अखिल (क्रान्तिकारी) द्वारा महँगी र कालोबजारीको विरोधमा प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा महँगी र कालोबजारीको विरोधमा प्रदर्शन

बुटवल : नेकपा निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले महँगी र कालोबजारीविरुद्ध बुटवलमा विरोध प्रदर्शन गरेको छ । सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार क्रान्तिकारीले मङ्गलबार उक्त प्रदर्शन गरेको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विकले वर्तमान दलाल राज्यसत्ताका कारण महँगी र कालोबजारीले जनताको जीवन निकै दर्दनाक बनाएको बताए । उनले पेट्रोलियम पदार्थलगायत सबै वस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरे ।

जनताको प्रत्यक्ष दैनिक जनजीवनसँग जोडिएका सबै उपभोग्य वस्तुहरूमा भईरहेको मूल्यवृद्धि तत्काल खारेज नगरिए दलाल राज्यसत्ताविरुद्ध सङ्गठनले देशव्यापी कडा सङ्घर्ष र आन्दोलन गर्ने चेतावनी उनले दिए । विकले वर्तमान नेपाली राजनीतिमा देखिएको सङ्कटको निकास निर्विकल्प वैज्ञानिक समाजवाद भएको बताए । उनले पार्टीले अगाडि सारेको व्यवस्था बदल्ने चुनाव जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापनाका लागि साथ दिन सम्पूर्ण नेपाली जनसमुदायलाई अपिल गरे ।

कार्यक्रममा नेकपाका नेता-कार्यकर्ता, विद्यार्थी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । कार्यक्रम सङ्गठनका रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :