भ्रष्टाचार गरेका वडाध्यक्ष भुजेलविरुद्ध सशक्त सङ्घर्ष गर्ने नेकपाको चेतावनी

‘लाखौँ बजेट हिनामिना गरेर भ्रष्टाचार गरेका वडाध्यक्षको राजीनामा माग’

भ्रष्टाचार गरेका वडाध्यक्ष भुजेलविरुद्ध सशक्त सङ्घर्ष गर्ने नेकपाको चेतावनी

चितवन : नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर कमिटी वडा नं. २५, चितवनले पुल निर्माणमा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरी सडक निर्माण पूरा नहुँदै लाखौँ बजेट हिनामिना गरेर भ्रष्टाचार गरेका वडाध्यक्ष विजयकुमार भुजेललाई राजीनामा दिन अनुरोध गरेको छ । इन्चार्ज राजकुमार तिमिल्सिना र सेक्रेटरी खेम शर्मा न्यौपानेले बुधबार प्रेस विज्ञप्ति जारी गरी कोरोना महामारीको गम्भीर परिस्थितिमा वडाध्यक्षको समेत सङ्लग्नतामा आर्थिक चलखेल भएको भनि चितवनका प्रतिष्ठित मिडियाहरूमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । साथै नागरिक समूहको तर्फबाट अनुगमन तथा छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक नगरे पार्टी भ्रष्टाचारविरुद्ध जनतासँगै रहि सशक्त सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

इन्चार्ज तिमिल्सिना र सेक्रेटरी न्यौपानेको विज्ञप्तिमा भनिएको छ, ‘देश राजनैतिक र कोरोना महामारीको गम्भीर सङ्कटग्रस्ट अवस्थाबाट गुज्रिरहेको छ । देशैभरी राज्यद्वारा निशेधाज्ञा जारी गरिरहेको छ । श्रमजीवी जनताका जीवन अस्तव्य स्त छ । यस्तो गम्भीर परिस्थितिमा यसै भरतपुर महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष भुजेलले यसै वडाका हाल (मृतक) सुजराम महत्तोको कान्छी श्रीमति आशा चौधरी र छोरा लिलाराज गुरौ महत्तो बीचमा जायजेथा चल–अचल सम्पत्तिको अंशबण्डा सम्बन्धि विषयमा अनियमितता भएको र जनस्तरबाट सरकारी ओहोदामा रहेका यसै वडाका वडाध्यक्ष विजयकुमार भुजेलको समेत सङ्लग्नतामा आर्थिक चलखेल भएको भनि चितवनका प्रतिष्ठित मिडियाहरूमा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

इन्चार्ज र सेक्रेटरीको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै वडाका विकाश निर्माणका विषयमा सोसीबजारदेखि अमृत चोकसम्म जोड्ने सडक निर्माण पूरा नहुँदै ७० लाख बजेट हिनामिना गरिएको, वडाका विभिन्न सडकहरूमा गिटी मनोमानी ढङ्गबाट हाल्दा प्रति ट्रिपमा २ हजार भन्दा बढी कमिशन खाएको, वडाध्यक्षकै घरको बाटो हुँदै वडा कार्यालय जाने पुल निर्माणमा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरी भ्रष्टाचार गरेको, भूकम्प पीडितहरूको आर्थिक विवरणमा अनियमितता गरेको र आर्थिक बर्ष २०७४÷०७५ मा सखुवानीदेखि बेतरीसम्म ग्राभेलिङ गर्दा ढुवानी खर्च (१,९८,०००।–) ट्रेक्टरहरूलाई हालसम्म फर्छौट नगरी आर्थिक चलखेल एवम् गुपचुप राखिएको हुँदा हाम्रो पार्टी यथासिघ्र वडाध्यक्ष विजयकुमार भुजेललाई राजीनामा दिन अनुरोध गर्दछ ।’

तिमिल्सिना र न्यौपानेको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साथै नागरिक समूहको तर्फबाट अनुगमन तथा छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । अन्यथा हाम्रो पार्टी भ्रष्टाचारविरुद्ध जनतासँगै रहि सशक्त सङ्घर्ष गर्न बाध्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :