आऊ क्रान्ति आऊ

कविता

आऊ क्रान्ति आऊ

आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ
हर युगका क्रान्तिकारी सारथी भएर आऊ

जहाँ शोषण, दमन हुन्छ त्यहाँ प्रतिगमन हुन्छ
जहाँ अन्याय अत्याचार महँगीले असमान छुन्छ
गुण्डागर्दी, लुट र आतङ्क मच्चिएको गाउँहरूमा
साँढेको जुधाइँ बाछाको मिर्चाँ हुने ठाउँहरूमा

आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ
लुला, लङ्गडा र बेसहराका हातपाउ समाऊ

जनविरोधी, राष्ट्रघाती दुश्मनका किल्लाहरूमा
निर्मलाको अस्मिता हरण भएका जिल्लाहरूमा
अशान्ति नै अशान्तिको रङ्गले रङ्गिएको शहरमा
शान्तिको ढोल बजाउदै आऊ बिहानी प्रहारमा

आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ
भोक, शोक र रोगले मस्त सुतेकालाई जगाऊ

भ्रष्टाचार, अन्याय र अत्याचार हटाउन
जनतामारा दलालहरूलाई डाँडा कटाउन
संसदवादले अड्डा जमाएका दरबारहरूमा
गरीब, निमुखा जनता बस्ने घरबारहरूमा

आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ
अन्धकारले स्तब्ध यो संसार जगमगाऊ

राहत त कतै वर्षायामको पुल बनेर आऊ
न्यायोचित बास्नादार त्यो फूल बनेर आऊ
वैज्ञानिक समाजवाद हुँदै साम्यवाद चुम्ने
सच्चा कम्युनिस्ट क्रान्तिकारी हुल बनेर आऊ

आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ
सँगै मलाई तिम्रो सपनाको सहरमा लैजाऊ

वैशाखी बनेर आऊ तिमी सहरा बनेर आऊ
पुँजीवादको हावाले नढल्ने पहरा बनेर आऊ
आउन चाँही आऊ तिमी जरूर एकदिन आऊ
सुनौलो बिहान नक्षत्रका ती तारा बनेर आऊ

मनहरी–२, मकवानपुर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :