महासचिव कमरेड विप्लवको राजनीतिक भेटघाट र यसका तरङ्ग

महासचिव कमरेड विप्लवको राजनीतिक भेटघाट र यसका तरङ्ग

राजनीतिमा भेटघाट, छलफल सबै शक्ति वा व्यक्तिसँग सामान्य मानिन्छ । गर्न आवश्यक पनि हुुन्छ । क्रान्तिकारी पार्टीले झन् आफ्ना योजना र कार्यक्रमहरूलाई सही रूपमा लागू गर्न र ती आफ्ना क्रान्तिकारी योजनाहरूमा अरू राजनीतिक पार्टी वा व्यक्तिहरूलाई समाहित बनाउन वा परिचालन गर्न छलफल, विचार–विमर्शहरू गर्ने गरिन्छ । यो कुनै नौलो कुरा हैन । सबै शक्तिहरूलाई क्रान्तिविरोधी बनाउनु राजनीतिक सिद्धान्तका आधारमा पनि गलत ठानिन्छ । दुस्मनलाई सकभर एक्ल्याउनुपर्छ । दुस्मनको शक्तिलाई पनि आफ्नो कित्तामा पार्नुलाई सफलता मानिन्छ । युद्धनीतिसँगै र राजनीतिक विज्ञानमा पनि यो लागू हुन्छ । यही आधारमा नै अहिलेका भेटघाट भएका हुन् ।

लेखक : असल क्षेत्री

भेटघाट कुनै अपवित्र उद्देश्य राखेर गरियो वा क्रान्ति आन्दोलन र राष्ट्रिय हितको महत्वलाई अगाडि बढाउने पवित्र चाहनाले अग्रसर रहेर गरिएको हो, यो प्रश्न नै सर्वाधिक महत्वको रहने गर्छ । सारमा भन्दा अहिले नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले गरेको राजनीतिक पार्टीका नेताहरूसँगको भेट देश, जनता र राष्ट्रलाई केन्द्रमा राखेर गरिएको पवित्र भेट हो भनेर सजिलै बुझ्न सकिन्छ । यो प्रचण्डले २०६३ ०६४ तिर गरेको भेटजस्तो हैन, कुनै कोणबाट पनि यो भेटलाई त्यसरी बुझ्न सकिँदैन, बुझ्नु हुँदैन पनि । यो एकीकृत जनक्रान्तिको विचार र अहिले निर्माण गरिएको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रहको कार्यनीतिअनुरूप पार्टीले निर्णय गरेर गरिएको भेटघाट र छलफल हो । पार्टीहरूले देश, जनता र राष्ट्रहितका विषयमा के सोचिरहेका छन् ? राजनीतिक अस्थिरता र संसदीय प्रणाली असफल भै अदालतका निर्णयहरूले देश सञ्चालन हुने स्थितिमा अहिलेका राजनीतिक पार्टीहरूको बुझाइ र नियति बुझ्नु पनि जरुरी थियो । नेकपाले राज्यसँग गरेको तीनबुँदे सहमतिको कार्यान्वयनमा सरकार बदलिएर बनेको सरकार र त्यससँग संबन्धित राजनीतिक नेताहरूको बुझाइ र त्यसको कार्यान्वयनको विषय पनि कम महत्वको विषय हैन । तीनबुँदे सहमति कुनै राजनीतिक शक्ति वा व्यक्तिसँग नभएर राज्यसँग गरिएको विषय भएको हुनाले त्यसको स्वामित्व पनि अहिले बनेको सरकारले लेओस् भन्ने चाहनासहित यो भेटघाट जुरेको हो ।

भेटघाटमा के भयो ?

नेपाल कम्युनिस्ट पार्टीसँग तीनबुँदे सहमति गर्दाको सरकार ढलेको छ । तीनबुँदे सहमति कार्यान्वयन नगरेर वा गर्न नचाहेर सरकार ढलेको हुनाले पार्टीले अर्को सरकार र सरकारसँग सम्बन्धित राजनीतिक नेताहरूसँग भेट भएको हो । तर यति मात्रले भेट जुरेको बुझ्नु हुँदैन । पार्टीले जनमतसङ्ग्रह र प्रगतिशील संयुक्त सरकारको एजेन्डा लिएर सबैसँग बहस र छलफल गर्ने र सकभर आफ्नो कार्यनीतिमा सबैलाई सहमत बनाउने उद्देश्य लिएको छ । यो उद्देश्य लिनु स्वाभाविक नै छ । नेकपा एक्लैले चाहेर मात्र जनमतसङ्ग्रह हुने कुरा पनि हैन ।

पहिलो भेट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट नै जुर्यो । यो एउटा संयोगको कुरा मात्र हो । भेट अनिवार्य पनि थियो । विप्लव कमरेडले पार्टी निर्माण गरेपछि भेटको अवसर जुरेको थिएन । भेट नभएको पनि करिब एक दशक भैसकेको थियो । भेट विशुद्ध राजनीतिक उद्देश्यसहितको भए पनि वातावरण अलि भावनात्मक पनि बन्न पुग्नु स्वाभाविक नै हो । क. विप्लव र प्रचण्ड जनयुद्धमा सँगै हुँदा एउटै परिवारजस्तो गरेर रहेको कारणले पनि हुनुपर्दछ वातावरण अलि विप्लवप्रतिको अपेक्षासहितको भावनात्मक बन्न पुग्यो । अर्को कुरा सीता दाहालको स्वास्थ्यस्थिति र क. विप्लवलाई अँगालो हालेर सद्भावपूर्ण स्नेह र उनको शारीरिक अवस्थाले झन् सबैलाई उद्वेलित र भावुक बनायो । प्रचण्डको राजनीतिक स्खलनले पैदा गरेको असन्तुष्टिले गर्दा केही तरङ्ग र आक्रोश पनि पैदा हुन्थ्यो । जनयुद्धमा जस्तो प्रचण्डमा कुनै उत्साह देखिन्नथ्यो । यो पङ्क्तिकार पनि आफैँ त्यसको प्रत्यक्षदर्शी भएको र यो सब आफ्नै अगाडि देखेको घटना र वातावरण भएकाले यो कुनै बनावटी कुरा भएन । प्रचण्डमा पश्चाताप भएको पनि हुनुपर्छ । आत्मग्लानिले घर गरेको हुनुपर्छ । राजनीतिक, सामाजिक अवस्था, नेकपाले निर्माण गरेको कार्यदिशा, अहिले असफल सिद्ध बन्दै गएको संसदीय व्यवस्था र त्यसले नेपाली राजनीतिमा निम्त्याएका जटिलताहरूका साथै त्यसको समाधानका विषयमा क्रान्तिकारी दृष्टिकोण महासचिव कमरेडले प्रस्तुत गर्दा उद्वेलना र भावुक प्रचण्डको भावाकृति हेर्नलायक थियो र सुन्नलायक विषय बनेको छ । जनयुद्धका कुशल क्रान्तिकारी सर्वोच्च कमान्डरको विसर्जन र क्रान्तिप्रतिको धोकाले उनको राजनीतिक जीवन नै सखाप बनाएको छ । भावनात्मक रूपमा कहिलेकहीँ धेरै पीडाको विषय पनि बन्ने गरेको छ ।

क्रान्तिकारी राजनीतिका सबै अवशेषहरूसमेत मेटाउँदै संसदीय राजनीतिका चतुर खेलाडीमा अब्बल देखिन तल्लीन प्रचण्ड र क्रान्तिकारी आन्दोलनका अहिलेका नायक विप्लवबीचको भेटवार्ता बाहिर र भित्र पनि अलि बढी चर्चा र चासोको विषय बन्न पुुग्यो । भेटका उद्देश्यहरूबारे चर्चा गरिसकिएको छ, यसबारे खास चर्चा नगरौँ । भेटले निम्त्याएका केही महत्वपूर्ण प्रश्नहरू के थिए भन्ने चर्चा गर्नु अहिले सान्दर्भिक होला ।
सकारात्मक कुरा

सबै राजनीतिक पार्टीका प्रमुुख र सरकारसमेत हाम्रा कुराहरूप्रति सकारात्मक रहनु । पहिलो सरकारसँग भएका सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको कुरा र छिट्टै लागू गर्ने वचनबद्धता गर्नु सकारात्मक पक्ष हो । आशा छ तीनबुँदे सहमति छिट्टै कार्यान्वयन हुनेछ । हाम्रा बन्दी साथीहरू सबै छुट्नेछन् । सबै मुद्दाहरू खारेज हुनेछन् ।

 

भेटले क्रान्तिकारी मनोविज्ञान र माओवादी आन्दोलनबाट आएको शक्तिलाई आशा जगाएको छ । यो सकारात्मक कुरा नै हो । पार्टी एकता कार्यगत एकता माओवादी आन्दोलन र सिङ्गै कम्युनिस्ट आन्दोलन निराशाको भुमरीमा रहेकाले यसले अब कतै क्रान्तिकारी आन्दोलनको एकताको सूत्र नै पो भेटाउँछ कि भन्ने सामान्य मनोविज्ञान वनेको छ । यसलाई नकारात्मक रूपमा व्याख्या गर्नु हुँदैन र सकिँदैन । क्रान्तिप्रति विश्वास रहेका तर पुरानै नेतालाई छोड्न नसकेका कतिपय कमजोर मनोबल बनाएर बसेका नेता–कार्यकर्तामा मनोबल भर्ने गरेको छ । उच्च मनोबल गरेका क्रान्तिकारी शक्तिले अहिले भिजेको बिरालोजस्तो जिउनुपरेको पीडामा सामान्य तापको काम गरेको छ । प्रचण्डको क्रान्तिकारी रूपान्तरण हुने हो भने नेपालको माओवादी आन्दोलनले पुनः आशाको दियो भर्नसक्ने सपना बुनेर बसेको शक्ति जुर्मुराउन खोजेको देखिन्छ तर प्रचण्ड रूपान्तरण हुने सम्भावना कमजोर छ । अर्को ओली सरकार रहँदा नेकपासँग गरिएको तीनबुँदे सहमतिको स्वामित्व यो सरकारले ग्रहण गर्ने तहमा प्रचण्ड सकारात्मक रहनु कार्यान्वयन गर्ने तहमा पुर्याउन प्रतिबद्धता र वचनबद्धता जाहेर गर्ने विषय पनि सकारात्मक विषय नै हो ।

वर्तमान राजनीतिमा देखिएको अस्थिरता, अन्योल र संसदीय व्यवस्था असफल भएको कुरामा प्रचण्ड पनि विश्वस्त (कन्भिन्स) हुनु राम्रो कुरा हो । अहिलेको व्यवस्थाको समाधानका रूपमा नेकपाले अगाडि सारेको कार्यनीतिक नारा संयुक्त प्रगतिशील सरकार र जनमतसङ्ग्रहका विषयमा चासो, जिज्ञासा र आशावादी बन्नु ।

भेटले उठाएका केही नकारात्मक प्रश्न र प्रभावहरू

भेटले केही शक्ति र व्यक्तिमा प्रश्नहरू उठाएको छ । यो स्वाभाविक पनि होला । आज नेपालको क्रान्तिकारी आन्दोलन वा पङ्क्ति अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ भनेझैँ भएको छ । प्रचण्डसँग भेट्दा पनि त्यस्ता कयौँ प्रश्नहरू उठ्ने गरेका छन् । प्रचण्डको चास्नीमा डुब्नु हुँदैन, बरु एक्लै भएर पनि क्रान्तिको यात्रालाई अगाडि बढाउनुपर्छ भन्ने सदाशयताले यस्ता प्रश्नहरू उठ्नुलाई अस्वाभाविक ठान्नु हुँदैन । प्रचण्डले विगतमा क्रान्ति, देश र जनतालाई दिएको धोकाका कारण पनि यो वातावरण बनेको हुनुपर्छ । सामान्य पश्चातापलाई मात्र जनता र क्रान्तिकारीहरूले बिश्वास गर्नसक्ने वातावरण बन्न कठिन त छ नै तर पनि रूपान्तरण र परिवर्तन गर्न कोसिस गरिरहनु क्रान्तिकारीहरूको दायित्व हो । क्रान्तिकारी पङ्क्ति त्यति सङ्कीर्ण पनि बन्नु हुँदैन । क्रान्तिकारीहरूले ठूलो दिल बनाएर सबै पङ्क्तिसँग बहस र छलफल गर्नु अनिवार्य छ । पछाडि फर्किएको प्रचण्ड प्रवृत्तिले अबको क्रान्तिलाई अगाडि बढाउने भने हैन । क्रान्तिविरोधी शक्तिका रूपमा नरहोस् भनेर भेटिएको मात्र हो, त्योभन्दा माथिबाट यसको अर्थ खोज्नु हुँदैन । जनयुद्धका सपनाहरूबाट भागेर, थाकेर प्रतिक्रियावादीहरूको पोल्टामा आफ्नो निजी स्वार्थपूर्ण जीवनको भिक माग्ने प्रचण्ड प्रवृत्तिलाई धेरै विश्वास गरेर भेटिएको वा क्रान्तिकारी, बडेमानको नेता र एकताको उद्देश्य लिएर भेटिएको तर्क गर्न सुहाउँदैन । हो, हामी जनयुद्धमा सँगै लडेको इतिहास र भावना छ । भावनाले क्रान्ति हुने हैन । क्रान्ति त क्रान्तिकारी दृष्टिकोणसहित निर्माण भएको सही नेतृत्व अनि विचारले मात्र गर्न सम्भव छ । यो हाम्रो पार्टीे र नेतृत्वमा प्रस्ट देखिन्छ । कतिपय शक्ति र व्यक्ति यो भेटबाट धेरै आतङ्कित र भयभीत भएको पनि देखियो । यसो हुन जरुरी छैन । साम्राज्यवादी, दलाल र प्रतिक्रियावादीहरू भेटपछि कतै बृहत् कम्युनिस्ट एकता भयो र जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवादी व्यवस्था आउने भयो भने त अप्ठ्यारो पर्न सक्छ, आफ्नो राज ढल्न सक्छ भनेर आतङ्कितसम्म भएको देखियो भने कतिपय क्रान्तिकारी भनिनेहरूमा समेत सङ्कीर्ण मन बनाएर आशङ्का ब्यक्त गरेको समेत सुनियो ।

क्रान्तिकारी साँघुरोपनले मात्र क्रान्ति हुन र गर्न सम्भव छैन । क्रान्तिकारीहरूको बृहत् शक्तिशाली मोर्चा नबनाएर एक्लै गरिने र हुने चीज हैन क्रान्ति । इतिहासमा हामीले पढ्ने गरेका छौँ– लेनिनले जर्मनीसँग सम्झौता गर्दा आफ्नो भूमिसमेत छोड्नुपरेको थियो । लेनिनलाई कतिपयले राष्ट्रघातीसमेत भनेका थिए । माओले छुङकिङ वार्तामा आफ्नो सेनाको नाम नै बदल्नुपरेको थियो र कतिपय जनसत्ता र सेनाको कटौती गर्नुपरेको थियो । वार्ताहरूमा लेनदेन हुन्छ, तलमाथि पनि हुन सक्छ तर अहिले हामीले गरेको छलफल मात्र हो । वार्ताहरू पनि हुन सक्छन् । वार्ता गर्दा यस्तो त हुन्छ नै तर हामीले अहिले छलफल मात्र गर्दा धेरै आशङ्कित र भयभीत हुनु पर्दैन । क्रान्तिकारीहरू पराजित हुने गरी विचारको विसर्जन र उपलब्धिहरू गुम्ने गरी कुनै पनि सम्झौता हुनेछैन भनेर नेतृत्वले धेरैपटक प्रस्ट पारिसकेको छ । यसमा धेरै आशङ्कित हुनुपर्ने कारणहरू देखिँदैन तर पनि सुझाव र खबरदारीका रूपमा व्यक्त भएका कुराहरू पार्टी र नेतृत्वले सकारात्मक रूपमा नै ग्रहण गर्नेछ ।
प्रचण्डदेखि माधव नेपाल, बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, केपी ओली हुँदै जनार्दन र महरासम्मको भेट र छलफलले क्रान्ति, परिवर्तन र नेकपाले गरेको विश्लेषणलाई सही साबित गरेको छ । उहाँहरू सबैको अहिलेको परिस्थितिप्रतिको असन्तुष्टि र अकर्मण्यता क्रान्तिका निम्ति ऊर्जा साबित हुने सम्भावना बढेको छ । संसद्‌वादमा नै बसेर संसदीय व्यवस्थाप्रतिको असहमतिले जनमतसङ्ग्रहको कार्यनीति अप्रत्यक्ष रूपमा भए पनि सबैको दिमागमा घुस्न सफल भएको छ । जनमतसङ्ग्रहको नेकपाको नारा वैज्ञानिक हो भन्ने प्रमाणित हुँदै गएको छ । भेटघाट र छलफलले क्रान्तिको अनिवार्यता र अहिले नेकपाले भन्दै आएको नाराको प्रचार जनजनको दिमागमा पुुगेको छ । यसले के पुष्टि गर्दछ भने नेकपाले भन्दै आएको वैज्ञानिक समाजवाद र क्रान्तिको नयाँ मोडेल सही र वैज्ञानिक रहेको कुरा प्रमाणित गर्दै गएको छ । दलाल संसदीय पुँजीवादी व्यवस्था धराशयी हुँदै असफल सिद्ध भएको छ । दलाल संसदीय व्यवस्थाको समाप्तिमा मात्र वैज्ञानिक समाजवादको जीवन छ । संसद्‌वाद रहँदासम्म नेपाली श्रमिक जनताले न अधिकार प्राप्त गर्छन्, न मुक्ति नै सम्भव छ ।

अन्त्यमा, हाम्रा कतिपय नजिकका शक्ति र व्यक्तिहरूले पनि हाम्रा छलफल, बहस र हाम्रा नाराप्रति आशङ्कासहितको बहस गर्न चाहेको देखियो । यसलाई सकारात्मक रूपमा नै ग्रहण र बहस गर्न हाम्रो पार्टी तयार छ । कार्यनीतिहरू छिनछिनमा परिवर्तन हुन् सक्छन् । क्रान्तिकारीहरूका नारा हावामा उड्ने खालका मात्र बनाउने तर जनताको दैनिकीसम्म नपुग्ने बनाउनु हुँदैन । क्रान्तिकारीहरूले जमिनलाई शक्तिशाली ढङ्गले पकडेको हुनुपर्छ । माक्र्सवादका अक्षर नै परिवर्तन गर्नु हुँदैन, सकिँदैन भन्ने जडसूत्रीय मनोविज्ञानवाट आजको क्रान्तिको नेतृत्व र बहस गर्न सम्भव छैन । मालेमाका आधारभूत सिद्धान्तमा टेकेर आजको समाजको विश्लेषण र दृष्टिकोणहरूको निर्माण गर्नु पर्दछ । नेपालका सबै राजनीतिक पार्टीका प्रमुखहरू र केही बौद्धिक भेटहरूले के देखायो र अन्तिम र सत्य–निष्कर्ष के हो भने अहिलेको संसदीय व्यवस्था पूर्णतः असफल र बदनाम भैसकेको छ । यो व्यवहारमा नै प्रस्ट भैसकेको कुरा हो । जति नै टालटुल पारे पनि यो व्यवस्थाले आमश्रमिक जनताको अधिकार र परिवर्तनको आकाङ्क्षालाई पूरा गर्न सक्दैन । जनताको समस्याको सामाधान केवल समाजवादी व्यवस्थाले मात्र गर्न सम्भव छ । जनताको आमूल परिवर्तनको आकाङ्क्षालाई पूरा गर्न र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न क्रान्ति नै अन्तिम अस्त्र हो । क्रान्ति नै अन्तिम सत्य हो ।

अहिलेको क्रान्तिको प्रयोग प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहको नाराबाट व्यक्त भैरहेको छ । सबैखाले प्रयोगहरूलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्छ । भ्रष्टाचार र दलालीको दलदलमा फसेका कथित नामधारी कम्युनिस्टहरूवाट पनि धेरै ठुलो अपेक्षा गर्नु हुँदैन तर भ्रमबस वा भुलबस रहेका त्यहाँभित्रको क्रान्तिकारी पङ्क्तिलाई एकताबद्ध र ध्रुवीकृत गर्दै लैजाने र क्रान्तिकारीहरूको दायरालाई विशाल बनाउने अभियानलाई क्रान्तिकारी पङ्क्तिले प्राथमिकतामा राखिराख्नुपर्छ । क्रान्तिकारी कार्यदिशा र नेतृत्वमा कुनै पनि सम्झौता नहुने गरी कतिपय व्यक्ति र शक्तिसँग एकता गर्न पनि सकिन्छ । क्रान्तिकारी कार्यदिशा, नेतृत्व र पार्टीलाई कसैको पोल्टामा बुझाउने गरी, क्रान्तिलाई तिलाञ्जली दिने गरी कुनै–कसैसँग एकता गर्न सकिँदैन, सम्भव पनि छैन । क्रान्तिकारी नेतृत्व विचार र पार्टीबिना क्रान्ति र परिवर्तनको कुरा सम्भव कुरा हैन । एक्काईसौँ शताब्दीमा विज्ञान र प्रविधिलाई सही ढङ्गले बुझेको नेतृत्व र एकीकृत क्रान्तिको विचारले मात्र अहिलेको संसदीय व्यवस्थाको विकल्प दिनसक्छ । त्यो भनेको वैज्ञानिक समाजवाद हो । यसमा हाम्रो पार्टी नेतृत्व प्रस्ट छ । यसबाट कोही पनि आशङ्कित हुनु हुँदैन । कि अन्ध विरोध गर्ने कि अन्ध समर्थन गर्ने पुरानो गएगुज्रेको स्कुललाई भत्काएर रचनात्मक बन्नु आजको क्रान्तिको आवश्यकता हो । हाम्रा लक्ष्यहरूलाई असम्भव र सुदूरभविष्यको विषय नबनाएर उज्ज्वल र सुन्दर भविष्यको सुन्दर सपनासहित सबै क्रान्तिकारीहरू एकढिक्का हुने हो भने वैज्ञानिक समाजवाद हाम्रै अगाडि छ, सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :