राष्ट्रिय जागरण मञ्चद्वारा पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर्न माग

राष्ट्रिय जागरण मञ्चद्वारा पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर्न माग

काठमाडौँ : राष्ट्रिय जागरण मञ्च, नेपालले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर्न माग गरेको छ । राष्ट्रिय जागरण मञ्च, नेपालका संयोजक गुणराज लोहनीले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा बढाएको मूल्य खारेज नगरे जनता अब चुप लागेर नबस्ने बताए ।

यस्तो सङ्गीन घडिमा सरकारले जनताको दैनिक जीवनमा प्रभाव पर्ने गरी महिनाको ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएर भाँचिएको डाढमाथि यमानको भारी थोपरिदिएको विज्ञप्तिमा उल्लेख छ । यो मूल्य बृद्धिले सबैको जीवनलाई सकसपूर्ण बनाएको भन्दै मञ्चका संयोजक लोहनीले पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर्न जोडदार माग गरेका छन् ।

आयल निगम अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि अत्याधिक कर थोपरिएको छ विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले सरकार र निगमको यो नीतिले सरकार र कर्मचारी मोटाउने र जनता मर्दै जाने परिवेश बनिराखेको छ, त्यसैले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर । अन्यथा जनता अब चुप लागेर बस्ने छैनन् ।’

प्रेस विज्ञप्तीको पूरा पाठ –

नेपालमा अहिले कारोनाको कहरकाकारण नेपाली जनता आक्रान्त बनेका छन् । जनताले खेतमा काम गर्न पाएका छैनन्, उद्योगमा ज्यालादारी नपाएर परिवार पाल्न पाएका छैनन्, सडकमा काम गर्न पाएका छैनन् । उपचार नपाएर जनताको जनधनको क्षति भैराखेको छ । अबका दिन कोरोनाले भन्दा पनि भोक, रोग र शोकले लपेटिने दुखतः दिन नआउला भन्न सकिदैन । त्यसैले हाम्रो मंचले सबै जनतालाई अनिवार्य, निःशुल्करुपमा कोरोना विरुद्धको खोप लगाउन सरकारसँग जोडदार माग गर्दै आएको छ । तर सरकार साम्राज्यवादीहरुको भ्याक्सिन व्यापार र राजनीतिको चंगुलमा फसेकाकारण नेपालका जनताले कोरोनाको कहरले न ज्यान न धनको अवस्थामा पुगेका छन् ।

यस्तो संगिन घडिमा सरकारले जनताको दैनिक जीवनमा प्रभाव पर्ने गरी महिनाको ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएर भाँचिएको डाढमाथि यमानको भारी थोपरिदिएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रायः राती पारेर बढाउने गरेको छ । जसले गर्दा जनताले तुरुन्त प्रतिक्रिया नदिउन् । सबैलाई थाहा भएकै कुरा हो कि यो मूल्य बृद्धिले जनताको चुलोमा पाक्ने, पकाउने बस्तुदेखि लिएर ल्याउने र लैजाने बस्तुको मूल्य बढाएको छ । त्यसैले यो मूल्य बृद्धिले जीवनलाई सकसपूर्ण बनाएकाले हाम्रो मंचले पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर्न जोडदार माग गर्दछ ।

जहाँसम्म नेपाल आयल निगम वा सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य बढेकोकारण नेपालमा पनि बढाइएको दलिल पेश गरिउको छ । हाम्रो मञ्च यो दलिललाई पूर्णरुपले खारेज गर्दछौं । यसको सबैभन्दा सशक्त प्रमाण भनेको निगमको विवरणअनुसार रक्सौलमा ६७.७७ रुपैयाँमा किनिएको पेट्रोलमा ५६.६१ रुपैयाँ कर थोपरिएको छ । ठीक त्यसैगरी उपभोग्य बस्तुको ओसारपसार र यातायातकालागि नभई नहुने डिजलमा प्रतिलिटरमा ३९.२८ रुपैयाँ कर लगाएको छ । यदि करलाई मात्र घटाइदिने हो भने पनि यसरी अचाकाली मूल्य बढ्दैन । आयल निगम अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि अत्याधिक कर थोपरिएको छ । त्यसैले सरकार र निगमको यो नीतिले सरकार र कर्मचारी मोटाउने र जनता मर्दै जाने परिवेश बनिराखेको छ । त्यसैले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर । अन्यथा जनता अब चुप लागेर बस्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :