महँगी र कालोबजारीविरुद्ध सल्यानमा प्रदर्शन

महँगी र कालोबजारीविरुद्ध सल्यानमा प्रदर्शन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी समर्थित विभिन्न जनवर्गीय सङ्गठनहरूको महँगीविरुद्ध सङ्घर्षको केन्द्रीय कार्यक्रमअन्तर्गत अखिल क्रान्तिकारी सल्यानको आयोजना र युवा सङ्ठनको सहभागितामा विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गरिएको छ ।

विरोध कार्यक्रममा कालाबजारियालाई कारबाही गर्न, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न, किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य निर्धारण गर्न, कोरोनाविरुद्धको खोप निःशुल्क सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन, जातीय विभेद अन्त्य गर्न, बलात्कारीलाई कडा कारबाही गर्न, वैकल्पिक शिक्षण विधिको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्न, विभिन्न बहानामा लिइने चर्को शुल्क खारेज गर्न माग गरिएको छ ।

त्यसैगरी विद्यार्थीलाई ४५% गाडीभाडा अनिवार्य छुट गर्न, विद्यार्थीको बन्दाबन्दी अवधिको कोठाभाडा छूट गर्न, नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न, जनतालाई शासन व्यवस्था चुन्ने अधिकार प्रदान गर्नलगायत विभिन्न नारा लेखिएका प्लेकार्डसहित विरोध कार्यक्रम गरिएको प्राप्त समाचारमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल सल्यानका अध्यक्ष प्रकाश गिरीले महँगी, कालोबजारी नियन्त्रणको माग गर्दै गरिखाने वर्गलाई कोरोनाले पारेको असर कम गर्न राज्यले तुरुन्त सम्बोधन गर्नुपर्ने बताए ।

विरोध कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी सल्यानका उपाध्यक्ष राजेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :