सहिद र काठमान्डु

कविता

सहिद र काठमान्डु

अलिकति आशा र अलिकति मुस्कान
अलिकति बालवयका यादहरूले
सुन्दर देश, सुन्दरताकै अभिलासा सजाएर
खाडीका भतभती पोल्ने बालुवाजस्तै मन
सिंहदरबारमा गायब पारिएका विकासे बजेटलाई
बाध्यता र विवशतालाई बटुकामा सँगालेर
असीमित आकाङ्क्षा र जिजीविषाका साथ पर्खिरहेछन्
काठमान्डुको सडकपेटीमा एकजना सहिद ।

सडकमा यात्रीहरू आइरहेछ्न र गइरहेछन्
स्वेदशी विदेशी नबुझिने आकृतिहरू तँछाड मछाड गरिरहेछन्
कोही आधुनिक काठमाण्डुको नशा पिइरहेछन्
कोही गन्धापुरी धुलोमाण्डुको दुर्दशा जिइरहेछन्
जीर्ण तन जस्तै जीर्ण मनलाई
अव्यवस्था र अत्याचारको तातो न तातो भुङ्ग्रोभित्र
लामो सुस्केराका साथ अवर्णनीय पीडाहरू ओकल्दै
काठमान्डुको सडकपेटीमा कुरिरहेछ
देशको लागि बलिदान गरेको एकजना सहिद ।

प्रत्येक दिन काठमाण्डुमा पाकिरहेछ सहिदको सपना
कोही निर्लज्ज फ्राई गरिरहेछन्
कोही कवाफ बनाइरहेछन्
कोही ह्विस्कीको चटनीमा मस्त छन्
कोही अट्टहासका साथ उडाइरहेछ सहिदका सपना
कोहीका शब्दकोशबाट गायब छन् सहिद
कोही त्यही सपना बाँडिरहेछन्
कतिले सहिदलाई चिलगाडी बनाइसके
कतिले चिल्लाकार बनाएका छन्
कतिले सुट-टाईमा साटिसके सहिदलाई
कतिले आलिसान महल ठड्याएका छन्
कतिले सालिक अनावरण र प्रतिष्ठानमा प्रीतिभोग गरिरहेछन्
मानौँ, उनीहरू अन्तिम विजयभोजमा व्यस्त छन्
काठमान्डुको सडकपेटीमा बसेर टुलुटुल हेर्न बाध्य छन्
मेरो देशको एक महान् सहिद ।

वस्तीमा रगतका टाटा अझै आलै छन्
आज पनि बाटैभरि बलिदानको सुगन्ध फैलिरहेकै छ
तर पनि खुसी खोसिएका कोशीका अशान्त छालहरू
बगेको बग्यै छन्
उन्मुक्तिका बेचैन गण्डकी लहरहरू
आज पनि उस्तै गरी छङछङ गरिरहेकै छन्
स्वार्थ-लम्पटले बाराम्बार डसिरहने कर्णालीको वेग
आज पनि रोकिने छाँट छैन
पुग्न खोजेको त सगरमाथा नै हो
देख्न खोजेको त उन्मुक्त संसार नै हो
छिनछिनमै देखियो हिन्दमहासागरको बाटो देखाउने त्यो मानिस
तर आफ्नो सपना र भविष्यको बाटो देखाउने मानिस अझै आइपुगेन
चिप्लो बाटोमा बाबाले दिनुभएको स्नेही हात
बिरामी पर्दा आमाले दिनुभएको वात्सल्यता
अग्रजले देखाउनुभएको सुन्दर बाटो
गुरुले सिकाउनुभएको जीवनबोधी आदर्श र नैतिकता
सङ्गीले दिएको बलियो काँध
असरल्ल पारिएका सपनाहरूका बीच
काठमान्डुको सडकपेटीमा आफ्नो अतीतका पाना पल्टाइरहेछन्
मेरो महान् देशको एक महान् सहिद ।

उफ् ! हिलाम्मै र टुकुचामय छ काठमान्डु
सडकहरू खाल्टाखुल्टीले भरिएका छन्
मानौँ, काठमान्डु खाल्टाहरूको पनि सङ्ग्रहालय हो
यहाँ कसैको कसैलाई मतलब हुन्न
मानौँ, काठमान्डु स्वार्थ र अवसरवादको कारखाना हो
यतै कतै प्रिय कवि इच्छुक मारिएका थिए
मानौँ, काठमान्डु मानव-बधशाला पनि हो
तर पनि मानिसहरू अटेम मटेस गर्दै दौडिरहेछन्
उनीहरूलाई पटक्कै फुर्सद छैन आजभोलि
केवल उनीहरूलाई हिन्द-महासागर पुग्नु छ
स्मार्टसिटीको गुड्डी हाँक्ने काठमान्डुको सडकपेटीमा
मेरो देशको एकजना महान् सहिद
त्यस्तो एकजना मानिस कुरिबसेका छन्
जसले उनीजस्ता हजारौँ सहिदका सपना बोकेर
सगरमाथामा चढ्ने आँट गरोस् ।।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :