चार विद्यार्थी सङ्गठनद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी 

बुटवल : रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेको छ । MBS को प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चित समयसम्म तालाबन्दी गरेको अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला सदस्य तथा सङ्गठनका क्याम्पस अध्यक्ष नयन अर्यालले जानकारी दिए । 

अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिँदै प्रेस विज्ञप्ति जारी गरि तत्काल MBS फाराम खुलाउन माग गरेको थियो । तर ४ दिन बितिसक्दा पनि क्याम्पस प्रशासनले उक्त मागलाई बेवास्ता गरेको भन्दै बिहीबार चार विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको हो ।

चार विद्यार्थी सङ्गठनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘४ दिन बितिसक्दा पनि बेवास्ता गर्दै क्याम्पस प्रशासन पूर्ण रुपमा शैक्षिक माफियाको मतियार बनेको हुँदा बाध्यताबस तालाबन्दी गर्न बाध्य भएका छौँ । यस आन्दोलनलाई थप बेवास्ता गरेमा थप शसक्त रुपमा आन्दोलनमा जाने निश्चित नै छ र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :