पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन हुँदै

पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन हुँदै

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीनिकट १२ जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि र चितवनको रत्ननगर नगरपालिकाकी २३ वर्षीय सुजिता भण्डारीको रहस्यमय हत्या भएको विरोधमा आज अर्थात बिहिबार काठमाडौँमा प्रदर्शन गर्दैछन् । विभिन्न १२ जनवर्गीय संगठनका अध्यक्ष तथा संयोजकहरुले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको जानकारी दिएका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा कोभिड–१९ को महामारी, बाढी, पहिरो र डुवान जस्ता समस्याले जनता आक्रान्त भएकोबेला नेपाल आयल निगमले ‘इन्धनको अन्तराष्ट्रिय मूल्य समायोजन’को नाममा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकोले आन्दोलन गर्नुपरेको उल्लेख छ ।
जनवर्गीय संगठनहरुको विज्ञप्तिमा भनिएको छ–‘नेपालमा लाखौँ युवाहरूले रोजगारी गुमाएका छन् । गरिव, किसान, मजदुर, विद्यार्थी, महिला, सुकुमवासी, दलित लगायत आम जनताको जीवन दिनप्रतिदिन समस्याग्रस्त बनिरहेको छ । जनताको दिन–दैनिकी दयनीय र कष्टकर बनिरहेको छ । राज्यसत्ता जनताको यी तमाम विषयमा नजरबन्दाज गरिरहेको छ । आर्थिकरूपमा दिनप्रतिदिन बेहाल बन्दै गएका जनतालाई मूल्यवृद्धि, महंगी, कालाबजारीले झन् ठूलो चपेटामा पारेको छ । जनताको दुःख, कष्ट र पिडामा साथ दिनुपर्ने सरकार र उसका निकायहरू जनतालाई नै विभिन्न प्रकारको शोषण थोपरिरहेका छन् । पेट्रोलियम पदार्थमा निरन्तर गरिएको मूल्यवृद्धि जनतामाथि शासकले वैधानिक रूपमा लादिएको अत्याचारको दृष्टान्त हो । सरकार र आयल निगमले गरेको यस्तो कार्यको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं । साथै चौतर्फी रूपमा महंगी र कालाबजारीलाई प्रोत्साहन गर्ने गरी भ्रष्ट आयल निगमको मूल्य वृद्धिको यो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौं ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :