अखिल (क्रान्तिकारी) दाङले गर्यो शैक्षिक विकृति विसङ्गतिका विरुद्ध विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) दाङले गर्यो शैक्षिक विकृति विसङ्गतिका विरुद्ध विरोध प्रदर्शन

दाङ : अखिल (क्रान्तिकारी) दाङले जिल्लाको घोराहीमा शैक्षिक विकृति विसङ्गतिका विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) राप्ती व्युरो संयोजक दिपकले राज्यले शिक्षालाई कमाई खाने भाँडो बनाएको बताएका छन् । उनले नेपालमा लागू भएको शिक्षा प्रणालीले नेपाली युवाहरूको भविष्य सुनिश्चित गर्न नसकेको बताए । निजी विद्यालयले विभिन्न शिर्षकको बहानामा चर्को शुल्क लिइरहेकोप्रति संयोजक दिपकले आपत्ति प्रकट गर्दै तत्काल खारेज गर्न माग गरे । एक फरक प्रसङ्गमा संयोजक दिपकले कोरोना महामारीमा विद्यालयले विद्यार्थीबाट शुल्क लिएपनि शिक्षकलाई तलब नदिएकोप्रति घोर आपत्ति व्यक्त गरे ।

यसैगरी अखिल (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले श्रमजीवी जनताका छोराछोरीहरू कहिलेसम्म शिक्षाबाट बञ्चित हुनुपर्ने हो ? भनेर प्रश्न गरे । उनले प्राविधिक, सिटिईभिटी अन्तर्गतका शिक्षालयमा भइरहेको अनियमितताका विरुद्ध सङ्गठनले कडा सङ्घर्ष गर्ने उद्घोष गरे । अनिलले भ्रष्ट, दलाल राज्यको विरुद्धमा समाजवादी शिक्षा प्राप्तिका लागि नौजवान युवा विद्यार्थीहरूले निर्मम सङ्घर्ष गर्नुपर्ने धारणा व्यक्त गरे ।

विरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :