अनेमसंघ क्रान्तिकारी बुटवलको दोस्रो नगर भेला सम्पन्न

अनेमसंघ क्रान्तिकारी बुटवलको दोस्रो नगर भेला सम्पन्न

बुटवलः नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बुटवल उपमहानगरपालिका, रुपन्देहीको दोस्रो नगर भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले जाहेरा बानुको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।

कार्यक्रममा भेलाका प्रमुख अतिथि तथा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले विश्व कम्युनिस्ट आन्दोलन अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनमा महिलाहरूको योगदान अतुलनीय रहेको बताए । उनले वर्तमान दलाल संसदीय व्यवस्थाबाट महिलाहरूको मुक्ति सम्भव नरहेको भन्दै यसको अन्त्यको लागि महिला आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । उनले महिलाहरूमाथि भएका शोषण, दमन, भेदभाव लगायत समस्याको पूर्ण समाधान वैज्ञानिक समाजवादले दिने बताए । सेक्रेटरी विश्वासले आफ्नो पार्टीको नयाँ कार्यनीति अर्थात् प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादको बारेमा स्पष्ट पारे ।
अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले महिलामाथि हुने हरेक शोषणको अन्त्यको लागि पुँजीवादी राज्य सत्तालाई परास्त गर्नुपर्ने बताए ।

नेकपा बुटवल नगर सेक्रेटरी तथा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य विरेन्द्र विकले निर्मला पन्त, सम्झना कामी, सुजिता भण्डारी लगायतको हत्या भएको लामो समय बितिसक्दा पनि उनीहरूको हत्याराहरूलाई कारबाही गर्न नसक्नु दलाल सत्ताको चरम लापरबाही भएको बताए ।
अनेमसंघ केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष रेखा खनालले महिला मुक्तिका लागि ठोस पहल गर्न नसक्नु दलाल राज्य सत्ताको चरित्र भएको बताइन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रुपा बुढा मगरले सम्पूर्ण श्रमिक महिलाहरू एकताबद्ध भएर एकिकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन अपिल गरिन् ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य सन्देश, रोमियो, आत्मा, मगर मुक्ति मोर्चाका जिल्ला अध्यक्ष इश्वरी तरामु मगर, दलित मुक्ति मोर्चाका जिल्ला सचिव सरिता बराह, अखिल नेपाल जनसांस्कृति महासंघका जिल्ला अध्यक्ष बिहानी मगर, अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष पारस राहादी मगर, जनपत्रकार सङ्गठन नेपालका जिल्ला संयोजक प्रदीप राहादी मगर लगायत जबस मोर्चाका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ ।
सहिद परिवारकी मिना पौडेलको अध्यक्षताका सम्पन्न कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष इन्दु वलीले गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :