‘सपनाको भन्ज्याङतिर’ कृतिमा सपनाको निरन्तरता

‘सपनाको भन्ज्याङतिर’ कृतिमा सपनाको निरन्तरता

“क्या अंधेरे में लिखा जायेगा ?
हँ, अंधेरे में भी
अंधेरे के विरोध में
लिखा जायेगा”

आज राजनीतिक आकाश फेरी अँधेरिएको छ । त्यसको धुमिल छाँया सांस्कृतिक आन्दोलनमा परेको छ । एकथरी स्तुतिगान गर्दैछन् अँध्यारोको । अर्कोतिर अर्कोथरी जीवनदेखि पलायन भएका छन् । यस्तो बेला अँध्यारोको विरोधमा लेख्नेहरू पनि छन् । माथि उदृढ एकजना कविले भनेझैं मार्क्सवादी यथार्थवादी धाराका सर्जकहरूले अँध्यारोको विरूद्ध लेखिरहेका छन् । यही धाराका शसक्त सर्जक हुन्–खोमा तरामु मगर । उनको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ हातमा परेको छ ।

राजनीतिले साहित्यको विषय-वस्तु प्रदान गर्दछ, पथप्रदर्शन गर्दछ भने साहित्यले राजनीतिको सेवा गर्दछ । सौन्दर्यकृत गर्दछ । त्यसैले महान रचना र सर्जकको अग्रक्षितिजमा महान दार्शनिक र विचारधारा हुन्छ । दार्शनिक सुकरात (३३९ विसीई-४७० विसीई) पूर्वको युग महान काव्यहरूको युग थियो । जसमा असाधारण प्रस्तुति हुन्थ्यो । दुःखान्त कथा तथा दुःखी आत्माहरूको हृदयविदारक प्रस्तुति गरिन्थ्यो । ग्रीसका दुःखान्त नाटकहरूको सिर्जना त्यही पृष्ठभूमिमा भएको थियो । दासहरूको पीडादायी अवस्था, महान साहित्यिक चिन्तन र कल्पना, चेतनाको गहिराई र त्यसबाट मुक्तिको चाहनाले एकजना युग पुरूषको अपेक्षा गथ्र्यो । युगको त्यही आवश्यकता पुरा गर्न दार्शनिक सुकरातको जन्म एथेन्समा भयो । जसका लागी भौतिक आधार परिपक्क भएको थियो । नेपालमा भइरहेको उत्पीडन र शोषण तथा त्यसको विरूद्ध भइरहेको प्रतिरोधले सांस्कृतिक आन्दोलनको क्षेत्रमा पनि नयाँ प्रतिभाहरूको भौतिक आधार र अपेक्षा भइरहेको छ । महान जनयुद्ध र त्यसको पृष्ठभूमि, दलाल पुँजीवादी राज्यको उत्पीडन, शोषण र त्यसका विरूद्ध प्रतिरोध एवं वैज्ञानिक समाजवादको सपनाले नयाँ उज्यालो सपना निर्माण गरेको छ । त्यही सपनाका सारथी हुन्–कवि तथा लेखक तरामु मगर ।

खोमाकृत ‘सपनाको भन्ज्याङतिर’ मा २६ वटा रचनाहरु समावेश गरिएका छन् । रचनाहरूको शैलीमा विविधता छ । निबन्ध, संस्मरण, नियात्रा विभिन्न शैलीमा लेखिएका छन् । यद्यपी संस्मरण र नियात्रालाई निबन्धकै उप-विधा मान्ने गरिन्छ । तर संस्मरण र नियात्राले अलग विधाको आकार ग्रहण गरिसकेका छन् । त्यसैले संस्मरण, नियात्रा र आत्मकथालाई ‘तिम्ल्याहा दिदीबहिनी’ भन्नु उचित होला । कतिपय रचनाहरूमा भावुकता र रागात्मक पक्ष बढी हुनु र विगतको आफ्नै स्मृति-बिम्ब प्रकटीकरण हुनुले संस्मरण जस्ता लाग्छन् । कतिपयमा वर्णनात्मक–आख्यानात्मक पक्ष हावी हुन गएका छन् ।

सुकरात, जिनोफेन, प्लेटो समकालीन दार्शनिकहरू थिए । प्लेटो (४२८/२७ अथवा ४२४/२३ विसीई) ले त कवि र चित्रकारहरूलाई ‘देश निकाला गर्नुपर्छ’ भनेका थिए । उनीहरू अर्थात् साहित्यकार र कलाकारमा आलोचनात्मक चेत नहुने र भावनाको अमूर्त चित्र निर्माण गरेर समाजलाई द्वन्द्वात्मक ढङ्गले सोँच्नै दिदैनन् भन्ने आरोप लगाएका थिए । प्लेटोका निन्दकहरूले नै आज लुटको राज्यलाई समृद्धिको जामा भिराएर सौन्दर्यकृत गरिरहेका छन् । त्यसका विरूद्ध पाब्लो निरूदाको शब्दमा खोमाकृत कृति ‘सपनाको भन्ज्याङतिर’ जनकारवाही हो ।

दुःखीहरू, उत्पीडितहरू रोमाञ्चित शब्द र सपनाहरूको सहारा लिएर दुःख विर्सने प्रयास गर्छन् । बुर्जुवा सर्जकहरूले त्यसैलाई लालित्यमय र मूर्तिकरण गरेर भ्रमित चेतना निर्माण गर्छन् । दार्शनिक नित्से (सन् १८४४-१८९९) ले कवि र चित्रकारले रचनात्मक कलाको माध्यमले भयानक यथार्थहरूलाई सुन्दर कलाको खोलले छोप्ने गरेको आरोप लगाए । त्यस प्रकारको कार्यलाई नित्सेले ‘कायरहरूको सहारा’ भनेका थिए । मान्छेले यथार्थको खोजी गर्नुपर्ने उनको धारणा थियो । उनले परम्परागत नैतिक मूल्य, विचारधारा र यथास्थितिप्रति अविश्वास त गरे । तर उनले ‘अतिमानव’ कल्पना गरे । नित्सेको ‘अतिमानव’ एडोल्फ हिटलरको रूपमा प्रकट भयो । बुद्धिहीनता, कठोरता, अहङ्कार, एकलकाँटेपन, कुण्ठाले पैदा गरेको राक्षसी चेतना नै नित्सेवाद थियो । नित्सेलाई पश्चिमी लोकतन्त्रका पिता भनिन्छ । आज पनि पुँजीवादी सिर्जना नित्सेवादको वरिपरी फन्को मारिरहेको छ । भन्नैपर्छ-आज आफुलाई मार्क्सवादी दावी गर्ने कैयौं सर्जक र संस्थाहरू नै नित्सेवादको भरिया बन्न पुगेका छन् । यद्यपी फ्रेडरिक नित्से (सन् १८४४-१९०० जर्मनी) व्यक्तिगत रूपमा इमान्दार र भावुक थिए । एकदिन नित्से घोडामा कतै यात्रारत थिए । कसैले उनको घोडालाई पिट्यो । उनी दुःखी भए । घोडालाई अङ्गालो हालेर रूँदै “पापी समाजले तिमीलाई पिट्यो । मलाई पनि दुःख दिइरहेको छ । तिमी र म उस्तै दुःखी प्राणी हौं” भनेका थिए । उनले ‘ईश्वर मरिसकेको छ’ भनेको थिए । ईश्वर र स्थापित चेतनाको विरुद्ध स्वतन्त्र मान्छेको खोजी गरेका नित्सेले त्यस्तो मान्छेलाई ‘अतिमानव’ को रूपमा उभ्याए । दलाल पुँजीवादले त्यत्ति नैतिक दायित्व पनि पुरा गर्दैन । जसरी मालिकको लागि शिकारी कुकुरले काम गर्दछ, त्यसरी नै दलाल पुँजीवादले विदेशी मालिकको लागी काम गर्दछ । सत्ता निकट स्रष्टाहरू त्यही रोगले ग्रसित भएका छन् । सर्जक खोमा तरामु त्यसप्रकारको शून्यवादको विरुद्ध शसक्त आवाज हुन् ।

प्रकृतिको मानवीकरण साहित्यको पुरानै शैली हो । खोमामा त्यसको प्रभाव छ । वर्गसङ्घर्षको उतारचढाव र मनोविज्ञान प्रकट भएको छ । त्यसैले यो कृति समयको प्रतिविम्वन र बयान पनि हो । खोमाका रचनाहरूमा विचार पक्षलाई थाँती राखेर हेर्दा आञ्चलिकता मलाई औधी मनपर्ने शैली हो । आज संसारभरि आञ्चलिकताको खोजी भइरहेको छ र त्यसको लोकप्रियता बढिरहेको छ । ‘सपना ओढेको त्यो रेसुङ्गा’ त्यस्तै निबन्ध हो । हेरौं, सोही निबन्धका यी पङ्क्ती- “सिद्धबाबा कुहिरेको ‘मृत्युमार्ग’ छिचोलेर बस झुम्सा हुँदै उकालो चढ्यो । सडक र वरपरका पछाडि दृश्यहरू खुला र स्निग्ध देखिन्थे । हामी पहाडी नागवेली घुम्तीहरू पार गर्दै तानसेन उक्लियौं । (पृ.२५)” कम्युनिस्ट धाराका कैयौंले धारेहात लगाउने गरेका र पुँजीवादले ‘रातो शैतान’ भनेका मार्क्सवादी चिन्तक हावर्ड फास्टले ‘विगतका वलिदानहरूलाई वर्तमानका प्रतिरोध आन्दोलनहरूसँग जोड्नु नै आफ्नो लेखनको उपादेयता’ भएको बताएका थिए । ‘मधेशमा गुन्जिएको अनेकोट’ नियात्रा शैलीको रचनाले हावर्ड फास्टकै चेतना निकट पुर्याउँछ स्रष्टा मगरलाई । “हाम्रा सपनाहरूलाई कैद गर्न खोजिरहेछ बन्दुकको नोकभित्र । निर्धक्क सास फेर्न प्रतिबन्ध छ र हृदयमा ठेस पुर्याएको छ । दुश्मनले सूचना पाए कुनै पनि बेला पक्राउ गर्नेछ । हामी संसदीय राजनीतिको भण्डाफोर गर्दै पश्चिम मधेशमा एकीकृत जनजागरण तथा प्रतिरोध अभियान चलाएका छौं । (पृ.२९)” समय साल फरक छ तर स्रष्टा र क्षितिज सांस्कृतिक परिवारले तराईको कपिलवस्तुमा जुन शैली र सपना साँचेर अभियान चलाएका थिए, उस्तै थियो अनेकोटको अभियान र सामूहिक हत्याकाण्ड । भूगोल फरक थियो, सपना एउटै । अझ यसो भनौं, खोमाहरुले चलाएको अभियान अनेकोटमा विश्राम भएन । पुग्यो कपिलवस्तु । च्याङ्बा लामाहरू कपिलवस्तु झरे निरन्तर । अघिल्लो रातका घटनाहरूलाई बिर्सदै जाने मानवीय प्रवृत्ति हुन्छ । तर हामी सत्ताधारी केपी वली–थापा मण्डलीले हात धोएर नखरा गर्दैमा रातारात तिनको प्रशंसा गर्न सक्दैनौं । हामी हाम्रो स्मृति–चेत रहेसम्म कुमार पौडेलहरूका हत्याराहरूका नाम ‘कालो बहिखाता’ बाट हटाउने छैनौं । हामीलाई थाहा छ, बेइमानहरूले इमान्दारको र कायरहरूले योद्धाहरूको निन्दा गर्छन् ।

प्रकाशित सङ्ग्रहका केही रचनाहरूले समकालीनताको सीमा नाघेका छन् । ‘ताराहरू रोएको अँधेरी रात’ यस्तै रचना हो । यो रचनाले पाठकलाई जनयुद्धको समयतिर लैजान्छ । जसले नयाँ र पुराना दुवै पुस्तालाई आ–आफ्नै तरिका र कारणले तान्छ ।

सहरका सुकिला सडक र पाँचतारे भट्टीतिर समृद्धिको गीत–बजार बदनाम भट्टी पसलझैं गम्केको छ, चम्केको छ । तर श्रमिकको जीवनमा आएको छैन समृद्धि । त्यस्तै एउटा बस्ती हो– तिनाउ नदी किनारको सुकुमबासी बस्ती । ‘सपना डढेको बस्ती’ रचनामा स्रष्टा मगर भन्छन्, “तिनाउमा बगेका छन् विगतदेखि सुकुमबासीका सपनाहरू । अर्थात् सबिनाका सपनाहरू । यो बस्तीका लागी न लोकतन्त्र आयो, न त गणतन्त्र आयो । न त आयो उनीहरूको हातमा लालपुर्जा । धेरै पटक ‘सुकुमबासी समस्या समाधान आयोग’ बने । यी सबै चुनावका रूमानी सपना थिए अर्थात् ढोङ थिए । भोट त सबिनाले पनि हालिन् लालपुर्जाको आसमा । तर चुनाव जितेपछि उल्टै बस्तीमा डोजर चलाए । आगो लगाए । (पृ.१३७) ।” यो सत्यकथा तिनाउ किनारको मात्रै होइन, समग्र मेची–महाकालीको पनि हो । त्यसप्रकारको भ्रमित चेतनालाई सुकरातले All egory of the cave भनेका थिए ।

सुकरात, जिनोफेन, प्लेटो समकालीन दार्शनिकहरू थिए । प्लेटो (४२८/२७ अथवा ४२४/२३ विसीई) ले त कवि र चित्रकारहरूलाई ‘देश निकाला गर्नुपर्छ’ भनेका थिए । उनीहरू अर्थात् साहित्यकार र कलाकारमा आलोचनात्मक चेत नहुने र भावनाको अमूर्त चित्र निर्माण गरेर समाजलाई द्वन्द्वात्मक ढङ्गले सोँच्नै दिदैनन् भन्ने आरोप लगाएका थिए । प्लेटोका निन्दकहरूले नै आज लुटको राज्यलाई समृद्धिको जामा भिराएर सौन्दर्यकृत गरिरहेका छन् । त्यसका विरूद्ध पाब्लो निरूदाको शब्दमा खोमाकृत कृति ‘सपनाको भन्ज्याङतिर’ जनकारवाही हो ।

ग्रीक दार्शनिकहरू द्वन्द्ववादी थिए । आलोचनात्मक दृष्टि राख्थे । मार्क्सवादको जन्मपश्चात साहित्यले वर्गीय दृष्टि, दुई विश्वदृष्टिकोण र आलोचनात्मक चेत ग्रहण गर्यो । त्यो वर्गसङ्घर्षको ‘दाँती र पेचकिला’ बन्यो । खोमा तरामु मगरले माक्र्सवादी यथार्थवादी धाराको समृद्धिमा एउटा इँटा थपेका छन् । वरिष्ठ समालोचक ताराकान्त पाण्डेले कविहरूमा ‘निरङ्कुश सत्तासँग जोरी खोज्ने प्रवृत्ति’ हुने बताएका छन् । स्रष्टा मगरले निरङ्कुश सत्तासँग जोरी खोजिरहेका छन् र निमुखा र श्रमिकसँग ‘हजार माइलको लामो यात्रामा’ सामेल भएका छन् – निरन्तर । कृतिको रूपमा पहिलो भएपनि उनका अनेकौं सिर्जनाहरू लामो समयदेखि आइरहेका छन् । उनको कलम माझिएको छ, परिपक्क प्रतित हुन्छ । खोमाबाट लेखन–सिर्जनकर्मले निरन्तरता पाओस् हार्दिक शुभेच्छा !

२०७८ असार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :