संसदीय व्यवस्थामा कोही प्रधानमन्त्री बन्दैमा दीप बाल्नु पर्दैन : विकास

संसदीय व्यवस्थामा कोही प्रधानमन्त्री बन्दैमा दीप बाल्नु पर्दैन : विकास

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाअन्तर्गत तुलसीपुर नगर इन्चार्ज विकासले यही व्यवस्थामा कोही प्रधानमन्त्री बन्दैमा दीप बाल्नु नपर्ने बताएका छन् । पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले आयोजना गरेको महँगी र कालोबजारीका विरुद्धको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

इन्चार्ज विकासले संसदीय व्यवस्था असफल सिद्ध भइसकेको बताउँदै देश र जनताको मुक्तिका लागि वैज्ञानिक समाजवादी राज्यव्यवस्था नै निर्विकल्प भएको धारणा व्यक्त गरे । यो मरिसकेको व्यवस्थामा जोकोही प्रधानमन्त्री बने पनि दीप किन बाल्नुहुन्छ ? उनले प्रश्न गरे । वैज्ञानिक समाजवादका विरुद्ध प्रतिक्रियावादीहरू गम्भीर षड्यन्त्रको तयारीमा रहेको उनको भनाइ थियो ।

विरोध प्रदर्शलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) राप्ती ब्युरो संयोजक दीपकले भ्रष्टाचार, कमिसन, दलाली, अनियमितता, कृत्रिम अभाव, हत्या, हिंसा, बलात्कार, अपहरण, गुन्डागर्दीबाहेक जनताले अरू केही प्राप्त गर्न नसकेको तीतो यथार्थ सुनाउन बाध्य भएको बताए । उनले सबैखाले मूल्यवृद्धि, कालोबजारीको अन्त्यको माग गरे । एक फरक प्रसङ्गमा संयोजक दीपकले सत्तानिकट सङ्गठनहरू कोही प्रधानमन्त्री बन्दा दीप प्रज्वलन गर्ने, कोही प्रधानमन्त्रीबाट हट्दा टायर बाल्नेहरूबीच तात्विक भिन्नता नभएको प्रस्ट पारे ।

जनताका मुद्दाहरूमा सत्तासीन सङ्गठनहरू किन सडकमा आउँदैनन् ?– उनले प्रश्न गरे । उनले आफूहरू प्रतिबन्ध, जेल, हिरासत सबै पीडा भोगेर आएको र जनताको जीवनमा संसदीय व्यवस्थाले लादेको पीडाको तुलनामा आफ्ना पीडाहरू सामान्य रहेको धारणा राखे । उनले मासु र रक्सीले निर्धारण गर्ने चुनाव खारेज गरी अविलम्ब प्रगतिशील संयुक्त सरकार गठन गरेर जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जोडदार माग गरे । उनले खाने तेल, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धि खारेज गर्न र किसानहरूलाई मल र बीउको सहज आपूर्ति नगरे आफूहरू देशव्यापी कडा सङ्घर्ष गर्न बाध्य हुने बताए ।

विरोध प्रदर्शनको सहजीकरण अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले गरेका थिए । विरोध प्रदर्शनमा खाद्य सम्प्रभुताको ग्यारेन्टी गर, वैज्ञानिक मूल्य निर्धारण गर, बजारमा कृत्रिम अभाव उत्पन्न गर्नेलाई कारबाही गर, शैक्षिक माफियाहरू मुर्दावादलगायत प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :