सीमा अतिक्रमण र वैदेशिक हस्तक्षेपका विरुद्ध कञ्चनपुरमा प्रदर्शन

सीमा अतिक्रमण र वैदेशिक हस्तक्षेपका विरुद्ध कञ्चनपुरमा प्रदर्शन

कञ्चनपुर : सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धि–सम्झौताका विरुद्धमा अखिल (क्रान्तिकारी) ले कञ्चनपुरको ब्रह्मदेवमा विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यवाद, बदलिँदो राजनीतिक सङ्कट, शैक्षिक विकृति लगायत विविध विकृति विसङ्गतिविरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पनि बिहीबार सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धि–सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी) का सेती–महाकाली व्युरो संयोजक तथा उक्त कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्र शाहले सम्बोधन गर्दै वर्तमान विगतदेखि सत्तामा बस्ने शासकहरूले देशमा विभिन्न किसिमका देशको सार्वभौमिकता, राष्ट्रियता, स्वतन्त्रतालाई नै ओझेलमा पर्ने गरी देशलाई सङ्कटमा पर्ने गरी समस्या निम्त्याएको जिकिर गरे । उनले विगतमा भएका असमान सन्धि–सम्झौता, बढ्दो विदेशी चलखेल र त्यसले देशमा ल्याएको अस्थिर राजनीतिक सङ्कट नेताहरूको मात्र नभई सिङ्गो राज्य व्यवस्थाको नै असफल अभ्यास भएको बताए । अहिलेको आवश्यकता भनेको यो दलाल संसदीय व्यवस्था अन्त्य गरी जनताको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । जुन समाजवादी व्यवस्थामा सबै किसिमका उत्पीडन, विभेद, असमानता, वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण, असमान सन्धि–सम्झौता लगायत सम्पूर्ण समस्याको अग्रगामी हल भएको र यो व्यवस्था बदल्नु बाहेक अरू विकल्प नभएको शाहले बताए ।

कार्यक्रममा अतिथि ग्रेटर नेपालका केन्द्रीय उपाध्यक्ष तथा सुदूर–पश्चिम संयोजक गजेन्द्र पाण्डे, त्रीमुल पार्टी नेपालका सुप संयोजक सुबास धामी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेल, सुप इन्चार्ज नरेन्द्र भाट लगायतले राष्ट्र र राष्ट्रियताको विषयमा मन्तव्य राखेका थिए भने उक्त कार्यक्रम अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष ललित एसकेले सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा गएका अभियानकर्मीहरूले सीमा नजिक अनुगमन गर्न जाँदा अप्ठ्यारो हुन्छ जान मिल्दैन भन्दै नेपाल प्रहरीले ठाडो हस्तक्षेप गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :