मनपरी गाडीभाडा असुलेको भन्दै नेकपाद्वारा प्रशासनको ध्यानाकर्षण

मनपरी गाडीभाडा असुलेको भन्दै नेकपाद्वारा प्रशासनको ध्यानाकर्षण

काठमाडौँ : जाजरकोटमा सञ्चालित सवारी साधनले मनपरी भाडा असुलेको भन्दै नेकपाले प्रशासनको ध्यानाकर्षण गराएको छ । आइतबार नेकपाका भेरी नगर कमिटी इन्चार्ज हिमाल, क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंहलगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगी ध्यानाकर्षण गराएको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटालाई भेटेर निषेधाज्ञाको समयमा जिल्लामा सञ्चालित सवारी साधनले प्रशासनको पास नलिएको, यात्रुबाट मनपरी भाडा असुलिरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए । उनले भने, ‘सवारी चालक र सवारी साधन धनीले भनेअनुसारको भाडा तिरी यात्रुहरू मारमा परेको, ठाउँठाउँमा प्रहरीले पैसा असुल्दै सवारी साधनलाई मर्कामा पारेपनि प्रशासन सुतिरहेको छ, यस्तो अवस्था रोक्न हामीले प्रशासनको ध्यानाकर्षण गराएका हौँ, यदि प्रशासनले सुनेन भने हामी आफ्नै तरिकारले कारवाही गछौँ ।’ निजी नम्बर प्लेटका गाडीहरूले यात्रुहरू ओसार्ने भन्दै मनपरी भाडा असुलिरहेले यस्तो कार्य तत्काल रोक्न प्रशासनलाई आग्रह गरिएको उनको भनाई थियो ।

यसैगरी यातायात व्यवसाय सङ्घ जाजरकोटका अध्यक्ष नवराज सिंहले सरकारले जारी गरेको निषेधाज्ञाको बेला थोरै यात्रुहरू भएकाले दोब्बर भाडा लिएको स्वीकार गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवकोटाले तोकिएको मूल्य भन्दा धेरै भाडा लिने सवारी साधनलाई कारवाही गरिने बताए ।

एम्बुलेन्सले समेत चर्काे भाडा असुलिरहेको छ । यस्तो सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन नेकपाले प्रशासनसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :