अनुवाद गरेर वितरण गरेको कम्युनिस्ट घोषणापत्र र २००६ सालमा निर्माण गरेको कम्युनिस्ट पार्टीमा आबद्ध, क्रियाशील र समर्थकहरूको सङ्ख्या मुलुकमै दुई तिहाइ छ । नेपालको जनसङ्ख्या तीन करोड मान्ने हो भने दुई करोड हाराहारी मानिस पुष्पलालपथमा रहेको मान्न सकिन्छ । विभिन्न समयमा भएका चुनावहरूमा कम्युनिस्ट पार्टीका नाउँमा थापिएका ढ््वाङहरूमा पर्ने मतदेखि चुनाव बहिष्कार र विद्रोह गर्नेहरूको मत हेर्दा पनि नेपालमा दुई तिहाइ जनसङ्ख्या कम्युनिस्ट विचारमा आस्था राख्छन् भन्ने प्रमाणित भइसकेको छ । भलै कतिपय संशोधनवादी, अवसरवादी, संसद्वादीहरूले पनि आफूलाई कम्युनिस्ट पार्टी भन्दै जनतालाई खोटा सिक्का बिक्री गरिरहेका छन् । जे होस्, आमजनसमुदायले झ्वाट्ट बुझ्ने भनेको कम्युनिस्ट भनेको एउटै हो । उसले त्यही बुझेर सहयोग, समर्थन र विश्वास प्रकट गर्ने हो । तसर्थ नेपालमा सर्वप्रिय व्यक्तित्व हुन् कमरेड पुष्पलाल । उनले देखाएको बाटो, उनले निर्माण गरेको कार्यदिशा हुँदै नेपालको कम्युनिस्ट आन्दोलन अघि बढिरहेको छ र आज एकीकृत जनक्रान्तिको चरणबाट आशालाग्दो तरिकाले अघि बढिरहेको छ । कमरेड पुष्पलाल श्रमिक, मुक्तिकामी जनताका प्रिय नेता हुन् । उनको ४३ औँ स्मृति दिवसका सन्दर्भमा उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नु न्यायप्रेमीहरूको पहिलो कर्तव्य हुन आउँछ ।

नेकपाका महासचिव विप्लवले कमरेड पुष्पलाललाई सङ्घर्ष, त्याग र बलिदानका नमुनाका रूपमा संश्लेषण गरेका छन् । पुष्पलालको ४३ औँ स्मृति दिवसका सन्दर्भमा महासचिव विप्लवले निरङ्कुश राणा शासनकै समयमा नेपाली जनताको पूर्ण मुक्तिका निम्ति नयाँ जनवाद, समाजवाद र साम्यवादको महान् लक्ष्यसहित नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नु एक ऐतिहासिक पहलकदमी मात्र नभई नेपालको विशिष्टतामा क्रान्तिको कार्यदिशा निरूपण, साङ्गठनिक विस्तार र विकास, नेपाली समाज र नेपाली राजनीतिमा कम्युनिस्ट विचार र सिद्धान्त स्थापित गर्नुका साथै जनतामा नयाँ आशा र विश्वासको सञ्चार प्रवाह गर्ने व्यक्तित्वका रूपमा संश्लेषण गरेका छन् । पुष्पलालका बारेमा महासविच विप्लवले भनेका छन्, ‘कमरेड पुष्पलालले पार्टी स्थापनासँगै तत्कालीन राज्यसत्ताको दमनको सामना गर्दै कम्युनिस्ट पार्टीभित्रकै अवसरवाद र आत्मसमर्पणवादविरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्यो । राजनीतिक रूपले मूलभूत रूपमा ठीक हुँदाहुँदै पनि कमरेड पुष्पलाललाई आफ्नो जीवनकाल र त्यसपछि पनि विभिन्न आरोपहरूले प्रताडित गरियो तर अन्ततः उहाँ कम्युनिस्ट पार्टीको सही नेतृत्व र विचारक, इमानदार र आदर्श कम्युनिस्ट नेताका रूपमा इतिहासले पुष्टि गरिसकेको छ ।’

कमरेड पुष्पलालले नेपालको राष्ट्रियता, नेपाली श्रमिक जनताको मुक्ति र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका पक्षमा जीवनपर्यन्त सङ्घर्ष गरिरहे । राज्य व्यवस्थाको दमन, चौतर्फी अभाव, भोक र रोगले थलिँदा पनि आफ्नो विचार र लक्ष्यप्रति अविचलित र अडिग रहेका पुष्पलालको जीवन आफैँमा सङ्घर्ष, त्याग र बलिदानको अनुकरणीय नमुना रहेको महासचिव विप्लवको संश्लेषणले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा काङ्ग्रेससँग मोर्चा बनाउनुपर्छ भन्ने पुष्पलाललाई गद्दार भन्दै आफू क्रान्तिकारी देखिन खोज्ने र आज आएर त्यही काङ्ग्रेसको पुच्छर बन्ने मोहनविक्रम सिंह प्रवृत्तिदेखि पुष्पलालको क्रान्तिकारी बाटो त्यागेर दलाल पुँजीवादको चाकर बनिसक्दा पनि पुष्पलालको तस्बिर र नाउँ बेचेर खाने एमालेलगायत कम्युनिस्ट नाउँका दलाल पुँजीवादी पार्टीहरूको वास्तविक अवस्था उदाङ्गो भएको छ ।

पुष्पलाललाई सम्झिनु उनको विचार र उनले अघिसारेको कार्यदिशाप्रति इमानदार हुनु हो । नेपालमा नाउँधारी कम्युनिस्ट पार्टीको सङ्ख्या ठूलो छ तर क्रान्तिकारी कम्युनिस्ट पार्टी र आन्दोलनको नेतृत्व नेकपाले मात्र गरिरहेको छ । संसद्वादीहरूले पनि आफ्नो नाउँको अघिपछि कहीँ न कहीँ कम्युनिस्ट शब्द र फुर्को जोडेर नेपालको कम्युनिस्ट जनमत प्रभावित पारिरहेको अवस्थामा नेकपाले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा र यसको प्रयोगमा नामधारी नक्कली कम्युनिस्टहरूको भूमिकाले को पुष्पलालका उत्तराधिकारी हुन् र को होइनन् भन्ने प्रस्ट पारिदिनेछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आजीवन सङ्घर्ष गर्ने र सामन्तवाद, पुँजीवाद, साम्राज्यवादसँग कहिल्यै नझुकी अभावमै मृत्युवरण गर्ने आस्था र निष्ठाका पर्याय पुष्पलाल र सपना र विपनामा पनि सत्ताका लागि राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, परिवारवाद, नातावादमा रमाउने नक्कलीहरूका बीच तुलना हुनै सक्तैन । पुष्पलालका आदर्श र सपनाहरूलाई साकार पार्नु भनेको नेपालबाट दलाल पुँजीवाद अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । यसका लागि देश, श्रमिक जनता, सर्वहारा वर्गका पक्षधर सबै राजनीतिक शक्तिहरू एकीकृत जनक्रान्तिमा ध्रुवीकरण र एकताबद्ध हुनु आवश्यक र अपरिहार्य छ । यसले मात्र कमरेड पुष्पलालको अधुरो सपना पूरा हुनेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :