जनसांस्कृतिक महासङ्घद्वारा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ खारेज गर्न माग

जनसांस्कृतिक महासङ्घद्वारा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ खारेज गर्न माग

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच पुर्याउने राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ खारेज गर्न माग गरेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी ट्राफिक र यात्रुहरूको हितरक्षासँग सरोकार राख्ने नम्बर प्लेटमा नेपाली भाषाको वर्णाक्षर र अङ्क पर्याप्त हुँदाहुँदै पनि आत्मघाती ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग गरिनु नेपाली जनताको नैसर्गिक भाषिक र गोपनीयताको हकको गम्भीर हनन् हुने भन्दै साम्राज्यवादी योजनामा ल्याइएको ‘इम्बोस्ड नम्बर’ तत्काल खारेज गर्न माग गरे ।

तथाकथित सरल र प्रविधिमैत्रीको आबरणमा नेपाल र नेपाली जनताको अस्तित्व समाप्त पार्ने यसप्रकारको साम्राज्यवादी नीति कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

विज्ञप्तिमा लेखिएको छ, –‘आधुनिक प्रविधिबाट विश्वका अन्य देशले चौतर्फी प्रभाव विस्तार गर्ने तर त्यही प्रविधिको आवरणमा हामी नेपालीहरूलाई खुम्च्याउने यो भयानक षड्यन्त्र हो । नेपालको दलाल संसदीय सत्ताले नेपाल र नेपाली जनताको सार्वभौम अस्तित्वमाथि दिनदहाडै धावा बोल्दै अघि सारेको आत्मघाती, जनघाती तथा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ को विरुद्ध हाम्रो सङ्गठन सबै प्रकारको सङ्घर्षको विधि अपनाउन तयार छ ।’

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ राष्ट्रियता र जनपक्षीय कला–साहित्यको पक्षमा लामो समयदेखि कठोर सङ्घर्ष गर्दै आएको भन्दै विज्ञप्तिमा भनिएको छ, –‘नेपालको राष्ट्रियता, कला, भाषा, साहित्यको रक्षा, विकास र विस्तारमा हाम्रो सङ्गठन निरन्तर क्रियाशील छ । यसर्थ, ‘इम्बोस्ड नम्बर प्लेट’ जस्तो भाषाघाती तथा राष्ट्रघाती निर्णयका विरुद्ध सशक्त आन्दोलनमा उत्रिन देशभक्त, प्रगतिशील, क्रान्तिकारी, कलाकार, वकिल, बुद्धिजीवी, लेखक–साहित्यकार एवम् सम्पूर्ण जनसमुदायमा हाम्रो सङ्गठन हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :