महासचिव विप्लवको राजनीतिक भेटघाट र नेता सुदर्शनको जेलमुक्ति

महासचिव विप्लवको राजनीतिक भेटघाट र नेता सुदर्शनको जेलमुक्ति

मुलुकमा राजनीतिक अन्योल र अस्थिरता बढेपछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको चलखेल बढ्न थाल्छ । यतिबेला पनि मुलुकमा एकातिर वैदेशिक शक्तिहरू चलमलाइरहेका छन् भने अर्कातिर देशभित्रकै प्रतिक्रियावादी शक्तिहरू जुँगामा ताउ लगाएर प्रतिगमनलाई स्थिर बनाउने दुःस्वप्न देखिरहेका छन् । अदालतले राजनीतिक पार्टीको शक्ति क्षीण बनाएर केपी ओली सरकारको पतन र शेरबहादुर देउवा गठबन्धनलाई सरकारमा आसीन गराइदिएपछि मुलुक एकपटक फेरि तरङ्गित र थप प्रदूषित बनेको छ ।

देश र जनताको भाग्य र भविष्यमाथि काला नङ्ग्रा र फणाहरू फैलिइरहेको बेला एउटा सुन्दर सपना बोकेर नेकपाका महासचिव विप्लव दलका नेताहरूलाई खबरदारी गर्दै प्रत्येक राजनीतिक पार्टीका कार्यालयहरूको घन्टी र तिनका थोत्रा मस्तिष्कका नसाहरू थिचिरहेका देखिन्छन् । हृदयभरि देश र श्रमिक जनताको मुक्तिको सपना बोकेका स्वप्नद्रष्टाहरू मुलुकमाथि सङ्कट आइपर्दा अलमस्त सुतेर निदाउनसक्ने कल्पनै गर्न सकिँदैन । पार्टीमाथिको प्रतिबन्ध हटेर खुला गतिविधि बढेसँगै नाटकीय रूपले केपी ओली सरकारको पतन भएको छ । महासचिव कमरेड विप्लवको क्रियाशीलता र राजनीतिक भेटघाटले तीव्रता लिएसँगै नेपाली जनताको खुसीको मात्रा पनि बढिरहेको देखिन्छ । जनताको खुसीको मात्रा बढ्नुमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य कमरेड सुदर्शनको जेलमुक्ति पनि थप कारण बनेको छ । २८ महिना लामो गैरन्यायिक जेल र हिरासत बसाइपछि सर्वोच्चको आदेशमा जेलमुक्त भएका नेकपा नेता सुदर्शनले नारायणगोपाल चोकमा उभिएर गरेको सम्बोधनले देश, जनता र जारी एकीकृत जनक्रान्तिको हत्याको दुःस्वप्न देखेकाहरूको निद्रा झनै बिथोलिदिएको अनुमान गर्न कुनै कठिनाइ छैन ।

नेकपाका महासचिव विप्लवले राजनीतिक अन्योल, अस्थिरता, अलमल र अस्थिरताकै बीच विभिन्न संसद्वादीदेखि क्रान्तिकारी राजनीतिक पार्टीका नेतासम्मलाई भेटेर मुलुकको वर्तमान र भविष्यप्रति चिन्ता प्रकट गरेका छन् । उनले देश र जनतालाई ध्वस्त बनाउने दलाल पुँजीवादको विकल्पका रूपमा वैज्ञानिक समाजवाद स्थापना गर्ने सुस्पष्ट बाटो अघि सारेपछि र नेकपाको राजनीतिक प्रस्तावमा जनताको लहर बढ्न थालेपछि जनताका वैरीहरू अत्तालिन थालेका छन् । संसद्‌वादी दलहरू देश, जनता र सत्तालाई हड्डी बनाएर लुछाचुँडी गरिरहेका घिनलाग्दा दृश्यहरूका बीचमा महासचिव कमरेड विप्लवको क्रियाशीलता, कमरेड सुदर्शनको रिहाइ र सम्बोधनले सुन्दर र आशावादी दृश्यहरू जन्मिएका छन् र मानिसहरूको हृदयको चाललाई बढाइदिएका छन् । क्रान्तिकारी तप्काको हृदयको ढुकढुकीको चाल आशावादले बढेको छ भने प्रतिक्रान्तिकारी, अवसरवादी, घुसपैठिया, षड्यन्त्रकारी र दलाल पुँजीवादीहरूको मुटुको चाल आफ्नो सुखको स्वर्गको समाप्तिको कल्पनाले बढेको देखिँदैछ । नेता सुदर्शनले आन्दोलनभित्रदेखि बाहिरसम्मका क्रान्तिका बाधकहरूलाई ललकार्दै जतिसुकै षड्यन्त्र र दमन गरे पनि क्रान्तिबीज अङ्कुराएरै छाड्ने र क्रान्ति सफल भएरै छाड्ने उद्घोष गरेका छन् । उनको यो उद्घोष मरुभूमिमा थप पानीको थोपाको काम गरेको छ । महासचिव विप्लवको क्रियाशीलता र लहरलाई सुदर्शनको मुक्ति र सम्बोधनले थप बल प्रदान गरेको अनुभूति हुन्छ ।

महासचिव विप्लवले जनयुद्धलाई धोका दिँदै दलाल पुँजीवादको रक्षक बनेका पुष्पकमल दाहाल, दलाल पुँजीवादमै आफ्नो भविष्य देखिरहेका माधव नेपाल, भर्खरै सत्ताबाट पलायन भएका केपी ओली, कम्युनिस्ट आन्दोलनबाट भागेका बाबुराम भट्टराईदम्पती, माओवादी केन्द्र छाडेर केपी ओलीलाई साथ दिँदै एमाले प्रवेश गरेका रामबहादुर थापा समूहसम्मका नेताहरूदेखि क्रान्तिकारी बाटोमै रहेका मोहन वैद्य ‘किरण’ र जनयुद्ध तथा एकीकृत जनक्रान्तिका सहिद परिवार र घाइते-अपाङ्ग योद्धासँग भेटवार्ता, छलफल, बहस गरेर आफ्ना एजेन्डाहरू स्थापित गरेपछि क्रान्तिका पक्षधर र विरोधीहरूले व्यक्त गरेका प्रतिक्रियाहरूबाटै थाहा पाउन सकिन्छ– अब नेपाल र नेपाली जनताले शोषणमूलक व्यवस्थाको अन्धकार युगमा रुमल्लिएर बस्नुपर्ने दिनहरू समाप्त हुँदै गएका छन् र मुलुकमा एउटा नयाँ सूर्योदय हुँदैछ । दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको उदयले मात्र नेपाल र नेपाली जनताको भविष्य सुनिश्चित गर्नेछ भन्ने प्रस्ट दृश्यहरू देखिइरहेका छन् । यी दृश्य र सङ्केतहरू नेपाली जनताका लागि सुख र खुसीसँग अघि बढ्ने आधारहरू हुन् । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :