अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा शैक्षिक विकृति र विसंगतिविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा शैक्षिक विकृति र विसंगतिविरुद्ध  प्रदर्शन

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाडौँमा शैक्षिक विकृति र विसंगतिविरुद्ध विरोध प्रदर्शन गरेको छ ।अखिल (क्रान्तिकारी) ले एसईई परीक्षाको नतिजा सार्वजनिक नहुँदै केही शैक्षिक संस्थाहरुले सुरु गरेको भर्ना, अनलाइन शिक्षाको नाममा गरिएको शूल्क बृद्धिको विरोधमा शुक्रबार विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मदन चन्दले अनलाइन शिक्षाका नाममा शैक्षिक संस्थाहरुले गरेको शूल्क बृद्धि फिर्ता चेतावनी दिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयले पिएचडी र एमफिल शिक्षामा गरिएको शूल्क फिर्ता नलिए आफ्नो संगठनले आन्दोलनमा जाने बताए ।

त्यसैगरी अखिल (क्रान्तिकारी) का काठमाडौँ अध्यक्ष गोविन्द विष्टले एसईईको नतिजा सार्वजनिक नहुँदै केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भर्ना लिन सुरु गरेको बताउँदै तत्काल रोक्न माग गरे । उनले नतिजा सार्वजनिक नहुँदै भर्ना लिनु शैक्षिक संस्थाको बेइमानी भएको बताए ।

कोरोना महामारीमा पनि मानवीयता गुमाउँदै शैक्षिक संस्थाहरुले शूल्क बृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) ले विरोध गर्दै आएको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै अखिल (क्रान्तिकारी) ले पेट्रोलिय पदार्थको मूल्य बृद्धि र शूल्क बृद्धिको विरोध विरोध जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक नहुँदै केही शैक्षिक संस्थाहरुले सुरु गरेको भर्ना, पारागन कलेज लगायतले गरेको अनैतिक कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ । विरोध कार्यक्रममा सङ्गठनका महासचिव प्रकाश शाही र कोषाध्यक्ष नरेन्द्र विकको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :