राष्ट्र र नागरिकलाई सङ्कट पर्दा पार्टी सधैँ साथमा : माइला लामा

राष्ट्र र नागरिकलाई सङ्कट पर्दा पार्टी सधैँ साथमा : माइला लामा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई समस्या परेको बेला पार्टी सधैँ साथमा रहेको बताएका छन् । नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार केन्द्रमा नेकपाद्वारा आयोजना गरिएको कार्यक्रममा लामाले आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको हुँनाले रक्तदान आयोजना गरिएको बताएका हुन् । साथै उनले रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास गर्दै यो विपत्तिसँग लड्न भावनात्मक रुपमा एकता रक्तदानले सहयोग गर्ने विश्वास लिएको बताए ।

काठमाडौँ जिल्ला इन्चार्जसमेत रहेका लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए । उनले केन्द्रीय रक्तसञ्चार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको बताए । उनले अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुनुपर्ने बताए । लामाले संसदभित्र रहेका पार्टीहरूलाई जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति निरासा र चिन्ता बढेको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फत जनताका सबै खाले समस्या समाधान गर्न खोजेको बताए ।

जिल्ला इन्चार्ज लामाले आफ्नो पार्टी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको बताए । “सरकार र हाम्रो पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नहुँदा हाम्रा धेरै नेता कार्यकर्ता जेलमै हुनुहुन्छ । लामाले भने,  “तीन बुँदामा हाम्रो पार्टीले गरेको प्रतिवद्धताअनुसार हाम्रो पार्टी गइरहेकै छ । तर, सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेको छ  ।”

त्यसैगरी नेकपाका काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायणले रक्तदानमा सहभागी हुने र समन्वय गर्ने रेडक्रसलाई धन्यवाद दिए । जिल्ला सचिवालय सदस्य अबिरल चन्दले कोरोना सङ्कटमा आफ्नो पार्टीले जनतासँगै रहेको बताए । अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द बिष्टले रक्तदानमा सहभागी विद्यार्थीलाई धन्यवाद दिए ।

रक्तदानमा सहभागी भएकामध्ये लोकेन्द्र सार्की, शुसिल पौडेल, रामप्रसाद श्रेष्ठ, नारायण तोलंगु, तिर्थराज तामाङ, इन्दिरा महर्जन, मन्दिरा श्रेष्ठ, राजाराम आलेले आफूहरुले रगत दिन पाउँदा खुशी लागेको बताए । कोरोना सङ्कटमा रगतको अभाग हुँदै गइरहेको बेला पार्टीले रक्तदान आयोजना गरेको भन्दै खुशी व्यक्तसमेत गरे ।

नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :